नेविसंघको महाधिवेशन कात्तिकमा

नेविसंघको महाधिवेशन कात्तिकमा

काठमाडौं : लामो समयको आन्तरिक विवाद थाँती राख्दै कांग्रेसको भ्रातृ संगठन नेविसंघले कात्तिक १६-१८ गतेसम्म महाधिवेशन गर्ने भएको छ। संघको सोमबार सकिएको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्दै विधान पारित गर्न पार्टी कार्यालयमा दर्ता गराउने निर्णयसमेत गरेको छ।

संघको महाधिवेशन मिति दसैं, दिपावली र छठ मनाउने समयमा पर्ने हुँदा सर्ने सम्भावना धेरै रहेको स्रोत बताउँछ। गत शुक्रबार कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको बैठकले कात्तिकमा महाधिवेशन गर्न संघलाई निर्देशन दिएको थियो। संघमा आन्तरिक द्वन्द्व चर्किएपछि पार्टी सभापति शेरबहादुर देउवाले सहमहामन्त्री महतको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरी विवाद मिलाउन निर्देशन दिएका थिए।

संघका अध्यक्ष नैनसिंह महर र महासचिव कुन्दनराज काफ्लेबीच विवाद चर्किएपछि पछिल्लो समय संघमा दुवै पक्षले समानान्तर गतिविधि गरिरहेका थिए। त्यसपछि कांग्रेस नेतृत्व संघको विवाद समाधान गर्न सल्टाउन सक्रिय भएको थियो। पार्टी नेतृत्वको सक्रियतपछि संघको महाधिवेशन हुन लागेको हो। गत शनिबार सुरु भएको संघको बैठक सोमबार सकिँदा विधानसमेत तयार पारेको संघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए। उनका अनुसार विधान मंगलबार पार्टी कार्यालयमा दर्ता गरिनेछ। भदौ २८ गते बस्ने कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले संघको विधान पारित गर्ने उनले बताए।

संघले महाधिवेशनका लागि तल्लो तहदेखि केन्द्रीय अधिवेशनको कार्यतालिका बनाएको छ भने महाधिवेशन तयारीका लागि आवश्यक समितिसमेत गठन गर्ने निर्णय गरेको छ। १६, १७ र १८ कात्तिकमा हुने संघको १२ औं महाधिवेशनका लागि ७ असोजमा मावि तथा क्याम्पसका अधिवेशन सुरु हुने छन्। १२ असोजमा महानगर, उपमहानगर र गाउँपालिकाको अधिवेशनको मिति प्रस्ताव गरिएको छ। त्यसपछि प्रदेशतर्फ क्षेत्रमा भने १५ असोज, जिल्लातर्फ २१ असोज र उपत्यकाका क्याम्पसहरूमा २३ असोजमा अधिवेशनको प्रस्ताव गरिएको संघले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ।

प्रदेश समितिको अधिवेशन भने १० र ११ कात्तिकमा गर्ने गरि मिति प्रस्ताव गरिएको छ। केन्द्रीय महाधिवेशनका लागि १३ कात्तिकमा प्रतिनिधि टुंगो लगाउने, १४ कात्तिकमा दाबीविरोधका लागि समय दिइने र त्यही दिन अन्तिम नामावली प्रकाशन गरिनेछ। केन्द्रीय महाधिवेशन सुरु हुने १६ कात्तिक दसैं र तिहारको बीचमा पर्छ।

भदौ २ मा पार्टीले संघको वर्तमान कार्यसमितिलाई ३ महिना समय थप्दै महाधिवेशन गर्न निर्देशन दिएको थियो। त्यसअघि अध्यक्ष महर र महासचिव काफ्ले दुवै पक्षले बेग्लाबेग्लै बैठक गरेर महाधिवेशनको अलगअलग मिति घोषणा गरेका थिए। अध्यक्ष महर सभापति देउवानिकट मानिन्छन् भने महासचिव काफ्ले नेता कृष्णप्रसाद सिटौलानिकट मानिन्छन्।

दुई वर्षअघि सभापति देउवा र नेता सिटौला मिलेर संघका पदाधिकारी सर्वसम्मत चयन गरेका थिए। पछि पार्टीमा सभापति र नेता सिटौला टाढिए छि त्यसको प्रभाव संघमा परेको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.