४० वर्षकी आमासँग छोरा र्याम्पमा
![४० वर्षकी आमासँग छोरा र्याम्पमा](https://annapurnapost.prixacdn.net/media/albums/Itahari-mother-son_20180915052103_WGWLZAriiO.jpg)
इटहरी : इटहरीकी ४० वर्षीया उर्मिला भट्टराई साडी लगाएर र्याम्पमा उत्रिइन् । उनीसँगै थिए छोरा विनायक । कोटमा सजिएका विनायक र उर्मिला र्याम्पमा सँगै हिँडे ।
इटहरीस्थित बिहानी डान्स सेन्टरले आयोजना गरेको मिसेस तीज प्रतियोगितामा सहभागी थिइन् उर्मिला । उनी आफूसँगै प्रतिस्पर्धा गरिरहेका प्रतिस्पर्धीभन्दा बढी उमेरकी थिइन् । सहभागीहरू कोही बहिनी, कोही श्रीमान्सँग र्याम्पमा हिँडेका बेला उनी १९ वर्षीय छोरासँग देखिएकी हुन् ।
आमासँग र्याम्पमा हिँड्न पाउँदा खुसी लागेको विनायकले बताए । १५ दिनको क्याम्पले आफ्नी आमालाई निकै सक्रिय र क्षमतावान् बनाएको उनको अनुभव छ । ‘दिउँसो तालिममा जानुहुन्थ्यो’, उनले सुनाए, ‘बिहानबेलुका हाम्रोअगाडि र ऐनाअगाडि उभिएर अभ्यास गर्नुहुन्थ्यो ।’
उनी र उनका बुवा उर्मिलाको अभ्यास र प्रस्तुतिलाई कमेन्ट गर्थे । ‘बुवा र मेरो काम नै युट्युबमा नयाँ कुरा सिकेर आमालाई सिकाउनु हुन्थ्यो’, उनले भने । उर्मिलाले मिसेज फोटोजेनिकको टाइटल पाइन् ।
उर्मिलाले प्रतियोगिताले आफूलाई बोल्न र समाज बुझ्न सक्षम बनाएको टिप्पणी गरिन् । बिहानी डान्स सेन्टरले दोस्रोपटक इटहरीमा मिसेस तीज आयोजना गरेको हो । तीजलाई महिलाको क्षमता अभिवृद्धि गर्ने अवसरका रूपमा प्रयोग गरिएको डान्स सेन्टरकी सञ्चालिका प्रनिशा उदासले जानकारी दिइन् ।
इटहरीमा बिहानी डान्स सेन्टरले आयोजना गरेको मिसेज तिज प्रतियोगितामा रोशनी गुरुङ तामाङले टाइटल जितेकी थिइन् । यस्तै मेनुका माझी फस्ट रनरअप र उर्मिला भट्टराई सेकेन्ड रनरअप बनेका थिए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)