श्रीमतीबाट छुटाएर मजदुरमाथि कुटपिट
बागलुङ : जिल्लाको गल्कोट चरौदीका युवाले एक भारतीय मजदुरलाई निर्घात कुटपिट गरेका छन् । शुक्रबार राति करिब १० बजे काठेखोला गाउँपालिकाको बिहँुमा आयोजित भलिबल प्रतियोगितामा सहभागी भएर गल्कोट फर्कंदै गरेका गल्कोट नगरपालिका–६ का युवाले भारतको मोतीहारी घर भई गल्कोटको हटिया बस्दै आएका रामबाबु कुमारलाई निर्घात कुटपिट गरेका हुन् ।
पीडित कुमारले सात वर्षदेखि गल्कोट हटियामा कवाडी संकलन गरी बिक्री गर्दै आएका छन् । गल्कोट नगरपालिका क्षेत्रको कवाडी संकलन गर्ने ठेक्कापट्टालाई लिएर उनीमाथि निर्घात कुटपिट गरिएको हुन सक्ने स्थानीय र प्रहरीको अनुमान छ । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
श्रीमतीसँग सुतिरहेका कुमारलाई आफन्त भएको बताउँदै ढोका खोल्न लगाई मुख रुमालले छोपिदिएर पिकअप गाडीमा राखी गल्कोट नगरपालिका–११ रिघाको जंगलमा लगी निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ । दुई वटा पिकअप गाडीमा आएको टोलीले कुमारलाई अपहरणको शैलीमा लगेर निर्घात कुटपिट गरेको पाइएको इलाका प्रहरी कार्यालय हरिचौरका प्रमुख मनबहादुर विकले बताए ।
डेराबाट जबर्जस्ती लगेपछि श्रीमती र आसपासमा रहेका भारतका उनीसँगै काम गर्ने व्यक्तिहरूले अज्ञात समूहले जबर्जस्ती कुमारलाई नियन्त्रणमा लिएको जानकारी गराएलगतै प्रहरी र स्थानीयले खोजी तीव्र बनाएका थिए । जबर्जस्ती घरबाट लगेको ३ घण्टापछि गल्कोट नगरपालिका–५ भैंसेको मोटरेबल पुलमा तलदेखि पिकअप गाडीमा युवा आएको र एक्कासि भाग्न थालेपछि सोधपुछ र अनुसन्धान गर्ने क्रममा उनीहरूले नै कुटपिट गरेको पाइएपछि पक्राउ गरिएको हो । कुटपिटमा संलग्न रहेको आरोपमा पार्वती माध्यमिक विद्यालयका शिक्षक जगेन्द्र नेपाली, तेजिन्द्र नेपाली, गोविन्द नेपाली र प्रेम दमार्इंलाई पक्राउ गरिएको हटिया प्रहरी चौकीका प्रमुख टेकबहादुुर थाडाले जानकारी दिए ।
पक्राउ परेकाहरूलाई सोधपुछ गर्दै जाँदा कुमारलाई रिघाको जंगलमा लगेर कुटपिट गरेको संकेत गरेपछि प्रहरी र स्थानीयको टोली घटनास्थल पुगेको थियो । खोज्दै जाँदा करिब राति २ बजे उनलाई जंगलमा फेला पारिएको थियो । कुमारले आफू सुतिरहेको अवस्थामा सन्त दाइ हुँ भनी ढोका खोल्न लगाएको र ढोका खोलिसकेपछि रुपक दाइले बोलाउनुभएको छ भनी जबर्जस्ती मुखका रुमाल बाँधेर जंगलमा लगी सामूहिक रूपमा कुटपिट गरेको बताए ।
कुमारको सबैभन्दा बढी अनुहारमा चोट लागेको छ । शरीरका प्रत्येक अंगमा निर्घात रूपमा हात र खुट्टाले पालैपालो कुटेको उनको भनाइ छ । अपहरण गरी कुटपिट गर्ने १२ जनामध्ये ४ जना पक्राउ परे पनि अर्को पिकअप गाडीसँगै चरौंदीकै रुपक पाण्डे, राजकुमार नेपालीलगायत भने फरार भएको प्रहरीले जनाएको छ ।
कुटपिटबाट गम्भीर घाइते कुमारको गलकोट हटियास्थित आरोग्य अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको डाक्टर टंक चालिसेले बताए । सामूहिक रूपमा लामो समयसम्म कुटपिट गरेका कारण भित्र चोट देखिन सक्ने भन्दै सिटिस्क्यानका लागि पोखरा पठाइने डा. चालिसेले बताए ।
प्रतिक्रिया दिनुहोस !