स्वदेशी टायर उद्योग ग्रिन टायर
![स्वदेशी टायर उद्योग ग्रिन टायर](https://annapurnapost.prixacdn.net/media/albums/new-tyres_20180918032201_uc4ZkVwK4y.jpg)
भारतको फ्युचर ग्रुपसँगको साझेदारीमा ग्रिन टायर प्रालिले उत्पादन थालेको हो।
काठमाडौं : लामो समयपछि नेपालमा चल्ने सवारीसाधन स्वदेशी टायरमा गुड्न पाउने भएका छन्। यहाँहरूलाई लाग्न सक्छ, ‘टायर कसरी स्वदेशी ? ’ अहिलेसम्म नेपालले गाडी मात्र नभई इन्धनदेखि पार्टपूर्जा भारत वा तेस्रो मुलुकबाट आयात गर्दै आएको छ।
नेपालमा गुड्ने सवारीसाधनका लागि आवश्यक टायर स्वदेशमै उत्पादन गर्ने उद्देश्यसहित गोरखकाली रबर उद्योग सञ्चालनमा आएको थियो। यो उद्योगले आव २०७१/७२ मा पाँच हजार ६ सय ७० टायर उत्पादन गरेको थियो जुन उत्पादन क्षमताको पाँच प्रतिशत मात्र हो।
यो २०७२ सम्म सञ्चालनमा थियो। ट्रक तथा ननट्रक टायर, ट्युब तथा फ्ल्याप यसको प्रमुख उत्पादन थियो। स्थापना भएको समयदेखि उद्योगले कुल क्षमताको ३०–३५ प्रतिशतभन्दा बढी उत्पादन गर्न सकेन। २०४१ जेठ ३० देखि सञ्चालनमा आएको यो उद्योग २०७२ चैतयता ठप्प छ।
त्यसपछि निजी क्षेत्रको लगानीमा टायर उद्योग सञ्चालनमा आएको हो। विशाल ग्रुपको ५० करोड लगानीमा टायर उद्योगले व्यावसायिक उत्पादन सुरु गरेको छ। कम्पनीका टायरलाई सवारीसाधनको कुम्भ मेला नाडा अटो सो २०१८ मा प्रदर्शनीमा राखिएको छ।
भारतको फ्युचर ग्रुपसँगको साझेदारीमा ग्रिन टायर प्रालिले उत्पादन थालेको उद्योगका सञ्चालक वीक्रम सिंघानियाँले बताए। उनका अनुसार कटहरीमा तीन बिघा क्षेत्रफलमा फैलिएको उद्योगबाट सुरुमा ट्र्याक्टरका अगाडिको टायरका साथै मोटरसाइकल, स्कुटी र ई–रिक्सा गरी चार प्रकारका टायर उत्पादन गरिएको छ।
तत्काल चार प्रकारका टायरको वार्षिक उत्पादन दुई लाख थान रहेको सिंघानियाले बताए। उनका अनुसार डेल्टा र शेर्पा ब्रान्डका टायर उत्पादन गरिनेछन्। पहिलो चरणमा डेल्टा ब्रान्डका टायर बजारमा ल्याइनेछ। उद्योगबाट आगामी पाँच वर्षभित्र ट्रक, बस, जिप, लरी, ट्र्याक्टरको ठूलो टायरलगायत सबै प्रकारका टायरको वार्षिक २० लाख थान उत्पादन गर्ने लक्ष्य राखिएको सिंघानियाले बताए।
तत्काल ५० करोड लगानीमा स्थापना गरिएको उद्योगमा पाँच वर्षभित्रै लगानी विस्तार गरेर दुई अर्ब ५० करोड पुर्याउने उद्देश्य छ। टायर उद्योगको सम्भावना प्रशस्त रहेको नेपालमा टायरको कुल मागको ९९ प्रतिशत आपूर्ति आयातबाटै गरिन्छ। अहिले ८० प्रतिशत आयात भारतबाट गरिन्छ। उनले आयात प्रतिस्थापन गर्ने उद्देश्यसहित उद्योग स्थापना गरेको बताए।
‘तत्काल आयात प्रतिस्थापन गर्नु हाम्रो पहिलो उद्देश्य हो’, उनले भने, ‘दीर्घकालीन योजनाअन्तर्गत हामी निर्यात पनि गर्नेछौँ।’
टायर आयात गर्दा भन्सार महसुल २० प्रतिशत छ। टायरको कच्चा सामग्रीको भन्सार महसुल एक प्रतिशत मात्र छ। ग्रिन टायरले कच्चापदार्थ भारतबाट आयात गरिरहेको छ। नेपालमा मोटरसाइकलका टायरको मात्र वार्षिक २४ लाख थान खपत रहेको उनले बताए।
कच्चापदार्थ रबरमा आधारित उद्योग भए पनि यो टायर उद्योगबाट ध्वनि, दुर्गन्धलगायत कुनै पनि प्रकारको प्रदूषण नफैलने उनले जानकारी दिए। भारतमा मुकेश देसाईको नेतृत्वमा रहेको फ्युचर टायर त्यहाँका ठूला टायर उद्योगमध्ये एक मानिन्छ।
चार महिनाअघि मोरङको कटहरी गाउँपालिकामा ग्रिन टायर उद्योगले निजी क्षेत्रबाट पहिलो पटक नेपालमा टायर उत्पादन थालेको हो। टायरमा डेल्टा कम्पनीले आफ्नो व्यावसायिक उत्पादन थालेपछि स्वदेशी उत्पादनको स्पेयर पार्ट्सले पनि मेलामा स्थान पाएको छ। डेल्टाको सिटी राइड, ड्युरा स्पोर्ट, ड्युरा टफ, अमेज, क्लासिक, सूर्य, टर्बाे, भिक्टर एक्सएक्स र एमएफ शक्ति लग नामका विभिन्न उत्पादनको बिक्री सुरु गरेको छ। दुईपांग्रे, तीनपांग्रे र कृषिमा प्रयोग हुने टायर उत्पादन गर्ने कम्पनीले जानकारी दिएको छ।
कटहरीको औद्योगिक करिडोरमा तीन बिघा क्षेत्रफलमा फैलिएको ग्रिन टायर उद्योगबाट चार प्रकारका टायर उत्पादन भइरहेका छन्।
सुरुमा कम्पनीले चार प्रकारका टयुबलेस वार्षिक दुई लाख थान उत्पादन गर्ने लक्ष्य राखेको कम्पनीका सञ्चालक सिंघानियाले बताए। दुई वर्षमा चार र पाँच वर्षमा ६ लाख र त्यसपछि २० लाख थान उत्पादन गर्ने लक्ष्य रहेको उनले जानकारी दिए।
प्रबन्धक विनितका अनुसार ग्रिन टायरले डेल्टा र शेर्पा ब्रान्डका टायर उत्पादन गरिरहेको छ। यसमध्ये पहिलो चरणमा डेल्टा ब्रान्डका टायर बजारमा ल्याई सकिएको छ। सस्तोमा तेस्रो मुलुकबाट कच्चापदार्थ आयात गर्न सके उत्पादित टायर भारतीय बजारमा पनि निर्यात गर्न सकिने सम्भावना उच्च रहेको उनको भनाइ छ। नेपालमै टायर उद्योग स्थापना गरेर उत्पादन गर्ने धोको विशाल ग्रुप र साझेदार घराना सिंघानियाको थियो। आगामी दिनमा भारतीय लगानीमै ब्याट्री र लुब्रिकेन्ट उद्योग पनि सञ्चालनमा ल्याउने योजना विशाल ग्रुपको छ।
वार्षिक करिब आठ अर्ब रुपैयाँ बराबर टायर ट्युब आयात हुने गरेको पाइएको छ। त्यस्तै करिब १६ अर्ब रुपैयाँ बराबरको अन्य स्पेयर पार्ट्स भित्रिने गरेको छ।
नेपालमा एमआरएफ (मद्रास टायर फ्याक्ट), गुड इयर टायर, एपोलो, जेके, सिटजस्ता भारतीय टायर नेपाल भित्रिने गरेका छन्। यसैगरी, जीसीबी टायर पनि नेपालमा राम्रै बिक्री हुन्छ। भारतपछि ब्राजिल, इजिप्ट, टर्की, थाइल्यान्ड, चीन र जापानमा निर्मित टायर भित्रिन्छन्। नेपाली टायर बजारमा पनि भारतकै बर्चश्व छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)