धराप बन्यो लोकमार्ग

धराप बन्यो लोकमार्ग

बागलुङ : बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमा क्षेत्रमा खसेको पहिरोले किचेर सोमबार ३५ बर्षीया पैदलयात्री बिबिरन खातुनको ज्यान गएको छ । बडिगाड खोला शनिबार ७ घन्टा थुनिएको ठाउँ आसपासमा ४ सय मिटरभन्दा ठूलो क्षेत्रफलमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । ठूला ढुंगा खसेको र बेलाबेला पहिरो झरीरहेकाले पैदलयात्रीलाई हिँड्न रोक लगाइए पनि गाडी नजाने भएपछि जबरजस्ती हिड्दा अर्घाखाँचीकी खातुनको पहिरोमा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।

खातुन लामो समयदेखि बागलुङको बुर्तिबाङमा व्यवसाय गर्दै आएकी थिइन् । बडिगाड गाउँपालिकाको भीमगिठेतर्फ जाँदै गर्दा उनी पहिरोमा परेकी हुन् । ‘ठुलो पहिरो झरेपछि दुवैतर्फबाट हिँड्न रोकिएको थियो । तर घुमाउरो बाटो हिँड्ने झन्झटले जबरजस्ती पहिरो पार गर्दा पहिरो खसेर हेर्दाहेर्दै उनले ज्यान गुमाउनु प¥यो’, इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक ओमप्रकाश यादवले भने, ‘सुरक्षाकर्मीको आग्रह बेवास्ता गर्दा अप्रिय घटना भएको हो ।’

घटनापछि जिल्लाको पश्चिम क्षेत्रको बडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाको संयुक्त बैठक बसी अर्को सूचना जारी नहुन्जेल लोकमार्गबाट आवतजावतमा रोक लगाइएको बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले जानकारी दिए ।

लोकमार्ग अवरुद्ध भएपछि यात्रु मालारानी भन्ने ठाउँको २ घन्टा लामो घुमाउरो बाटो हिँड्न बाध्य छन् । शनिबार राति तुरतुरेको पहिरो खस्दा बडिगाड खोला थुनिएर २ किलोमिटर लामो ताल बनेको छ । अध्यक्ष पाइजाका अनुसार तत्कालका लागि वैकल्पिक पैदलमार्ग तय गरिएको छ । बडिगाड गाउँपालिका–६ को सिस्नेरी—चिसापानी—दर्लिङ खोला—नेटाको मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । यसलाई थप व्यवस्थित गर्न डोजर प्रयोग गर्ने र लागेको खर्च ४ वटा स्थानीय तह मिलेर बेहोर्ने सहमति भएको छ ।

पहिरोमा परी ज्यान गुमाएका मृतक र विस्थापित परिवारलाई बडिगाड र ढोरपाटन नगरपालिकाले आकस्मिक राहत उपलब्ध गराएको छ । अल्पायुमै मृत्यु भएकी खातुनको परिवारलाई ढोरपाटन नगरपालिकाले २५ हजार र बडिगाड गाउँपालिकाले २५ हजार रुपैयाँ दिएको छ । ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले व्यक्तिगत १० हजार रुपैयाँसमेत प्रदान गरेका छन् ।

ढोरपाटन नगरपालिकाले डुबानबाट भएको क्षतिको आधारमा देवीराम कुमालको परिवारलाई ७५ हजार, कृष्ण कुमालको परिवारलाई ५० हजार दिएको छ । गोठ क्षति भएका चूडाबहादुर कुमाललाई ४० हजार र दुर्गाबहादुर कुमाललाई २५ हजार प्रदान गरेको छ । मेयर नेपालीले खोला थुनिएपछि घर डुबानमा परेर विस्थापित २ कुमाल परिवारलाई नयाँ घर निर्माण गरिदिने र २ परिवारलाई टिन प्रदान गर्ने उद्घोषसमेत गरेका छन् ।

घर डुबानपछि विस्थापित भएका देवीराम कुमाल र कृष्ण कुमालको व्यक्तिगत तर्फबाट एक तले घर बनाइदिने र कम क्षति भएका दुई परिवारलाई टिनको पाता प्रदान गर्ने मेयर नेपालीले बताए । ‘मैले व्यक्तिगत रूपमा सहयोग गर्न घोषणा गरेको हुँ््’, उनले भने, ‘नगरपालिकाका तर्फबाट गर्दा प्रक्रिया झन्झटिलो हुने भएकाले जति सक्दो छिटो घर निर्माण गरेर हस्तान्तरण गर्नेछु, यसमा जति लाग्छ, त्यो खर्च आफैं दिनेछु ।’

अवरुद्ध मध्यपहाडी लोकमार्ग र खोला थुनिएपछि बनेको तालको सम्भावित जोखिमबारे नेपाली सेना, गृह मन्त्रालय र भौतिक योजना मन्त्रालयमा जानकारी गराएको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले बताए । केन्द्रबाट विशेषज्ञ र प्राविधिक टोली आएर अध्ययन गरेपछि काम थाल्ने प्रजिअ खरेलले बताए । खोला थुनिएको ठाउँमा पानीको सतह नघटेको र सडकमा ठूला ढुंगा झरेकाले फाल्ने अवस्था नभएकाले तत्काल सडक खुलाउन कठिन देखिएको छ । जुनसुकै बेला माथिबाट पहिरो खस्ने जोखिम भएकाले लोकमार्ग खुलाउन केही साता लाग्ने देखिन्छ ।

लोकमार्गबाट जिल्लाको पश्चिम उदीयमान सहरको सूचीमा रहेको ढोरपाटन नगरपालिकासहित निसीखोला र तमानखोला गाउँपालिकाका गाउँमा आवतजावत हुन्छ । जिल्ला भित्र लोकमार्गको १ सय ४२ किमी खण्ड छ । पहिरो खसेको ठाउँ सदरमुकामदेखि ८० किमी पश्चिममा पर्छ । पहिरोदेखि पश्चिमतर्फ झन्डै ६० किमीसम्म जिल्लाबासीले यात्रा गर्नुपर्ने मध्यपहाडी लोकमार्ग आयोजनाले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.