विदेशी पाहुनाको रोजाइमा माडी होमस्टे

विदेशी पाहुनाको रोजाइमा माडी होमस्टे

माडी (चितवन) : शिवद्वारस्थित मगर समुदायको बाहुल्य रहेको होमस्टे चार महिनाका लागि बुकिङ भएको छ । मगर समुदायले सञ्चालन गरेको होमस्टेमा बस्नका लागि विदेशी पर्यटक समूहले पहिले नै बुकिङ गरेका हुन् । माडीमै केन्द्रित प्याकेजसहित चार महिनाका लागि १४ वटा समूहले बुकिङ गरे । यसरी विदेशी टोली माडी केन्द्रित प्याकेजमा आउन लागेका हुन् । अस्ट्रेलियाको इन्टरपिट नामक ट्राभल एजेन्सीसँग माडीमै प्याकेजसहित पर्यटक ल्याउने सम्झौता गरिएको छ । होमस्टे प्रवद्र्धन गर्दै आएको विश्व वन्यजन्तु कोषले यसमा सम्झौता गरेको हो । लुम्बिनी, पोखरा हुँदै माडी ल्याउने कार्यतालिका बनेको छ ।

सेप्टेम्बर २५ बाट हरेक समूह तीन दिन माडीमा बस्छन् । विभिन्न समूहमा गरी डिसेम्बर अन्तिम सातासम्म पर्यटक माडी घुम्न आउने कार्यक्रम तय भएको छ । माडीमा रहेको पर्यटकीयस्थल घुम्ने योजना छ । माडीमै बसाली राष्ट्रिय निकुञ्जमा जिप सफारी गराएर भम्रण गराउने कार्यतालिका बनाइएको छ । माडी हेर्न आउनेका लागि होमस्टे थप व्यवस्थित गरिएको छ । हरेक घरमा पानी शुद्धीकरण गर्न युरो गार्ड राखिएको छ ।

विदेशीलाई लक्ष्य गरेर सुविधायुक्त कोठासहित तातो–चिसो पानीको व्यवस्था गरिएको छ । ओझेलमा परेको गन्तव्य चिनाउन विदेशी पर्यटकलाई सोझै माडी केन्द्रित गर्न लागिएको छ । होमस्टे पछाडि रहेको माछापोखरीमा पनि घुमाउने कार्यक्रम छ । प्याकेजसहित विदेशी पर्यटक आउने कुराले तयारी तीव्र गरिएको होमस्टे सञ्चालक समितिका अध्यक्ष मोहनबहादुर पुन मगरले बताए । ‘धेरै संख्यामा विदेशी पाहुना आउने कुरा खुसी मात्रै नभई हाम्रा लागि चुनौती पनि हो’, उनले भने, ‘होमस्टेले हाम्रो जीवनशैली फेरिएको छ ।’

यसअघि कहिलेकाही आउने विदेशी पर्यटक व्यक्तिको घरमा बस्ने गरेका थिए । माडी घुम्न आउने क्रममा उचित वासस्थानको अभावमा पर्यटक बस्न पाएका थिएनन् । होमस्टे सुरु भएपछि माडीमा रात बिताउने गरी पर्यटक आउन थालेका छन् । अयोध्यापुरी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत शिवद्वारमा ११ वटा होमस्टे निर्माण गरिएको छ । वन्यजन्तु संरक्षणमा जागरुक बनाउन आयआर्जनका लागि तराई भू–परिधि कार्यक्रमले सहयोग गरेको हो ।

माडीको शिवद्वारमा मगर समुदायले सञ्चालन गरेको होमस्टे 

त्यसमा पुन मगर समुदायले सञ्चालन गरेको होमस्टेमा २२ वटा कोठामा ६६ जनासम्म बस्न सक्छन् । उनीहरूले सोरठी, मारुनी, थाल नाचसँगै स्थानीय संस्कृति देखाउँछन् । ‘मानिस र वन्यजन्तुबीचको द्वन्द कम गराउँदै संरक्षणमा लगाउन होमस्टेमा जोड दिइएको हो’, तराई भू–परिधि कार्यक्रमका संयोजक प्रेम पौडेलले बताए । ‘वन र वन्यजन्तु देखाएर आयआर्जन गर्न सकिने कुरा सिकाउन होमस्टेलाई सपोर्ट गर्ने अवधारण हो’, पौडेलले थपे, ‘माडी आउने विदेशी पर्यटकका कारण नयाँ आयाम ल्याउन सकिने गरी काम थालेका हौं ।’

पर्यटकीय गन्तव्य भएर माडीको पर्यटन ओझेलमा परेका कारण नयाँ योजनाले पर्यटक भित्र्याउन खोजिएको हो । सुविधायुक्त होटलको अभावमा माडीमा पर्यटक आगमन कम थियो । प्रचारप्रसारको अभावमा पर्यटक भित्र्याउन नसकेपछि माडीको पर्यटनसँगै होमस्टे प्रवद्र्धनका लागि नयाँ योजना ल्याइएको हो । कहिलेकाही आन्तरिक पर्यटक जाने गरे पनि विदेशी पर्यटक खासै आएका थिएनन् । माडीमा धार्मिक ऐतिहासिक पर्यटकीय गन्तव्य धेरै छन् । सीमा क्षेत्रमा रहेको सोमेश्वर मन्दिर भारतीय नागरिकको पनि आस्थाको केन्द्रको रूपमा छ ।

त्यस्तै पाँच पाण्डव वनवास बसेको स्थान र त्यतिबेला निर्माण गरिएको इनार, परशुराम कुण्ड, बैकुण्ठ ताल, सीता गुफा पर्यटकीय गन्तव्यको रूपमा सुचीकृत गरिएको छ । नेपालभित्र रहेका दुई वटा शनि मन्दिरमध्ये एउटा माडीमा छ । ‘ओझेलमा परेको हुनाले पहिलो प्राथमिकता नै हाम्रो पर्यटन हो’, माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले भने, ‘यहाँ भएका मणी चिनाउन नसक्दा हामी पछि परेका हौं । योजनाबद्ध रूपमा पर्यटन विकासको काम अघि बढाइएको छ ।’

माडीमा वार्षिक एक हजार पर्यटक भित्रायाउने लक्ष्य राखिएको छ । नेपाल सरकारले देशभरका उत्कृष्ट एक सय नयाँ गन्तव्यको सूची बनाउन लागेका बेला माडीलाई समावेश गर्न प्रस्ताव गरिएको छ । वन्यजन्तुमा आधारित धर्मसंस्कृति र कृषिमा आधारित पर्यटनलाई आधार बनाएर सरकारसमक्ष प्रस्ताव गरिएको हो ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.