शासन फेरियो, शैली फेरिएन
लोथर : उमेरले ८४ वर्ष पुगेका चितवनको स्यामराङका झ्यापुराम प्रजा चेपाङका सरकारको रूपमा चिनिन्छन। तत्कालिन लोथर गाविसको चारपटक प्रधानपञ्च बनेका उनी दुईपटक जिल्ला विकास समितिमा निर्वाचित भए। आफ्नो कार्यकालमा उनले थुप्रै विद्यालय, स्वास्थ्य चौकी निर्माण गरे। उनले गरेको कामको अहिले पनि चेपाङ गाउँमा उनको चर्चा हुन्छ।
त्यसपछि चेपाङ गाउँमा विकासका कुनै कार्यक्रम पुगेनन्। विकटमा पनि त्यतिबेला भएको काम सम्झिदै झ्यापुरामलाई अहिलेको शासन व्यवस्था पटक्कै मन परेको छैन। राजनीतिक परिवर्तन भए पनि नागरिकको जीवनशैलीमा परिवर्तन नभएको भन्दै उनले आक्रोश पोखे। जनताका लागि नभई नेताका लागि मात्र व्यवस्था फेरिएको उनको गुनासो छ। साविकको लोथर गाविसमा पर्ने उनको घर अहिले राप्ती नगरपालिका १३ मा पर्छ। त्यहाँ पुग्न चार घण्टा गाडीमा र त्यसपछि तीन घण्टा ठाडो उकालो हिँड्नु पर्छ। जहाज उड्दा उनले नेताप्रति आक्रोश पोख्दै भने, ‘सधैं माथिबाट नाघेर जाने नेताले गाउँको समस्या कसरी थाहा पाउँछन् ? ’
नगरपालिका भए पनि विकास नभएको भन्दै उनले राजनीतिक फाइदाका लागि नगरपालिका घोषणा गरिएको आरोप लगाए। ‘प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र जे आए पनि हामी चेपाङ यही दुःखमा बस्नु परेको छ’, उनले दुखेसो पोखे, ‘हाम्रा लागि कुनै शासन पनि काम लागेन।’ नेपालमा शासन फेरिए पनि चेपाङ जातीको जीवनशैली पुरानै अवस्थामा छ। भौगोलिक विकटताको मारमा अभावको जीवन झेलिरहेका छन्। चेपाङको चर्चा पटक पटक भए पनि सामान्य सुविधा समेत पाउन सकेका छैनन्। गाउँको विद्यालयमा पाँच कक्षा पास गरेपछि पढ्न घण्टौं हिँड्नु पर्दा एउटै कक्षामा तीनपटकसम्म पढ्नु पर्ने बाध्यता छ। पढ्न नपाएपछि धेरैले बिहे गर्छन्। वर्षौदेखिको यो समस्या अहिले पनि उस्तै छ।
हरेक वर्ष तीन महिनाबाहेक अनिकालको सामना गर्नुपर्ने बाध्यताबाट पनि उनीहरूले छुट्कारा पाउन सकेका छैनन्। चरम खाद्य संकटको सामना गर्दै आइरहेका चेपाङ समुदायमा खानेकुराको अभावले बालबालिका कुपोषित समेत हुने गर्छन्। भरतपुर महानगरपालिका २९ सालघारीका २९ वर्षीय चित्रबहादुर चेपाङले खानेपानी, सडकजस्ता न्यूनतम सुविधा नपाएको गुनासो गरे। महानगरपालिका भए पनि आकासेपानीको भरमा बाँच्नु परेको बाध्यता उनले सुनाए। चेपाङ जातीले जनता आवासको घर पाउने सुनेका तर नपाएको उनको गुनासो छ।
चेपाङलक्षित कार्यक्रम पनि त्यति प्रभावकारी देखिँदैन। चेपाङ बस्ती विकटमा भएकाले सरकारी प्रतिनिधि पुग्दैनन्। राज्यबाट सुविधा पाइन्छ भन्ने सुने पनि उनीहरू त्यसबारे अनभिज्ञ छन्। उनीहरू आर्थिक, सामाजिक, शैक्षिक सबैमा निकै पछाडि छन्। खोरी फाँडेर लगाएको कोदो र मकैले तीन महिना जीवन चल्छ। त्यसपछि गिठा भ्याकुरको भरमा बाँच्नुपर्छ। नागरिकता बनाउन समस्या हुँदा धेरैले वृद्धभत्ता पाउन नसकेको चेपाङ अभियन्ता केपी किरण शर्माले बताए। गरिबीका कारण कतिपयलाई शरीर ढाक्ने लुगासमेत नहुँदा निर्वस्त्र बस्नुपर्ने बाध्यता छ। गरिबीले नै चेपाङ ओढारमा बस्छन्।