भत्ता र भाषणमा सीमित कार्यक्रम : लक्ष्य प्राप्ति शून्य, बजेट सक्ने मेलो

भत्ता र भाषणमा सीमित कार्यक्रम : लक्ष्य  प्राप्ति शून्य, बजेट सक्ने मेलो

जनकपुरधाम : विभिन्न दिवसको अवसर पारेर सरकारी तथा गैरसरकारी संस्थाहरूले जिल्लामा गर्ने अधिकांश कार्यक्रम ‘भत्ता र भाषण’ मा सीमित हुने गरेका छन् । जुन वर्गलाई लक्षित गरी कार्यक्रमको आयोजना गरिएको हो त्यस वर्गबाट कुनै सहभागिता बिनै कार्यक्रम गरी औपचारिकता निर्वाह गर्ने परिपाटीले लक्ष्य पूर्तिभन्दा पनि बजेट सक्ने काम मात्रै पाइएको हो ।

जनकपुरको भव्य होटेल सिताशरणमा ‘पाँचौ परिवार नियोजन दिवस’ को अवसर पारेर मंगलबार आयोजना गरिएको कार्यक्रम पनि औपचारिकतामा सीमित भएको सहभागीबाटै आलोचना आएको छ । प्रदेश २ को सामाजिक विकास मन्त्रालयको आयोजना तथा युनिसेफ र एडीआरए नामक गैरसरकारी संस्थाको सहयोगमा भएको कार्यक्रममा किशोर किशोरीलाई लक्षित गरी कार्यक्रमको सबै सामग्री तयार पारिए पनि एकैजना किशोर वा किशोरीको सहभागिता देखिएन ।

सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अधिकांश मन्त्रालयकै कर्मचारी, आयोजक तथा सहयोगी संस्थाका पदाधिकारी र जनस्वास्थ्य तथा परिवार नियोजनको क्षेत्रमा काम गर्दै आएका संस्थाका पदाधिकारी बाहेक लक्षित वर्गको सहभागिता नभएको र यसले कार्यक्रम गर्नुको औचित्य नहुने प्रमुख महिला विकास अधिकृत मीरा मि श्रले गुनासो गरिन् । उनले भनिन्, ‘परिवार नियोजनको पहुँच पुग्न गाह्रो भएको समुदायमा यो कार्यक्रम गर्नुपथ्र्यो वा लक्षित वर्गबाट कम्तिमा किशोरकिशोरीलाई निम्त्याउनु पथ्र्यो तर बिनायोजना कार्यक्रम गरिएको छ ।’

जनकपुर अञ्चल अस्पतालका निमित्तप्रमुख डा. नागेन्द्रप्रसाद यादवले होटेलको बन्द कोठामा जतिसुकै ठूला परिवर्तनका गफ गरे पनि उपलब्धी प्राप्त नहुने बताए । समस्या समाधानका लागि यथास्थानमा पुगेर समस्या समाधान खोज्नु उचित हुने उनको भनाइ छ । सहभागीका तर्फबाटै गुनासो आएपछि कार्यक्रममा प्रमुख अतिथि बनेका राज्यमन्त्री शर्मा पनि रिसाए । उनले भने, ‘यो कार्यक्रम ‘बेहुला बिनाको जन्ती’ जस्तो भयो । ब्यानरमा आयोजकको रूपमा आफ्नो मन्त्रालयको नाम राखिए पनि आफूलाई कार्यक्रमको प्राविधिक विषयका बारेमा केही जानकारी नरहेकाले बिनाछलफल यस्ता कार्यक्रम गर्नु बजेट सकाउनु मात्र हो ।’

मन्त्री शर्माले अबका दिनमा संघसंस्थाले प्रदेशमा कार्यक्रम गर्दा उपलब्धीमूलक र जुन समूहलाई लक्षित गरेर कार्यक्रम गरेको हो त्यसलाई सहभागिता गराइएन भने झूठफूसको कार्यक्रममा हामी आयोजक नबन्ने सार्वजनिक प्रतिवद्धता जनाए । प्रदेश २ मा अन्य प्रदेशको तुलनामा हरेक क्षेत्रमा चुनौती रहेको भन्दै उनले समस्या मात्र तेस्र्याउनुभन्दा सबै मिलेर समाधानको बाटो पहिल्याउनु पर्नेमा उनको जोड थियो । कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांकअनुसार नेपालका सात प्रदेशमध्ये दुई परिवार नियोजनका दृष्टिले निकै दयनीय रहेको जानकारी दिइयो । जसमा १५ देखि १९ वर्षकै उमेरमा प्रथम सन्तान पाउने किशोरीको संख्या प्रदेश २ मा २७ प्रतिशत रहेको छ । २० वर्ष नपुग्दै किशोरीले गर्भधारण गरी आमा र बच्चा दुवैको ज्यानको जोखिममा पार्ने काम भएको पाइएको छ ।

परिवार नियोजनको साधन प्रयोगकर्ता प्रदेश २ मा ४८ प्रतिशत र आधुनिक साधनको प्रयोगकर्ता पनि ४८ प्रतिशत मात्र रहेको जनाइएको छ । गर्भवती अवस्थामा प्रथमपटक स्वास्थ्य संस्थामा जाँच गराउने ८२ प्रतिशत भए पनि त्यसमध्ये स्वास्थ्य संस्थामै बच्चा पाउनेको संख्या ४५ प्रतिशत मात्र रहेको छ । दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराउनेको संख्या ४९ प्रतिशत रहेकाले आमा शिशुको जीवनरक्षा ठूलो चुनौतीको रूपमा रहेको जनाइएको छ । स्वास्थ्य संस्थाहरूमा परिवार नियोजनका साधन सहजै उपलब्ध नहुँदा चाहेर पनि यसको प्रयोग सहज रूपमा गर्न नसकिने अवस्था रहेको स्वास्थ्यकर्मीले बताए ।

फोटो क्यापसन ः जनकपुरमा परिवार नियोजन दिवसको अवसरमा आयोजित कार्यक्रम ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.