मदिरामुक्त मगर अभियान
गोरखा : जाँडरक्सी सेवन गरेर मगर युवाको प्रगति हुन नसकेको निष्कर्ष निकाल्दै नेपाल मगर संघले मदिरामुक्त मगरयुवा अभियान सुरु गरेको छ। गोरखामा शुक्रबार सम्पन्न मगर संघको नवौं केन्द्रीय समिति बैठकको निर्णय सार्बजानिक गर्दै केन्द्रीय अध्यक्ष नवीन रोकामगरले २५ वर्षभन्दा कम उमेरका मगर युवालाई जाँडरक्सी सेवन गर्न नदिन अभियान सञ्चालन गर्ने बताए।
‘जातले पाएको हो भनेर मगर युवा जाँडरक्सीको दुव्र्यसनीमा फँसेका छन्’, शनिबार गोरखा सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘अब २५ वर्षभन्दा कम उमेरका मगर युवालाई मदिरा सेवन गर्न रोक लगाउन अभियान सञ्चालन गर्ने निर्णय भएको छ।’ अभियानको सुरुमा चेतनाका लागि सशक्तीकरण कार्यक्रम, अडियो, भिडियो प्रविधिद्वारा नाटक मञ्चन, वृत्तिचित्र प्रदर्शन, प्रशिक्षणजस्ता कार्यक्रम गर्ने अध्यक्ष मगरले जानकारी दिए।
जनजागरण अभियानले सुधार नभए अर्को चरणमा कारबाही अभियान सञ्चालन गर्ने उनले बताए। मदिरामुक्त मगरयुवा जनशक्ति तयार गर्न ‘ब्यारेक सिस्टम’ पनि हुनसक्ने उनले बताए। मदिरामुक्त अभियानले मगर युवा सशक्त हुने संघले अपेक्षा गरेको छ। ‘युवालाई सशक्त बनायौं भने भविष्यमा स्वतः मगर समुदाय समुन्नत हुनेछ’, अध्यक्ष मगरले भने।
२५ वर्षभन्दा कम उमेरका युवालाई मदिरा सेवन गर्न रोक लगाउन अभियान सञ्चालन गर्ने
मगर संघको बैठकले प्रस्तावित प्रदेश ४ को नाम गण्डकी र प्रदेश ६ को नाम कर्णाली राखेकोप्रति असहमति राख्दै प्रदेश ४ लाई ‘तमुवान मगरात’ र प्रदेश ६ लाई ‘खसान मगरात’ राख्न माग गर्ने निर्णय गरेको छ। त्यस्तै प्रदेश ५ को नामकरण गर्दा ऐतिहासिक मानव सभ्यताका आधारमा ‘मगरात थरुहट अवध’ गरिनु पर्ने पनि माग गर्ने निर्णय गरेको छ।
मगरात स्वायत्त प्रदेशको सुनिश्चितता, जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व, भाषिक समानताको राज्यव्यवस्था, प्राकृतिक स्रोतमा आदिवासी जनजातिसँग अन्योन्याश्रित सम्बन्ध र उपयोगको सुनिश्चितताका लागि संविधान संशोधन गर्न माग गर्ने निर्णय गरेको महासचिव ज्ञानेन्द्र पुन मगरले जानकारी दिए।
विश्वभर बसोबास गर्ने स्वदेशी तथा विदेशी मगरलाई गोलबद्ध गर्दै मगरलाई सांगठनिक एकाकार गर्न मगर अन्तर्राष्ट्रिय मञ्चले आगामी अप्रिल महिनामा दोस्रो मगर अन्तराष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ।
प्रतिक्रिया दिनुहोस !