कालापानी अनि धामी : एक फ्ल्यासब्याक

कालापानी अनि धामी  : एक फ्ल्यासब्याक

बेलाबखत चर्चामा आउने, तुरुन्तै हराउने, फेरि केही समयपछि बहसको विषय बन्ने, तर कहिल्यै नसुल्झिने मुद्दाहरू हामीकहाँ थुप्रै छन् । कालापानी त्यस्तैमध्येकोे एक हो । भर्खरै फेरि कालापानीको कुनो नेपालका सरकारी नक्साहरूमै नराखिएको समाचार चर्चामा आएको छ ।

कालापानी जहिले–जहिले समाचारको शीर्षक बन्छ, मेरो स्मरणमा प्रेमसिंह धामी आइहाल्छन् । वास्तवमा उनैले हो, यो मुद्दालाई दुर्गम दार्चुलाबाट राष्ट्रिय बहसमा प्रवेश गराएको– संसद्मा बोलेर, पत्रिकामा लेखेर, सडकमा भाषण गरेर । २०५० को दशकको सुरुमा उनी एकोहोरो ढंगले लागि नपरेका भए बाँकी नेपाललाई कालापानीको संवेदनशीलता ग्रहण गर्न अझै समय लाग्थ्यो होला । अनि पत्रकारको ध्यान पनि सायद त्यता तानिने थिएन । त्यसै पनि समाजका थुप्रै ‘इस्यु’ हामी पत्रकारका नजरबाट छुटिरहेकै हुन्छन् ।

जिल्लाको राजनीतिबाट केन्द्रमा उक्लेर स्थापित हुन जो कोहीलाई सजिलो हुँदैन । धामी दार्चुलाबाट उठेर राष्ट्रिय जीवनमा प्रवेश पाएका विरलै नेतामध्येमा पर्थे । सदरमुकामलगायत दार्चुलाको दक्षिणी क्षेत्रमा खस–आर्य समुदायको बसोबास छ, उत्तरतर्फ अपि हिमालमाथिको व्यास क्षेत्रमा सौका जनजाति बस्छन् । त्यही व्यास क्षेत्रको ठूलो भूखण्ड भारतीय फौजको नियन्त्रणमा छ ।

धामी चाहिँ दक्षिणतर्फको हराभरा मल्लिकार्जुन गाउँका हुन् । उनी पञ्चायतकालमा शिक्षक थिए, त्यही बेला वामपन्थी राजनीतितर्फ तानिए । उनलाई तानेको अर्को विषय देशभक्तिले थियो । सीमापारि बाटो र विकास, वारिचाहिँ किन यस्तो अविकास ?       पारि जानासाथ ‘डोट्याल’ भन्दै हेपिनुपर्ने नियति किन ?       आदि प्रश्न गर्दै जाँदा आफ्नै जिल्लाको उत्तरी कुनो विदेशी नियन्त्रणमा रहेको धामीले थाहा पाए । अनि, त्यो कुरोलाई चर्को गरी राजधानीसम्म ल्याए ।

खासगरी २०५१ सालको मध्यावधि निर्वाचन जितेपछि उनले कालापानी अतिक्रमणबारे संसद्मा कुरा राखेका थिए । धामीभन्दा पहिले पनि यो मुद्दा राज्यको जानकारीमा नरहेको होइन, तर सकभर लुकाउन खोजिन्थ्यो । धामीले यसलाई राष्ट्रिय बहसमा ल्याइदिए । बोले, लेखे र हामीजस्ता पत्रकारलाई बताइदिए । त्यसैताका भारतसँग महाकाली एकीकृत विकाससम्बन्धी सन्धि गरिएपछि त्यो राष्ट्रिय सरोकारको मुद्दा बन्यो । कालापानी अतिक्रमणका कारण महाकालीको उद्गम किटान हुन सकेको थिएन । त्यसलाई बेवास्ता गर्दै सन्धि गरिएपछि धामी झनै आक्रामक भए ।

दार्चुलामुन्तिर डँडेलधुराका शेरबहादुर देउवा पहिलोचोटी प्रधानमन्त्री बनेको बेला थियो । उनले धामीलाई बोलाएर ठाडै हप्काए– बेकारमा समस्या किन चर्काएको भन्दै । अरू पार्टीका भए पनि देउवाका निम्ति त्यस भेगका सबै ‘आफ्नै’ मान्छे थिए । अचेल मात्र हो, दलीय आधारमा राजनीतिक शिविरहरू बन्न थालेको, नत्र पहिले शक्ति संरचनामा उपल्लो हैसियत बनाएका व्यक्तित्व नै सम्बन्धित भेगमा सर्वमान्य मानिन्थे । सुदूरपश्चिममा पहिले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द शक्तिकेन्द्र थिए, पछि देउवा । त्यसैले उनले धामीलाई सहजै हप्काउन खोजेका रहेछन् । धामीले त्यहाँ के जवाफ दिए थाहा भएन तर लगत्तै लेखे, ‘१९ हजार ६ सय हेक्टर जमीन कता हरायो प्रधानमन्त्रीज्यू ? ’

हक्की पनि थिए । लागेको कुरा लेख्न–बोल्न नडराउने । अस्ति भर्खर धामीका परममित्र हरि रोका र मैले त्यो प्रसंग सम्झियौं । त्यसैताका हुनुपर्छ, मैले अनौपचारिक गफगाफमा सोधें, ‘तपाईंलाई महाकाली र कालापानीको मुद्दाले यति धेरै किन छोएको ? ’

धामीको जवाफ अलि ठूलो स्वरमा निस्कियो, ‘तपार्इंहरूका निम्ति यो काठमाडौंबाट हेरिने एउटा मुद्दामात्र होला, तर हाम्रो निम्ति त आँखैअगाडि भइरहेको अन्याय हो– कसरी भुल्न सकिन्छ ? ’

यस्तो बुझाइ थियो उनको । एमालेबाट सांसद चुनिएपछि २०५१–५२ मा उनी मनमोहन अधिकारी नेतृत्वको नौ महिने अल्पमत सरकारमा आवास तथा भौतिक योजनामन्त्री पनि बने । तर, हाम्रा निम्ति उनी नेता कम, लेखक बढी थिए । पत्रकार र लेखकको जस्तो सम्बन्ध हुन्छ, हाम्रो हिमचिम त्यसभन्दा अलि बढी नै थियो ।

संयोगले संगत भएको थियो उनीसँग । नारायण ढकाल, हरि रोका, घनश्याम भुसाल, किशोर       श्रेष्ठ, रवीन्द्र अधिकारी, गुणराज लुइँटेल, विज्ञान शर्मा, विनोद ढुंगेल, टीकाराम राई, रविन सायमी, कल्याणबन्धु अर्याल आदि कसै न कसैसँग कहीँ न कहीँ धामी भेटिइरहन्थे । म उनको टिमको जुनियर सदस्य थिएँ ।

भारतसँग मात्र होइन, धामीहरू आफ्नै पार्टीभित्र पनि लडिरहेका थिए त्यसबखत । अहिलेका कतिपय राष्ट्रवादी नेताहरू उसबेला महाकाली सन्धिलाई ‘महान्’ मान्थे र बेकारमा ‘कालापानीको काउसो’ लगाएको ठान्थे । धामी ‘जनआस्था’ साप्ताहिकमा ‘नोट अफ डिसेन्ट’ स्तम्भमार्फत उनीहरूसित भिडिरहन्थे । लछुवा कोठारी उनको विम्ब थियो । महाकाली वारिपारि दुवैतिर सुनिने लोककथाका एक चर्चित पात्र हुन्– लछुवा कोठारी, जसका नौ छोरा र       श्रीमतीसँग जोडिएका अनेक कथा–उपकथाहरू त्यस भेगमा सुनिन्छन् ।

धामी त्यसैलाई आधार बनाएर आफ्ना नेताहरूको आलोचना गर्थे । २०५३ सालमा लेखेको ‘लछुवाकी       श्रीमती र पार्टीका नेताहरू’ शीर्षकको लेख अहिले पनि सम्झन्छु । धामीले लेख्दाबोल्दा लछुवा कोठारीको प्रसंग यति धेरै ल्याए कि पछिपछि नारायण ढकालले उनलाई नै ‘लछुवा कोठारी’ भनेर जिस्क्याउन थालेका थिए । ढकालले ‘शोकमग्न यात्री’ पुस्तकमा त्यसको उल्लेख पनि गरेका छन् ।

धामीले एकपटक ‘ब्वाँसा, सुँगुर र माछाको कथा’ शीर्षकमा प्रतीकात्मक टिप्पणी लेखे । कसप्रति लक्षित हो भनेर मैले सोधें । ‘आफैं बुझ्नोस् न,’ उनी फिस्स हाँसे । राजनीतिक लेखनमा साहित्यिक स्वाद मिसाउन खोज्ने खुबी धामीमा त्यत्तिकै आएको होइन रहेछ । उनी पहिला कथाहरू पनि लेख्दा रहेछन्, पछि थाहा भयो ।

उनी लेख्ने–बोल्नेमा मात्र होइन, व्यक्तिगत जीवनमा पनि रमाइला र रसिक थिए । उसबेला आमिर खान र उर्मिला मातोन्डरको ‘रंगिला’ फिल्म हिट भएको थियो । काठमाडौंमा अहिलेजस्तो ‘मल्टिप्लेक्स’ आइसकेका थिएनन् । सिनेमा हलको भीडमा राम्रो फिल्मको टिकट हात पार्नु आफैंमा महाभारतजस्तो हुन्थ्यो । खोइ कताबाट हो, भनसुन गरेर जेनतेन टिकट किन्न पाइयो । अनि हामी जाने भयौं– जमलको विश्वज्योति हलमा । हरि रोका, किशोर       श्रेष्ठ र अरू पनि केही थिए । हामीलाई त फरक पर्ने थिएन । प्रेमसिंह धामीलाई रंगिला हेर्न गएको कसैले देख्यो भने अनावश्यक ‘स्क्यान्डल’ बन्न सक्थ्यो । उनी नेता, भर्खरै मन्त्री पदबाट हटेका । त्यतिबेलाको समाज अहिले जति खुला भइसकेको थिएन । धामीकै पार्टीसमेत ‘कोकाकोला पिउँदा पनि कार्बाही गर्ने’ धङधङीबाट भर्खर बाहिर निस्कँदै थियो । रंगिला हेर्न गएको कुरा पार्टीभित्रै ‘इस्यु’ बन्ने खतरा थियो । धामी अग्लो मान्छे, परैबाट चिनिने । अन्तिममा उपाय निस्कियो । उनले अनुहार पूरै मफलरले बेरे, अनि अलि ठूलो टोपी लगाएर छिरे । कसैले ख्याल गरेन । रंगीन रंगिला हेरेरै छाडियो !

धामीसँग लामो संगत त हुन पाएन, तर छोटै अवधिका पनि अनेक किस्सा छन् । उनीसँग कुराकानी ग¥यो कि घुमिफिरी बीचमा कालापानी आइहाल्थ्यो । अन्ततः हामी उनका कुरा सुन्दासुन्दै कालापानीको रिपोर्टिङमा जाने भयौं । सिनासका ध्रुव कुमार सरले ‘नेपाल्स इन्डिया पोलिसी’ पुस्तकमा कालापानीमा भारतीय फौज रहेको सन्दर्भ उहिल्यै लेखिसकेको तथ्य केहीअघि पढेको थिएँ । म उनलाई भेट्न मण्डला बुक पोइन्ट पुगेँ, जो अहिले पनि बौद्धिक–प्राज्ञिक ‘जक्सन’का रूपमा परिचित छ । एक वर्षलाई हिरोसिमा युनिभर्सिटीतर्फ जान लागेका ध्रुव सरले मण्डलापछाडि चिया पिउँदै कालापानीको पृष्ठभूमिबारे थप व्याख्या गरिदिए ।

थाहा भयो– नेपालको उत्तरी सीमाका १८ ठाउँमा राखिएका भारतीय सैन्य चेकपोस्टहरू २०२६ सालमा हटाइँदा राजा महेन्द्रले कालापानीको चौकी भने रहन दिएका रहेछन् । त्यसबारे जानकार पूर्वमन्त्री एवम् लेखक ऋषिकेश शाहलाई सोधें । राजा महेन्द्रले ‘भारत धेरै रिसाएको, थप नचिढ्याउने’ उद्देश्यले त्यसबेला कालापानीप्रति आँखा चिम्लेको उनको भनाइ थियो ।

महेन्द्रले चिम्लेको आँखा धामीले खोले । २०५३ असोज– दसैं आउन लागेको थियो; फोटोपत्रकार यात्रा थुलुङ, पत्रकार गणेश खत्री र म दार्चुलातर्फ लाग्यौं । महेन्द्रनगर पुगेर जिल्ला प्रशासन कार्यालयबाट भारतीय बाटो हिँड्न पाउने अनुमतिपत्र लियौं । पिथौरागढ पुगेर एक रात बस्यौं, अनि भोलिपल्ट जौलजीविमा पास देखाएर धार्चुला पुग्यौं, जहाँबाट झोलुंगे पुल तरेर दार्चुलातर्फ पस्यौं । नेपालतर्फबाट सडक पुगेको थिएन, मोटरमा दार्चुला पुग्न भारतकै बाटो प्रयोग गर्नुपथ्र्यो ।

सदरमुकामबाट हामी लाग्यौं– कालीको तीरैतीर उत्तरतिर । धामी हाम्रा अप्रत्यक्ष गाइड थिए । उनैले सुझाएको बाटो पहिल्याउँदै, खुइँय् गर्दै उकालो चढ्दै गयौं हामी । पारिपट्टि भारतीय सैन्य शिविरहरू देखिन्थे, वारि फाट्टफुट्ट बस्ती । प्रायः बास गोठमा भयो । अपिको छेउ भएर हिमालपारि पुगेपछि जोसले तान्यो । तीन दिनमा हामी पुग्यौं छाङ्रु– दार्चुलाको सबैभन्दा उत्तरी गाउँ, जहाँ अल्पसंख्यक सौका जाति बस्छन् ।

फैलिएर बसेको छाङ्रु गाउँ मलाई रमाइलो लाग्यो । तिब्बतको ताक्लाकोट व्यापार गर्न जाने रुटमा पर्दो रहेछ यो ठाउँ । यहाँका सौका जाति हिउँ परेपछि सदरमुकाम झर्ने, बाँकी समय त्यहीँ बस्ने गर्दा रहेछन् । पुरानो समृद्ध इतिहास रहेछ यो ठाउँ र यो जातिको । सौका समुदायकै गोपालसिंह बोहोरा उसबेला नेपाली सेनामा ब्रिगेडियर रहेछन्, जो पछि धामीकै पार्टीबाट सभासद् भए । र, ‘कालापानी ः कथा र व्यथा’ किताब पनि लेखे ।

विजया दशमीको दिन अरूहरू घरमा टीका थाप्दै थिए होलान्, हामी भने कालापानीको खोजीमा निस्कियौं । झाडी पन्छाउँदै हिँड्दा केहीबेरमा पहिले घरहरू भएजस्तो खण्डहर देखियो । त्यहाँ वास्तवमा कुनै जमानामा नेपाली बस्ती रहेछ, जसलाई भारतीय सैन्यले उठ्न बाध्य पारेका रहेछन् । झन्डै तीन घन्टा हिँडेपछि हामी एउटा सानो डाँडामा उक्लियौं, जहाँबाट तल हेर्दा सैन्य शिविरहरू देखिए । मित्र यात्रा थुलुङले टेलिलेन्स लगाएर भटाभट फोटो खिच्न थाले ।

तलबाट बन्दुक बोकेका सिपाहीहरू कराउँदै आइहाले, ‘बन्द करो, बन्द करो ।’ अनि मंगोलियन अनुहारका यात्रालाई चिनियाँ भन्दै केरकार गर्न थालिहाले । हामीले परिचयपत्र आदि देखाएर आफ्नै भूमिमा आफूलाई नेपाली प्रमाणित गर्नुप¥यो । तिनले यात्राको क्यामेराबाट रिल पनि निकाल्न खोजे । धन्य, उनले पहिल्यै एउटा रिल निकालेर लुकाइसकेका रहेछन्, जसबाट धुलाइएको फोटो पछि कालापानीको ‘आइकोनिक फोटो’ बन्न पुग्यो ।

हामी पत्रकार हौं भन्ने कुरा बुझेपछि त्यहाँ रहेको ‘आईटीबीपी’ भनिने भारतीय अर्धसैन्य दस्ताका कमान्डर आए । उनले कुराकानीमा त्यो भारतीय भूमि नै रहेको दाबी गरे, तर उनीहरू सीमा अतिक्रमण गरेर बसिरहेको वस्तुस्थितिले नै देखाउँथ्यो । धामीले भन्दै आएको कुरो हो रहेछ । भारतीय सैन्य कालीवारि आएर गुम्बज आकारका दर्जन जति क्याम्पहरू बनाई बसेको आँखैले देखियो ।

सन् १८१६ को सुगौली सन्धिअनुसार, नेपाल–भारतको पश्चिमी सीमा महाकाली नदी हो । उक्त सन्धिका आधारमा बनाइएका सुरुआती नक्साहरूमा लिम्पियाधुरालाई महाकालीको मुहान मानिएको छ । पछिपछि लिम्पियाधुराभन्दा अलि पूर्वको लिपुलेकबाट झर्ने चार गुणा सानो नदीलाई महाकाली भन्न थालियो । अनि सन् १९६२ को भारत–चीन युद्धपछि लिपुलेकभन्दा करिब १० किलोमिटर दक्षिणको कालापानीमा कृत्रिम खोल्सो बनाएर त्यसैलाई कालीको उद्गम दाबी गरिएको थियो । लिपुलेकलाई नै महाकालीको मुहान मान्दा पनि भारतले त्यहाँ ३५ वर्ग किमिभन्दा बढी भू–भाग मिचेको देखिन्छ ।

कालापानी हुँदै लिपुलेक नाकाबाट प्रायः सबै मौसममा तिब्बततर्फ आउजाउ गर्न सकिन्छ । कैलाश–मानसरोबर जाने भारतीय तीर्थयात्रीका लागि सबैभन्दा नजिकको बाटो हो यो । चीन र भारतको राजधानी दिल्लीलाई जोड्ने सबैभन्दा छोटो दूरीको नाका पनि यही हो । त्यसैले यसको धार्मिक, व्यापारिक र सामरिक सबैखाले महत्व छ । र, सायद यसैकारण भारतले यो क्षेत्र नछाड्न मरेहत्ते गर्दै आएको छ ।

काठमाडौं फर्केर मैले ‘कालापानी, जहाँ नेपालभित्र भारतको राज छ’ शीर्षकमा लामो रिपोर्टिङ गरेँ । ‘मूल्यांकन’, ‘जनआस्था’ र ‘काठमाडौं टुडे’मा पनि समाचारहरू लेखेँ । नारायण वाग्ले र जोगेन्द्र घिमिरेले पनि त्यसैताका कालापानीको स्थलगत रिपोर्टिङ गरेर ‘कान्तिपुर’ र ‘काठमान्डु पोस्ट’मा लगातार लेखिरहे । अरूहरूले पनि कलम चलाए । सीमाविद् बुद्धिनारायण       श्रेष्ठ पनि जोसिए, जसका तथ्यपरक विश्लेषणले कालापानीको ‘डिस्कोर्स’लाई अगाडि बढाउन मद्दत पु¥यायो । अब धामी एक्लै रहेनन् । मिडियामा व्यापक कभरेजसँगै कालापानी राजनीतिक राडारमा चढ्यो ।

२०५४ सालमा महाकाली सन्धिलाई प्रतिनिधिसभाबाट अनुमोदन गरिँदा सँगै पारित राष्ट्रिय संकल्पमा महाकालीको उद्गम तय गर्ने (अर्थात् कालापानीको विवाद टुंग्याउने) प्रतिबद्धता जनाइयो । तर, त्यसलाई कार्यान्वयन गर्ने अग्रसरता कहिल्यै कसैले लिएन । त्यसै वर्ष भारतका उदारवादी प्रधानमन्त्री इन्दरकुमार गुजराल काठमाडौं आउँदा कालापानी द्विपक्षीय वार्ताको कार्यसूचीमा चढ्यो । नेपालको संसदीय टोली पनि कालापानी निरीक्षणमा पुग्यो । अखिलको विद्यार्थी टोलीले त त्यहाँ गएर खुकुरी नचाउँदै उग्र राष्ट्रवाद प्रदर्शन ग¥यो । त्यसैलाई बहाना बनाएर भारतीय पक्षले अझै वरसम्म तारजाली लगायो । तर, नाराबाजी जति गरियो, त्यसअनुरूप नेपालले कूटनीतिक प्रयास गर्न सकेन या चाहेन ।

धामीले उठाएको कालापानी मुद्दा पछि उनकै पार्टीका नेताहरूलाई समेत घाँडो हुन थालेको थियो । महाकाली सन्धि, कालापानीलगायतका विवाद बढ्दै गएर अन्ततः एमाले नै फुट्यो । त्यसबेला पार्टी फुटाएर माले बनाउने वामदेव गौतम त केही वर्षमा मातृ पार्टीमै फर्किए, तर कालापानीबाट भारतीय फौज फर्केन ।

त्यसभन्दा अगावै, २०५४ भदौ २७ गते अचानक एउटा दुःखद् खबर सुन्नुप¥यो । राष्ट्र बैंकमा कार्यरत कल्याणबन्धु अर्याल र म हतारहतार धामीको सानेपा डेरामा पुग्यौं । त्यहाँ पुग्दा उनी नुवाकोटको मदनपुरमा मोटर दुर्घटनामा परेको थाहा भयो । हामी मोटरसाइकलमा हानियौं त्यतातिर । पानी झमझम परिरहेको थियो । ककनी नपुग्दै भिजेर निथ्रुक्कै भइयो । घटनास्थल पुग्दा ४५ वर्षे धामी यो दुनियाँबाट टाढा पुगिसकेका रहेछन् ।

जसरी कालापानी विस्मृतिमा धकेलिँदै गयो, धामी पनि विस्तारै ओझेलमा पर्दै गए । गत संसदीय निर्वाचनका बेला दार्चुला सदरमुकाम पुग्दा एउटा कुनामा अचानक उनको थोत्रो सालिक देखेँ । आफ्नो गृह जिल्लामा उनलाई सम्झन त खोजिएको रहेछ, तर त्यसको राम्रोसँग रेखदेख नगरिँदा सम्मानभन्दा बढी बिजोग अवस्था देखियो ।

अचेल कालापानी पत्रिकाको पानामा सीमित भएको छ । राजनीतिक दलका नेताहरू त सकभर यो प्रकरणतर्फ फर्कनै चाहँदैनन् । द्विदेशीय वार्ताको कार्यसूचीबाट पनि यो हटे सरह छ । धामीको अभाव यहीँनेर खट्किन्छ । उनी पनि समयक्रममा अरूजस्तै बद्लिन्थे कि थाहा छैन, तर भौतिक रूपमा नभएको हुँदा विश्वास गरिरहन सकिँदो रहेछ । त्यसैले जहिले–जहिले कालापानीको प्रसंग आउँछ, म धामीलाई सम्झिहाल्छु; अनि उनको प्रिय पात्र लछुवा कोठारीलाई ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.