छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै धर्ना
महेन्द्रनगर : बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याकाण्डको छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै महिला अधिकारकर्मी धर्नामा बसेका छन् ।
नागरिक संघर्ष समितिको अगुवाइमा शनिबार महिला अधिकारकर्मी धर्नामा बसेका हुन् । उनीहरुले शनिबार बिहान ९ बजेदेखिे महेन्द्रनगरको मदन चोकस्थित भेटघाट चौतारीमा धर्ना सुरु गरेका हुन् । धर्ना बेलुकी ५ बजेसम्म जारी रहने नागरिक संघर्ष समितिका संयोजक मीना भण्डारीले जानकारी दिइन् ।
‘अहिलेसम्म निर्मलाको बलात्कार र हत्या घटनाका दोषी पक्राउ पर्न सकेका छैनन्’उनले भनिन्,‘सरकारले गठन गरेको छानबिन समितिलेसमेत प्रतिवेदन बुझाइसक्यो, तर त्यसलाई अहिलेसम्म सार्वजनिक गरिएको छैन्।’
उनले प्रतिवेदन सार्वजनिक नगर्नुभित्रसमेत शंका रहेको भन्दै तत्काल छानबिन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरिन् साउन १० गते बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्या भएको २ महिना भन्दाबढी वित्दासमेत हत्यारा पत्ता लाग्न सकेको छैन् ।
हत्यारालाई पक्राउ गर्नुपर्ने मागसहित महेन्द्रनगरमा आन्दोलन सुरु भएको थियो । आन्दोलनकै क्रममा भदौ ७ र ८ गते प्रहरीले गोली चलाएपछि सरकारले छानबिन गर्न उच्चस्तरीय समिति बनायो । भदौं ८ गते महेन्द्रनगर पुगेर उच्चस्तरीय छानबिन समितिले अनुसन्धान थालेको थियो ।
उच्चस्तरीय छानबिन समितिले आफ्नो प्रतिवेदन गृहमन्त्रालयलाई बुझाइसकेको छ । प्रतिवेदनमा तत्कालीन प्रहरी नेतृत्वले अनुसन्धानमा त्रुटि गरेको ठहर गरिएको भन्ने सामान्य जानकारीबाहेक अन्य कुरा सार्वजनिक गरिएको छैन ।
प्रतिक्रिया दिनुहोस !