निस्तब्ध रानीपोखरी

निस्तब्ध रानीपोखरी

कोलाहल सहरबीच 

चुपचाप रानीपोखरी

कुनै अभिलाषा नभएको

कुनै प्रतिकार नभएको

ए निस्तब्ध रानीपोखरी

कति सहने ? किन सहने ?

वास्तवमै चुपचाप छ, रानीपोखरी। बेमतलव, बेहाल र निस्तब्ध। कवि लक्ष्मी माली आफैं रानीपोखरी बनेका छन्, कवितामा। त्यसैले शब्दहरूमा रोदन पोख्ने प्रयास गर्र्दै लेखे, ‘कति सहने, किन सहने ? ’ काठमाडौं सहरलाई जीवन्त राख्न रानीपोखरीको हावा नै काफी थियो, कुनै समय। सहरको शोभा थियो, पोखरी। राजहाँसहरू लाम लागेर रानीपोखरीमा सयर गर्थे। बकुल्ला पोखरीको डिलमा बसेर माछा कुर्थे। भ्यागुताको ट्वारट्वार र विभिन्न प्रजातिका कीराहरूको किरकिर र चिरचिर सहरको कोलाहल चिरेर सहरवासीको कानमा पस्थ्यो।

रानीपोखरीको सुन्दरतामा रमाएर हुर्किएका पुस्ता थुप्रै छन्। ‘चाक्ला फल्चा’मा बसेर पोखरीमा ढुंगा हान्दै माया पिरती साटेका पुस्ता बूढा भइसके। तर सम्झना ताजै छ। ‘चाक्ला फल्चा’ तिनै बूढा पुस्ताको सम्झनामा मात्रै बाँकी छ। पोखरी सफा गर्न सहरै उर्लिन्थ्यो, ऊबेला। रानीपोखरीको डिलमा उम्रिएको घाँस उखेलेकोमा गर्व गर्छन्, पुतलीसडकका राममान प्रधान। उनको सभ्झनामा रानीपोखरी धार्मिक र सांस्कृतिक सद्भावको केन्द्र थियो।

काठमाडौंको वातावरण कोलाहलमय भए पनि आकाश अद्भुत छ। बदलिँदो आकाशले फेर्ने रूप र रंगको साक्षी हो, रानीपोखरी। पोखरीमा रंग फेर्दै गरेको काठमाडौंको आकाश र रानीपोखरीको रूपलाई अनेक कोणबाट आफ्ना क्यानभासमा प्रस्फुटित गरेका छन्, कलाकारहरूले। यी रंगहरूका अद्भुत कोलाज देखेर मोहित र रोमाञ्चित नभएका को होलान् ! रानीपोखरीका अनेक कथा, किंवदन्तीहरू छन्। केही सुन्दर छन्, केही भयानक। जीवनमा असफल हुनेहरू रानीपोखरीलाई अन्तिम साथी मान्थे कोही कोही। भौतिक जीवन यहाँ समाहित गर्नेहरू निकै थिए पहिले। तिनै जीवात्माले तर्साउने डरले रानीपोखरीको बाटो राति हिँड्न डर मान्नेहरूको जमात पनि ठूलै थियो। कोही किचकन्ने आउँछ भन्थे, कोही लामालामा हातले तान्छ भन्थे, कोही ख्याक आउँछ भन्थे। अनेक आवाज र दृश्यहरूको भय प्रचारित थियो। मल्ल राजा, राणाहरू र शाह राजाहरूले पोखरीमा थुप्रै हीरा-जवाहरात लुकाएको जनविश्वास थियो।

आफ्नी दिवंगत रानीको सम्झनामा भारतमा मुगल सम्राट् शाहजहाँले ताजमहल बनाए। नेपालका मल्ल राजा प्रतापले रानीलाई खुसी पार्न रानीपोखरी। ताजमहल बनेको ठीक एक शताब्दीपछि बनेको थियो, रानीपोखरी। प्रेमका प्रतीक हुन्, यी दुवै ऐतिहासिक सम्पदा। ताजमहल विश्वप्रसिद्ध छ, संरक्षित छ। अहिले रानीपोखरीको अस्तित्वमा प्रश्नचिन्ह लागेको छ। पानी सुकाइएको जमिनलाई पोखरी कसरी भन्नु ?

जंगल बनेको छ, रानीपोखरी। अग्लाअग्ला घाँसको जंगल। व्यस्त सहरका लाखौं आँखाहरूले आकाशेपुल चढेर दैनिक नियालेको छ, रानीपोखरीको यो दुर्गति। ती आँखाहरू लाचार छन्। सहानुभूति राख्दै च्व च्वको आवाज निकाल्नुको विकल्प छैन, तिनीहरूसँग। राजनीतिको चरमस्वार्थमा फसेको छ, रानीपोखरी। कमिसनको लोभमा यसलाई भजाएर खान खोजिएको छ। महानगर, पुरातत्व विभाग, पुरातत्वविद्, सम्पदाविद्, संस्कृतिविद्, इतिहासविद्हरूबीच स्वार्थको संग्राममा प्रताडित भएको छ, रानीपोखरी। पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर भूकम्पले क्षतिग्रस्त भएको थियो।

तीन वर्ष लागेको थियो, अनुपम सुन्दर पोखरी तयार हुन। सुकाउन तीन महिना पनि लागेन। काठमाडौं सभ्यताको एउटा सुनौलो पानो च्यातिएर, झुत्रिने सम्भावना झन्झन् बढ्दै गएको छ।

मन्दिरको पुनर्निर्माणमा छड र सिमेन्टको प्रयोग गरिएको विरोधमा सम्पदाप्रेमी र स्थानीयले विरोध गरे, काम रोकियो। परम्परागत प्रविधि र निर्माण सामग्री नै प्रयोग गरेर मन्दिर पुनर्निर्माण गर्ने सहमति भएको पनि वर्षौं बितिसकेको छ। यही अन्योलका बीच स्वार्थविद्हरूले पोखरी सुकाए। जब अर्थोपार्जन मूल उद्देश्य हुन्छ, संरक्षण गौण हुनु स्वाभाविक हो। औद्योगिक युगभन्दा अघि विकसित भएको हो हाम्रो वास्तुकला र सम्पदा। यसको महत्व नै नबुझेकाहरूबाट संरक्षणको आस गर्नु व्यर्थ हो।

तीन वर्ष लागेको थियो, अनुपम सुन्दर पोखरी तयार हुन। सुकाउन तीन महिना पनि लागेन। उतिबेलाको किंवदन्तीअनुसार वागमती नदीसहित एकाउन्न तीर्थको जल ओसारिएको थियो, पोखरी भर्न। भूकम्पले क्षत्विक्षत भयो पोखरी। अहिले त भूकम्प गएको पनि तीन वर्ष बितिसक्यो। तर न रानीपोखरी, न मन्दिर पुनर्निर्माण हुन सकेको छ। ग्रन्थकुट शैली कि शिखर शैली भन्ने विवादमा मन्दिर पुनर्निर्माण अल्झियो। पोखरी पर्खाल विवादमा रोकियो। निर्लज्ज, निर्बुद्धिहरूको निर्बन्धमा काठमाडौं सभ्यताको एउटा सुनौलो पानो च्यातिएर, झुत्रिने सम्भावना झन्झन् बढ्दै गएको छ।

रानीपोखरीमाथि अतिक्रमण नयाँ कुरो होइन। राणाकालदेखिकै हो। वीरशमशेरको शासनकालमा बहादुर भवनको ढल रानीपोखरीमा खसालिन्थ्यो। २०१२ सालमा राजा महेन्द्रको राज्याभिषेकका लागि रानीपोखरी सफा गर्ने क्रममा थाहा हुन आएको थियो, यो कुरा। रानीपोखरी सफाइका क्रममा त्यही साल उक्त ढल टुकुचातिर मोडियो। एक अध्ययन प्रतिवेदनले रानीपोखरीको पुरानो क्षेत्र इंगित गरेको छ। पोखरीको चारैतिर मन्दिर स्थापना गरिएको उल्लेख छ, प्रतिवेदनमा। उत्तरपूर्व कुनामा भैरव, दक्षिणपूर्व कुनामा देवी, उत्तरपश्चिम कुनामा शक्तिसहितको भैरव र दक्षिणपश्चिम कुनामा सोह्रहाते गणेश।

डा. महेशराज पन्तले आफ्नो एक लेखमा लेखेका छन्, ‘वीर अस्पतालको पूर्वमा टुँडिखेल नपुग्दैको मूल सडकको पश्चिमपट्टि सोह्रहाते गणेशको मन्दिर र एउटा ठूलो चैत्य थियो। २०१७ सालमा बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको नेपाल भ्रमणका क्रममा काठमाडौंका सडक विस्तार गर्दा जस्तो लाग्छ, सोह्रहाते गणेश त्यहाँबाट हटाई वर्तमान स्थानमा ठड्याइएको हो। चैत्य चाहिँ स्वयम्भूमा लगेर प्रतिष्ठा गरिएको हो।’ डा. पन्तको भनाइले रानीपोखरीको क्षेत्रफल पहिले वीर अस्पतालसम्म थियो भन्ने प्रमाणित गर्छ। अर्थात् पोखरी निकै ठूलो थियो। समयक्रममा सडक निर्माण, पार्क निर्माण, सरकारी अड्डा निर्माणका नाममा रानीपोखरीको आयतन घटेर वर्तमान अवस्थामा आइपुग्यो।

रानीपोखरीको विषयमा लेखिरहँदा केही प्रश्नले कोट्याइरह्यो। प्रताप मल्लको समयमा काठमाडौंमा कति मानिस थिए होलान् ? तीन वर्षमा त्यत्रो पोखरी खन्न कति मानिस खटिए होलान् ? पोखरी खन्दा निस्किएको माटो कता फालियो होला ? त्यति ठूलो पोखरीमा भर्न पानी कहाँबाट ल्याइयो होला ? भनिन्छ, रानीपोखरीको पानीको स्रोत इनार हो। पोखरीमा नौवटा इनार थिए। तर इनारको पानी भरिएर पोखरी बन्न सक्छ त ? वागमती र एकाउन्न तीर्थको जलले पोखरी पवित्र गरियो भनिन्छ।

ती एकाउन्न तीर्थको जल कसरी उपत्यकासम्म आइपुग्यो होला ? वागमतीको पानी ओसारेर पोखरीसम्म ल्याई पुर्‍याउन कति जन श्रमदान लाग्यो होला ? रानीपोखरीसम्बन्धी ऐतिहासिक अभिलेखहरूले यी प्रश्नको जवाफ दिँदैन। संस्कृतिविद् हरिराम जोशी रानीपोखरीको चारकुनामा रहेका लिच्छविकालीन ढुंगेधारालाई पोखरीको पानीको स्रोत हो भन्छन्। यस विषयमा अन्य संस्कृतिविद्हरूको राय सार्वजनिक भएको छैन।

प्रश्नहरूका उत्तर आउँदै गर्ला। वास्तविक हो, रानीपोखरीको अहिलेको दुर्दशा। काठमाडौं र ललितपुरका थुप्रै पोखरीहरू अहिले अस्तित्वमा छैनन्। संरक्षणको अभाव र स्थानीय निकायको लापरवाहीले ती पोखरीहरू बिलाए। रानीपोखरीको अवस्था कतै त्यस्तै हुने त होइन ?
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.