सुमधुर सिम्फोनी

सुमधुर सिम्फोनी

चालीसको दर्शकबाट कविता लेखन सुरु गरी बीचको एकाध वर्ष पत्रकारितामा कोल्टे फेरे पनि पुनः कविता कर्ममै निरन्तर लागिरहने साधकको नाम हो, विमल वैद्य । ‘अक्षर सिम्फोनी’ कवि वैद्यको हालसालै प्रकाशित नवीनतम् कविता कृति हो । यसअघि उनका ‘आकाश छुन खोज्ने मनहरू’ (२०६०) तथा ‘समय र सपनाहरू’ (२०६२) कविता कृति प्रकाशित छन् ।

अनुभूतिलाई शब्दमा उतार्ने क्षमता र मस्तिष्कको निरन्तर सक्रियता विशेषगरी यी दुई तŒवको गठजोडबाट कविताको जन्म हुन्छ । यसलाई सम्भव बनाउँछ, साधना र आत्मचिन्तनले । तीन दशकको साधना र आत्मचिन्तनको समग्र रूप हो, ‘अक्षर सिम्फोनी ।’ एउटा कविको भाषा पाठकसँग निकट भएन भने कविता दुर्घटित हुने सम्भावना बढेर जान्छ । एउटा कविको चिन्तन गलत मार्गमा अग्रसर भयो भने कविता दुर्घटित हुन्छ । यी सम्भावनासँग जोगिएर लेख्नु एउटा अब्बल कविको पहिचान हो ।

कवि बैरागी काइँलाका अनुसार कवि विमल वैद्यको भाषा छिप्पिएको छ । छिप्पिएको भाषाले नै हो । पाठकसँग निकटता बढाउने । प्रथमतः कविता भाषाको खेल हो । कवितालाई चाहिने अन्य थोकहरू क्रमशः आउला । यो मानेमा वैद्यका कविताहरूले पाठ्कसँग मनग्गे अन्तरसंवाद गरेको छ ।

नेपाली काव्यिक इतिहासमा बीसको दशक प्रयोगको युग थियो । तीसको दशक सरल कविताको युग थियो । तर, चालीसका दशकका कविहरूले न प्रयोग, न त सरल बीचको मार्गबाट कविता लेखे । कवि विमल वैद्य त्यही धारका कवि हुन् । उनको कवितामा बुद्धि र हृदयको फ्युजन छ । रमरम बौद्धिकता तर हृदयलाई ठ्याक्कै छुने किसिमका छन्, उनका कविताहरू । कुनैकुनै प्रेम कविता पढ्दा झन् दार्शनिकको अभिव्यक्तिझैं लाग्छन् ।

समकालीन अधिकांश कविमा निजत्वको खडेरी छ । अधिकांश कविले आफ्नोपन भेट्टाउनै सकिरहेका छैनन् । कविताको माहोलमा बैरागी काइँलाको भनाइ गसिप बनेको छ । र, यो तीतो सन्य पनि हो । उनी भन्छन्, ‘भाइहरूले नयाँ कविता लेखिरहेकै छन् तर कुनै बेला लाग्छ, मेरो कवितालाई अझ राम्रो गरी लेखिरहेका छन् । तर, विमल वैद्यसँग निजत्व छ ।’ अर्की कवि मोमिलाको यो भनाइ काफी छ, नाम छोपिए पनि विमल वैद्यको कविता चिन्न सक्छु ।

अधिकांश चलनचल्तीका विम्बहरूप्रति कविको पटके मोह अलि सुपाच्य लाग्दैन । केही कवितामा शब्द बढ्ता र केहीमा अपुग लाग्छ ।

‘अक्षर सिम्फोनी’मा त्रिचालीस कविता संगृहीत छन् । प्रायः कविता छोटा र रसिला छन् । पे्रम, प्रकृति, समाज र मानवीय संवेदना यी कविताका विषय हुन् । काव्य रचना व्यक्तिका दुःखसुखको सूची तयार गर्नु होइन, यो त मानवीय दुःखसुखको व्याख्या हो । वैद्यको कविता पढ्दा बोध हुन्छ अर्थात् कवि अनुभूतिलाई आममानवीय अनुभूतिमा रुपान्तरण गर्न सक्नु उनको सफलता हो । आजको समय वैचारिक स्खलनको समय हो । सबैभन्दा तीव्र वैचारिक स्खलन राजनीतिमा दृष्टिगोचर भइरहेछ । जस्तो कि कृतिको पहिलो कविता ‘क्रान्तिको परिभाषा’मा पंक्तिबद्ध छ :

क्रान्तिको अहम् बोकेर छातीभरि

देश बदल्न हिँडेको एउटा योद्धा

आज साउदी अरबमा रङ पोतिरहेको छ ।

नेपालमा सम्पन्न राजनीतिक क्रान्ति वा परिवर्तनहरूले आममानिसलाई फगत भ¥याङ बनाएको सत्य हो । यो यथार्थलाई ब्ल्याक कमेडी शैलीमा कविले अभिव्यक्त गरेका छन् । पूरै कविता कृतिमा समसामयिक राजनीतिलाई सम्बोधन गरिएको क्रान्तिको परिभाषा छ । क्रान्तिको परिभाषा वैचारिक रुखलनको ज्वलन्त नमुना हो । क्रान्तिको सपना बेचेर नेताहरूले आममानिसको सपनामाथि कुठाराघात गरेको यथार्थ यो कवितामार्फत कविले इंगित गरेका छन् । ‘झण्डा’ कविता नेपाली राजनीतिमा बाह्य हस्तक्षेपविरुद्ध सिर्जित सुन्दर रचना हो । यी दुई कविताले राजनीतिक प्रवृत्तिमाथि सिर्जनात्मक असहमति जाहेर गरेको छ ।

समकालीन कविता बहसमा छ । केही थरीको चिन्ता छ, कवितामा दम छैन । अर्को थरीको तर्क छ, कविता मौलाएको अहिलेको समयमा हो । किनभने कवितामा नवीन चिन्तन, नयाँ भाष्य र विषयगत विविधता नयाँ ढंगले आइरहेछ ।

कवि वैद्यमा सामयिक चेत छ । काल चेतनालाई पक्रिन सक्नु अब्बल कविको चिनारी हो । ‘घरको देउता’ लैंगिक असमानतामाथि लेखिएको उत्कृष्ट कविता हो । यो कवितामा आमनेपाली नारीको पीडा अभिव्यक्त छ । नारी प्रथम पात्र भएर लेखिएको यो कविताले पाठकलाई संवेदनाको उपल्लो तहमा पु¥याउँछ । पुरुष भएर नारीको पीडालाई यति मिहिन ढंगले उतारिएको छ ।

देशमा अहिले स्थिर सत्ता छ । आममानिसमा समृद्धिको सपना छ । आशा गरौं, समाजमा व्याप्त विभेदका शृंखलाहरू क्रमशः सम्बोधन हुनेछन् । त्यसकारण अबको कवितामा कलापक्ष उन्नत भएर आउनेछ । जस्तो कि ‘साँझ संवाद’ कवितामा उल्लेख छ ः

घाम डुब्दै गरेको साँझ

मैले क्षितिजलाई सोधेँ—

रातमा कहाँ बास बस्छ घाम ?

उसले भन्यो—

मसँग त क्षणिक सम्मिलन मात्र हो

फुत्केर जान्छ

मेरै आँखा अघिबाट ।

आमभाषा र कविको भाषा किन फरक हुन्छ ? समाचारको भाषा र कविको भाषा किन अलग हुन्छ ? ओराम पामुकले किन भने ? , ‘कवि बोली ईश्वर बोली हो ।’ कवि भाषालाई विशिष्ट बनाउँदो रहेछ अभिव्यक्ति कला र दर्शनले । कलासँगै चिन्तन र दर्शन मिसिएर आयो भने कवि भाषा विशिष्ट बन्दो रहेछ । ‘अक्षर सिम्फोनी’मा पनि केही दर्शन बोकेका कविताहरू छन् । ‘छुटिरहने साथहरू’, ‘मैनबत्ती’, ‘यात्रा’ आदि यी मार्काका कविताहरू हुन् ।

कविता के हो ? आजको प्रविधि युगमा यो प्रश्न झनै प्रासंगिक भएर आइरहेछ । सामाजिक सञ्जालको सहज पहुँच र आकर्षणले थुप्रै कवि झुण्ड सतहमा आएका छन् । आजको समयमा यी भीडहरूमाझ आफ्नो मौलिकता जोगाइराख्नु एउटा कविका लागि ठूलो चुनौती भएको छ । नेपालको पूर्वी सहर इलाममा बसी अहोरात्र कविता चिन्तनमा सक्रिय रहेकै कारण हुनपर्छ, यी नयाँनयाँ भीडहरूमाझ पनि विमल वैद्य अलग्गै चिनिन्छन् । संस्कृतमा एउटा शब्द छ— चरेवति चरेवति अर्थात् हिँडिरहनु हिँडिरहनु । करिब तीन दर्शक कविता लेखनमा निरन्तर यात्रारत रहेपछिको परिणाम हो, कृति अक्षर सिम्फोनी ।

एउटा कविले सप्पै कविता उत्कृष्ट लेख्छ भन्ने हँदैन । अक्षर सिम्फोनी कृतिमा पनि केही कमजोर कविताहरू अटाएका छन् । एउटा सर्जकलाई आफ्ना प्रत्येक सिर्जनाको मोह हुन्छ । सम्भवतः यही कारण ती कविता कृतिमा समाविष्ट भए । अधिकांश चलनचल्तीका विम्बहरूप्रति कविको पटके मोह अलि सुपाच्य लाग्दैन । केही कवितामा शब्द बढ्ता र केहीमा अपुग लाग्छ ।

अन्त्यमा यी थोरै भूलवश गल्तीलाई दरकिनार गर्ने हो भने पछिल्लो समय प्रकाशित कविताका कृतिहरूमा अक्षर सिम्फोनी अघिल्लो लहरमा छ । आख्यान हेजेमोनीको समयमा अक्षर सिम्फोनीले स्वाभिमानपूर्वक आफ्नो अस्तित्व जोगाउनेमा सायदै दुईमत होला ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.