कर्णालीमा चीनकाे चासाे

कर्णालीमा चीनकाे चासाे

सुर्खेत : कर्णाली प्रदेशको आर्थिक र भौतिक विकासमा लगानी गर्न चीन इच्छुक देखिएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चीन भ्रमण क्रममा चीन सरकार कर्णालीको विकासमा लगानी गर्न इच्छुक देखिएको जानकारी दिए। चीन भ्रमणबाट फर्केपछि शनिबार सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग मुख्यमन्त्री शाहीले चीन भ्रमण कर्णालीको विकासका लागि कोसेढुंगा सावित हुने दाबी गरे।

कर्णालीको विकासमा चीन सरकारले उत्सुकता देखाएको र भ्रमणबाट कर्णालीमा चिनियाँ लगानी भित्रिने वातावरण बनेको मन्त्री शाहीले उल्लेख गरे। ‘संविधानअनुसार अर्को देशसँग प्रदेशले सीधै सम्झौता गर्न सक्दैन’, उनले भने, ‘तर संघीय सरकारसँग पनि समन्वय भएकाले संघीय सरकारमार्फत चीन सरकारको लगानी कर्णालीमा ल्याउने वातावरण निर्माण गरेका छौं।’

भ्रमण क्रममा चिनियाँ पक्षसँग कर्णालीका नाका खोल्ने र फास्ट ट्र्याक निर्माण गर्न सम्झौता भएको जानकारी दिए। ‘हिल्सा–जमुनाह फास्ट ट्र्याक निर्माण गर्न गर्न प्रारम्भिक समझदारी भएको छ, चीन सरकारमातहतको चाइना हाइवे कम्पनीसँग भएको उक्त समझदारीमा ‘फिजिबिलिटी’ अध्ययन र प्रारम्भिक सर्भे गर्ने उल्लेख छ’, उनले थपे, ‘सम्भाव्यता अध्ययनपछि कुरा मिल्यो भने संघीय सरकार र चाइना हाइवे कम्पनीबीच सम्झौता भई काम सुरु गरिनेछ।’ हिल्सा–जमुनाह फास्ट ट्र्याक निर्माणसम्बन्धमा महत्वपूर्ण उपलब्धिका रूपमा रहेको मुख्यमन्त्री शाहीको दाबी छ।

यस्तै, चीन भ्रमणअघि कर्णालीमा विमानस्थल निर्माणका लागि चिनियाँ लगानीकर्तालाई कर्णाली भ्रमण गराएका मुख्यमन्त्री शाहीले पुनः उक्त विषयमा चिनियाँ प्रतिनिधिसँग छलफल भएको जानकारी दिए। सुर्खेत विमानस्थल स्तरोन्नति र मदाने चौरमा प्रस्तावित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सहयोगको प्रतिबद्धता गरिएको शाहीको भनाइ छ।

प्रदेश सरकारले ‘कर्णाली एयर’ को नाममा आफ्नै एयरलाइन्स सञ्चालन गर्ने सोच बनाएको र उक्त योजनाका लागि चीन सरकारसँग ऋणबारे छलफलमसेत भएको बताए। साथै, पर्यटन पूर्वाधारको विकास, जडीबुटी प्रशोधन, जलविद्युत् विकास, आन्तरिक तथा प्रादेशिक विमानस्थल निर्माणलगायत विषयमा पनि छलफल भएको बताइएको छ।

कर्णालीमा आन्तरिक उडान र अन्तरप्रदेशीय उडानका लागि कम्तीमा दुईवटा विमान खरिद गर्ने योजना बनाएको र यसलाई सफल बनाउन चीन सरकारसँग ऋण सहयोगको अपेक्षा गरिएकामा सकारात्मक प्रतिक्रिया जनाएको कर्णाली प्रदेश सरकारले जानकारी दिएको छ। कर्णालीमा लगानी गर्नेलाई कर मिनाहको घोषणा गरिएको र चिनियाँ लगानीकर्तालाई भौगोलिक रूपमा विकट कर्णाली प्रदेशमा लगानी गर्न उत्साहित गर्ने विश्वास व्यक्त गरे।

सिचुवान प्रान्तका गभर्नर यीनलीको निमन्त्रणामा मुख्यमन्त्री शाही तीन सदस्यीय टोलीसहित असोज ३ गते चीन गएका थिए। टोलीमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला र सांसद धर्मराज रेग्मी सहभागी थिए। भ्रमण क्रममा मुख्यमन्त्री शाहीको टोली सिचुवानमा आयोजित १७ औंं वेस्टर्न चाइना इन्टरनेसनल फायर बेल्ट एन्ड रोड डेभलपमेन्ट कन्फरेन्समा सहभागी थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.