हतारमा बिहे गर्नेहरु फुर्सदमा पछुताउँदै
चितवन : कलिलो उमेरमै काखमा दूधेबालक, स्याहार नपुगेर शरीर पातलो भएको हरेक चेपाङ गाउँमा सजिलै देख्न सकिन्छ। पढ्ने उमेरमा चेपाङ किशोरी आमा बन्ने गर्छन्। बच्चा स्याहार गर्न नसक्ने उमेरमै विवाह गर्छन्। सानैमा बिहे गर्ने उनीहरूका लागि परम्पराजस्तै बनेको छ। बिहेबारे थाहै नभएकाहरू आमा बनेका छन्। हरेक गाउँमा प्रायः घरैपिच्छे काखेबालक सँगैका आमाहरू भेटिन्छन्।
राप्ती नगरपालिका–१३ स्यामराङकी विनिमाया चेपाङको २० वर्षको उमेरमा चार वटा बच्चा छन्। १५ वर्षको उमेरमा विवाह गरेकी उनको ८ महिनाको काखे छोरीसँगै अर्को एक छोरा र दुई छोरी छन्। सानोमा विवाह गर्नुहुन्न भन्ने थाहा थिएन। विद्यालय पढ्नसमेत नपाएकी विनिमायालाई पछुतो लागेको छ। बालबालिका हुर्काउन झेलेको अभाव र समस्याले उनलाई पछुतो लागेको हो। उनलाई यसबारे सिकाउने कोही नभएपछि आफैंले रोजेर सानैमा बिहे गरेकी हुन्। ‘सबैले सानोमा विवाह गर्ने त चलन नै भयो’, उनले लाज मान्दै भनिन्, ‘त्यतिबेला थाहै भएन अब थाहा पाएर के गर्नु ? ’
गरिबीका कारण पढ्न नपाउने समस्याले चेपाङ जातिमा बालविवाह रोकिएको छैन। रमाउने उमेरमा उनीहरू घरेलु समस्यासँग सामना गर्न बाध्य हुने गर्छन्। आफंैले रोजेर १५ वर्षको उमेरमा भागीविवाह गरेकी २० वर्ष पुगेकी चमेली चेपाङका दुई जना बच्चा छन्। त्यतिबेला थाहा नभए पनि अहिले सानो उमेर बिहे गर्दा हुने समस्या भोगेकी छन्। सानोमा बिहे गर्नुहुन्न भन्ने उनले महसुस गरिन्।
लोथरकै मैना चेपाङको पनि १४ वर्षकै उमेरमा बिहे भयो। उनको काखे छोरा छ। कम उमेरमा बिहे गरेकी उनी आर्थिक समस्याले पिरोलिएकी छन्। पछि आउने समस्याबारे थाहा नभएर समस्यामा परेको उनले बताइन्। सुरक्षित मातृत्वबारे उनीहरूलाई केही थाहा छैन। ‘हाम्रो जातिमा छिटो बिहे गरेर बच्चा जन्माएर बस्ने चलन छ’, उनले भनिन्, ‘पढेको छैन त्यही भएर केही थाहा भएन।’
पढाइबाट वञ्चित हँुदा चेपाङ जातिका किशोरीका लागि विवाह नै विकल्प मानिएको छ। प्राथमिक तह पढे पनि त्यसपछिको अध्ययन गर्न घण्टौं हिँडेर जानुपर्छ। विद्यालयको पहुँच टाढा भएपछि पढाइ छाडेर बस्छन्। माध्यमिक तह पढ्ने उमेर भएपछि मन पराएर आफैं बिहे गर्छन्। सानमो उमेरमा बच्चा जन्माउने महिलामा आङ खस्ने समस्या देखा पर्छ।
२० वर्षयता बिहे गर्न नपाइने कानुनी व्यवस्था भए पनि चेपाङ जातिमा बालविवाह भयावह बन्दै गएको स्यामराङकी शिक्षिका गंगा गुरुङले बताइन्। ‘छिटो विवाहको असरबारे थाहा नहुँदा पनि बालविवाह हुने गरेको छ’, उनले भनिन्, ‘बैंसको लहलहैमा उनीहरू दौडिन्छन्।’ स्याहार नपुगेकै कारण कतिपय बच्चालाई कुपोषणसमेत हुने गरेको छ। विकराल समस्या भए पनि चेपाङ जातिमा व्याप्त बालविवाह रोकिन सकेको छैन।
प्रतिक्रिया दिनुहोस !