रोकियो भूकम्पपीडितको अनुदान

रोकियो भूकम्पपीडितको अनुदान

गोरखा : कार्यालय प्रमुख र निमित्त प्रमुख दुवै सरुवा भएपछि गोरखाका भूकम्पपीडित एकसातादेखि अनुदानको किस्ता रकम लिन सकेका छैनन्। अनुदान व्यवथापन तथा स्थानीय पूर्वाधार इकाइका प्रमुख रामकुमार श्रेष्ठ २ साता चीन भ्रमणमा रहेको र निमित्त प्रमुख सन्तोष अर्यालको पनि सरुवा भएपछि किस्ता रकमको प्रक्रियामा रहेका भूकम्पपीडितका करिब दुई हजार फाइल थन्किएको कार्यालयले जनाएको छ।

वडा कार्यालय, सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयबाट स्वीकृत भई आएका फाइल अनुदान व्यवथापन तथा स्थानीय पूर्वाधार इकाइमा फाइल रोकिएको पीडितको भनाइ छ। रोकिएका फाइलमध्ये अन्तिम किस्ता माग गर्नेको संख्या धेरै छ। उक्त किस्ताका लागि सिफारिस भएर आएको १ हजार ५ सय ३४ फाइल अनुदान ब्यवस्थापन इकाइमा रोकिएको इकाइ कार्यालयका कर्मचारीको भनाइ छ। दोस्रो किस्ता माग गरिएका तीनसय ५० फाइलको पनि प्रक्रियाअघि बढ्न सकेको छैन।

चीन भ्रमणबाट फर्केलगत्तै अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाइका प्रमुख रामकुमार श्रेष्ठको पनि सरुवा भइसकेको छ। कर्मचारी नहुँदा सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयबाट सिफारिस गरिएका लाभग्राहीका फाइल कोष तथा लेखा नियन्त्रक कार्यालयमा पठाउन सकिएको छैन।

चाडको मुखमा अनुदानको किस्ता रकम रोकिएपछि भूकम्पपीडित लाभग्राही निराश छन्। ‘चाडबाड आइसक्यो। काम गर्नेमान्छेलाई पैसा चाहिने बेला हो’, पालुङटार नगरपालिका–९ का पीडित दिननाथ सेढाइँले भने, ‘हाकिम नभएर किस्ता रोकियो। निमित्त हाकिमको पनि सरुवा भएको छ। अब कहिले काम बन्ने हो थाहा छैन।’ जिल्ला समन्वय समितिले गर्दै आएको किस्ता वितरणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जिल्ला प्राविधिक कार्यालयका प्रमुखलाई दिएको छ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणले जिल्ला कार्यान्वयन इकाइलाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाइमा रुपान्तर गरी प्रमुखको जिम्मेवारी प्रमुख इन्जिनियरलाई दिएको थियो। चीन भ्रमणमा गएका श्रेष्ठ केहीदिनअघि नेपाल फर्किए पनि कार्यालयमा हाजिर हुन आएका छैनन्। ‘म विदेश भ्रमणमा छँदै मैले निमित्त दिएको इन्जिनियर सन्तोष अर्यालको पनि सरुवा भइसकेछ। मेरो पनि सरुवा भइसकेको रहेछ’, श्रेष्ठले भने, ‘म केही दिनभित्र आएर रोकिएको फाइल अघि बढाउनेछु।’

भूकम्प प्रभावितले व्यक्तिगत आवास पुननिर्माण गर्न तीन किस्तामा ३ लाख रुपैयाँ पाउँछन्। सम्बन्धित वडाको सिफारिसका आधारमा भवन डिभिजन, अनुदान ब्यवस्थापन इकाइ हुँदै कोष तथा लेखा नियन्त्रक कार्यालयबाट भूकम्प प्रभावितले किस्ता रकम पाउने प्रावधान छ। इकाइ कार्यालयको अभिलेखअनुसार गोरखाका ६५ हजार तीन सय ७० जना लाभग्राहीमध्ये ६० हजार सात सय ६६ जनाले पहिलो किस्ता पाएका छन्। ५१ हजार आठ सय ६४ जनाले दोस्रो किस्ता र ३७ हजार दुई सय ४४ जनाले घर निर्माण सम्पन्न गरी तेस्रो किस्ता लगिसकेको कार्यालयले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.