संचालनमा नआउँदै भत्कियो बसपार्क
धनगढी : धनगढीमा निर्माणका क्रममा रहेको बसपार्क सम्पन्न नहुँदै भत्किन सुरु भएको छ। बसपार्कको ठाउँठाउँमा खाल्डा परेका छन् भने कोलोपत्रे गरिएको भागमा पानीको तलाउ हुने गरेको छ। केही ठाउँमा हालिएका ब्लक पनि भाँसिएका छन्।
सुरुदेखि नै निर्माणमा ढिलाइ भएको बसपार्कको गुणस्तरमा स्थानीयले आशंका व्यक्त गरेका छन्।भित्रि भागमा वर्षाको पानी भरिने गरेको स्थानीयले बताएका छन्।फागुन चैतमा निर्माण सुरु भएको बसपार्क निर्माण पक्षले वर्षात्को समयमा कालोपत्रे गरेकाले गुणस्तर खस्किएको हो।
'बसपार्कमा भरिएको पानी चारैतिर हालिएका ह्युमपाइपमा निकास हुने गरी बनाएको छ, तर अहिले बसपार्क तलाउजस्तै बनेको छ।' स्थानीय व्यापारी नरेश रावतले भने, ' बसपार्कको अधिकांश भागमा पानी भरिने गरेको छ, निकासको डिजाइन अनुसारको निर्माण भएको छैन।'
निर्माण पक्षले बसपार्कको उत्तरतिरको सडकबाहेक निर्माण सम्पन्न भइसकेको दावी गरे पनि भित्रि भागमा पानी भरिने तथा ठाउँठाउँमा खाल्डा परेका छन्। बसपार्कको रंगरोगन बाँकी नै छ। ठाउँठाउँमा लगाइएका ब्लक समेत भाँसिएको अर्का व्यापारी जीवन बुढाले बताए। दोस्रो पटक म्याद थप्दा पनि बसपार्क निर्माण सम्पन्न भएको छैन।'
सहरी विकास तथा भवन डिभिजन कार्यालय धनगढीको १ करोड ३४ लाख ९२ मा बसपार्क कालोपत्रे हुन लागेको हो। राजेन्द्र-रुद्रावती जेभीले ठेक्का पाएको बसपार्कमा गुणस्तरहीन काम भएको स्थानीयले आरोप लगाएका छन्।
दुई हप्तादेखि वर्षा रोकिए पनि निर्माण पक्षले बसपार्कको उत्तर तिरको भाग वर्षाका कारण निर्माण हुन नसकेको जनाएको छ । सुदूरपश्चिमका ९ जिल्लासहित नेपालको संघीय राजधानी र देशका कुना कन्दरामा जाने बस पार्किङका लागि लामो समय समस्या झेल्दै आएका बस व्यवसायी सम्पन्न नभएकै बसपार्कमा फेरि पार्किङ सुरु गरिसकेको छन।
सहरी विकास तथा भवन डिभिजन कार्यालयले बसपार्कको ९० प्रतिशत निर्माण सम्पन्न भइसकेको जनाएको छ। बसपार्क स्तरोन्नतिको काम तोकिएको समयमा पूरा हुन नसकेपछि असार मसान्तमा ६ महिना समय थप गरिएको थियो।
६ महिना थपिए पनि दशैं तिहारसम्म निर्माणको काम सक्न निर्देशन दिइएको थियो। दशैंका लागि अग्रिम टिकट बुकिङ भइरहेको छ।सरकारको सघन सहरी विकास कार्यक्रमअन्तर्गतको बजेटबाट सहरी विकासले स्तरोन्नति गरिरहेको बसपार्कमा अझै पेन्टिङ, उत्तरतिरको सडक, पेटी निर्माणको काम बाँकी छ।
वर्षातमा कालोपत्रे गर्दा गुणस्तर नहुने भएकाले काम रोकिएको सहरी विकास तथा भवन डिभिजन कार्यालयका ईन्जिनियर शालिकराम उपाध्यायले बताए।'काम गरे अहिलेसम्म सकिन्थ्यो, उनले भने, 'तर, वर्षातले पेन्टिङ र कालोपत्रे काम गर्न सकिँदैन र गुणस्तर पनि हुँदैन, त्यसैले अहिले काम रोकिएको छ।'
थपिएको ६ महिनाभित्र भने काम सकिने उनले दाबी गरे ।निर्माण भएको काममा लेभल पनि मिलाउन नसकिएको उनले स्वीकार गरे। पानी जम्ने ठाउँको लेभल फेरि मिलाइने इन्जिनियर उपाध्यायको भनाई छ। निर्माण व्यवसायी किशोर ठकुराठीले वर्षाका कारण कालोपत्रे गर्न नसकेको र वर्षा रोकिएपछि मात्रै कालोपत्रेको काम गर्ने भन्दै उम्किन खोजे। तर, उनले बसपार्कको मुख्य भाग वर्षातकै बेला कालोपत्रे गरेका हुन्।
यसअघि यातायात व्यवसायीले बसपार्कबाट बस नहटाउँदा निर्माण कार्यमा ढिलाई भएको निर्माण पक्ष आरोप लगाउँदै आएको थियो। निर्माण कम्पनीले सबै काम सकेपछि सघन सहरी विकासले धनगढी उपमहागनरपालिकालाई बसपार्क हस्तान्तरण गर्नेछ। डिभिजनका इन्जिनियर उपाध्यायले निर्माणको काम सकिएपछि धनगढी उपमहानगरपालिकालाई बसपार्क हस्तान्तरण गरिने बताए।
धनगढी उपमहानगरपालिकाको स्वामित्वमा रहेको बसपार्क उसले हरेक वर्ष ठेक्कामा दिँदै आएको छ। यससअघि सुदूरपश्चिम यातायातले ठेक्कामा लिने गरेपनि यसपाली एकजनाको मात्रै टेन्डर परेको छ।
उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले बसपार्कका लागि खोलिएको टेण्डरमा एकजनाको मात्रै निवेदन परेको र सम्झौता हुन भने बाँकी रहेको बताए ।उनकाअनुसार बसपार्क ठेक्का दिएपछि बसपार्क सञ्चालनको पूर्ण जिम्मेवारी ठेकेदारको हुनेछ।