एसिडले अनुहार खायो, सरकारले न्याय
हेटौंडा : आँखाको चेपबाट अनायसै आँसु झर्दा उनी मुर्छित हुन्थिन् । एसिडले जलेको अनुहारमा आँसु पर्दा पनि नुन चुक छर्केजस्तो पीडा हुन्थ्यो । जीवनभरलाई पीडा दिने घाउ बोकेर न्यायको खोजीमा भौतारिरहेकी ती युवती एक्लै बस्दा भक्कानिन्छिन् । आँसु झर्दा अनुहार पोल्न त छाड्यो तर उनको मन कति जलेको छ, व्यक्त गर्न सक्दिनन् ।
अनायसै झरिदिने आँसु रोक्न आजभोलि उनी आफंैलाई सम्हाल्दैछिन् । तर मान्छेकै अनुहारमा आएको एक राक्षसले हजारौं सपना हत्या गरेको त्यो दिन जीवनमा उनले कहिल्यै भुल्न सक्दिनन् । जीवनमा संघर्ष गर्नुपर्छ भन्ने त उनलाई थाहा थियो तर किशोर अवस्थामै मृत्युसँग संघर्ष उनले सोचेकी पनि थिइनन् ।
भर्खरै उच्च शिक्षातर्फ पाइला टेक्दै गरेकी हेटौंडाकी बिन्दवासिनी कंसाकारको मनमा हजारौं सपना थिए । ती सपनाको पाना कोर्दै गरेकी उनलाई थाहा थिएन सुन्दर सपनाहरूका बीचमा पनि थुप्रै काँडा हुन्छन् । साढे पाँच वर्षअघि एसिड आक्रमणमा परी मृत्युको मुखबाट बचेकी कंसाकार सुन्दर अनुहार सपनीमा देख्छिन् तर वर्तमान पीडादायी छ । जीवनमा कति दुःख आए गए तर हिम्मतवाली कंसाकारले आफैसँग हार खाएकी छैनन् । एसिडले अनुहार जलेपछि दुई वर्षसम्म त उनी धक फुकाएर रुन पनि सकिनन् ।
‘आँखाबाट बगिदिने आँसुले चहराइरहेको अनुहारको घाउमा नुनचुक छर्केको महशुुस हुन्थ्यो’, उनले विगतको पीडा सम्झिइन् । कसैको प्रतिशोधमा धेरै महिला एसिडबाट जले होलान् । तर देशमा एसिड आक्रमणको घटना सार्वजनिक भएको यो पहिलो घटना थियो ।
२०६९ सालमा हेटौंडामै भारतीय युवा राज केशरीले एसिड आक्रमण गरेर उनलाई गम्भीर घाइते बनाएका थिए । एसिड आक्रमणलगत्तै भारत छिरेका केशरीलाई हालसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन । केशरी हेटौंडामा पसल सञ्चालन गरी बस्थिन् । पछिल्लो समय महिलामाथि एसिड आक्रमणको घटना बढ्न थालेपछि कंसाकार एसिडपीडित महिलालाई साथ दिन विभिन्न अभियानमा संलग्न छन् । साढे पाँच वर्षसम्म पनि सरकारले अपराधी पक्राउ गर्न नसकेपछि उनले आफ्नै पहलमा हेटौंडामा र्याली तथा हस्ताक्षर संकलन कार्यक्रम पनि आयोजना गरिन् ।
‘यो देशमा सरकार छ र न्याय पाइन्छ भन्ने मलाई अझै पनि आशा छ’, कंसाकारले सरकारलाई प्रश्न गरिन्, ‘कसैको आवेग र प्रतिशोधमा हामीले जिउँदै जलेर कति दिन बाँच्नुपर्ने हो सरकार ? ’ आफूलाई एसिड आक्रमण गर्ने केशरीलाई भेटेमा उसलाई पनि एसिडको पीडा दिन मन भएको भन्दै उनले आक्रोश व्यक्त गरिन् । ‘भान्छामा तरकारी पकाउँदा एक थोपा तातो तेलले पोल्दा त कति पीडा हुन्छ, अनुहारभरि एसिडले पोलिँदा कस्तो पीडा होला ? ’, उनले भनिन्, ‘एसिड आक्रमण गर्नेलाई पक्राउ गरेर कारबाही नगर्ने हो भने कुनै पनि नारी सुरक्षित रहँदैनन् ।’ खुलेआम एसिड बिक्री र कमजोर कानुनसँगै फितलो प्रशासनका कारण पीडितले न्याय नपाएको उनको दुखेसो छ ।
कहालीलाग्दो विगत र संघर्षमय भविष्यलाई वर्तमानमै न्याय दिलाउन चाहन्छिन् कंसाकार । तर प्रहरी प्रशासन धाउँदा धाउँदा साढे पाँच वर्ष भइसकेको छ, उनी थाकेकी छन् । ‘तर पनि मेरो मन अझै थाकेको छैन, हरेस पनि खाँदिनँ’, कंसाकारले भनिन्, ‘मलाई जीवनभर पीडा दिनेलाई कारबाही नभएसम्म म चुप लागेर घरमा बस्दिनँ ।’ विवाहको प्रस्ताव अस्विकार गरेपछि केशरीले उनलाई एसिड आक्रमण गरेका थिए ।