यस्तो छ माघ १८ गतेदेखि सुरू हुने प्रतिनिधिसभाको पाक्षिक सभावित कार्यतालिका
काठमाडौं : प्रतिनिधिसभाले हिउँदे अधिवेशनको पाक्षिक कार्यतालिका सार्वनजिक गरेको छ। मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले माघ १८ गतेदेखि सुरू हुने हिउँदे अधिवेशनको संसदको संभावित कार्यतालिका सार्वजनिक गरेको हो। समिति बैठकले संसद सचिवालयले तयार गरेको क्यालेन्डर हेरफेरसहित सार्वजनिक गरेको हो।
जसअनुसार हिउँदे अधिवेशनको पहिलो बैठक माघ १८ गते बस्नेछ। त्यसपछि माघ २४,२५ ,२७,२८ र २९ गते बैठक बस्नेछ।
क्यालेन्डर अनुसार हिउँदे अधिवेशनको पहिलो दिन माघ १८ गते ६ वटा अध्यादेश संसदमा प्रस्तुत हुनेछन्।
सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,२०८१, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,२०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ र भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पेश हुने क्यालेन्डरमा उल्लेख छ।
यसैगरी पहिलो बैठकमा अधिवेशन आह्वानको पत्रको जानकारी, ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जली, राष्ट्रपतिको कार्यालयको पत्र, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र, अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन र अधिवेशन प्रारम्भको अवसरमा मन्तव्य ( दलीय आधारमा) मन्तव्य राख्ने कार्यसूची छ।

प्रतिक्रिया दिनुहोस !