डिकीमा खसीबोकाको यातनापूर्ण यात्रा
ललितपुर : दशैं आयो। सहरबजारतिर खसीबोका, भेडा, बंगुर ओसारपसार चलिरहेको छ। जिउँदा खसी बसको डिकीभित्रै कोचेर ओसार्ने समेत गरिएको छ। केही दिन यताको अनुगमनमा पशुढुवानी मापदण्डविपरीत डिकीभित्र खसीबोका भेटिएको जिल्ला पशु कार्यालय ललितपुरका प्रमुख मोगलप्रसाद शाहले बताए। शाहले भने, ‘डिकीमा खसीबोका कोच्ने दशभन्दा धेरै सवारीलाई कारवाही गर्यौं।’
पशु सेवा विभाग, पशु क्वारेन्टाइन कार्यालय काठमाडौं, जिल्ला पशु सेवा कार्यालय ललितपुरलगायत कार्यालयको टोलीले नागढुंगामा अनुगमन गरेको थियो। पशु क्वारेन्टाइनले चेकपोस्टसँगको सहकार्यमा राजधानी ल्याइँदै गरेका दुई सयभन्दा धेरै खसी, बाख्रा तथा भेडाको उद्धार गरिएको पनि शाहले जनाए। उनले भने, ‘प्रत्येक सवारीबाट पाँच हजार जरिवाना लियौं। उनीहरूलाई उप्रान्त सवारीका छत र डिकीमा पशु ओसारपसार नगर्ने सहमतिमा छाडिएको छ।’

अनुगमनमा छ–सातवटा खसी निस्सासिएर मरेका भेटिएका थिए। कतिपय खसीबोका बेहोस अवस्थामा भेटिएको शाहले बताए। नेपालगञ्ज, धरानलगायतका ठाउँबाट राजधानी आइपुग्दा २५ घण्टासम्म लाग्ने भएकाले धेरै खसीबोका बिरामी भएका पाइएका हुन्।
‘पाँच हजार लिएर छाड्दैमा समस्या समाधान नहुने अनुगमनमा सहभागी सामाजिक संस्था स्नेहाज केयरकी स्नेहा श्रेष्ठले बताइन्। उनका अनुसार कति खसी प्वालै नभएको डिकीमा भेटिए भने खुल्ला गाडीमा पनि ६० देखि ७० खसीबोका ओसारेको भेटिएको थियो।

पशु मापदण्ड ०६४ को परिच्छेद २ को (४) ले पशु ढुवानी आरामपूर्वक गराउनुपर्ने उल्लेख गरेको छ। ढुवानीमा पशुलाई हलचल गर्ने ठाउँ चाहिने, घाउचोट लाग्न नहुने, बाँधेर अथवा कोचेर ओसारपसार गर्न नमिल्ने, डिकी तथा छतमा राख्न नहुने, दुई जना चरुवाले दानापानी व्यवस्था गराउनुपर्ने भनिएको छ।
पशु सेवा विभागका प्रमुख रामकुमार कार्कीले ढुवानीमा खसीबोका निस्सासिएर र सरुवा रोगको प्रकोपले मर्ने गरेको बताए। कार्कीले एउटा जनावरले अर्को जनावरको वध गरेको नदेख्ने गरी व्यवस्था गर्नुपर्ने अन्तराष्ट्रिय मापदण्ड भएको पनि जनाए।

‘जनावरमा पनि भावना हुन्छ, ढुवानीमा हार्मोन गडबडी हुने भएकाले त्यस्तो मासु सेवन गर्दा मान्छेलाई असर गर्छ’, कार्कीले भने। हाल राजधानीका प्रमुख नाका साँगा, बालाजु, नागढुंगा र दक्षिणकालीमा अनुगमन टोली खटिएको छ।
प्रतिक्रिया दिनुहोस !