कुरामै कतिन्जेल मक्ख पर्ने ?

कुरामै कतिन्जेल मक्ख पर्ने ?

हामी सबैलाई ठूला कुरा गर्न मनपर्छ। कामको सिन्को नभाँची कुरैकुराको पहाड सिर्जना गर्न सक्छौं हामी। गफले मात्र समृद्धि ल्याउन सक्ने भए हामी नेपाली कोही पछि पर्ने थिएनौं। पहिले काम अनि मात्र कुरा गर्नेहरू विकसित भइसके। हामीलाई कामको अत्तोपत्तो नै हुँदैन। सरकारदेखि सर्वसाधारण नागरिकसम्म सबैमा काम नगर्ने तर धेरै कुरा गर्ने बानीको विकास हुँदैछ। कुरौटे संस्कृतिको विकास भएको छ।

म सानो छँदा बाबाले भन्नुहुन्थ्यो, ‘काम नगरी माम खान हुन्न छोरी।’ त्यसको अर्थ बल्ल अहिले बुझ्दैछु। विप्रेषणले चलिरहेको अर्थतन्त्र छ, तर उपभोगवादी संस्कृतिको निर्माण भएको छ। काम नगर्ने मात्र होइन, हाम्रा आँखा नेपाली खाद्यान्न र लत्ताकपडामा जान छोडिसक्यो। विदेशी सामान र खाद्यान्नको पारखी बन्दैछौं हामी। कुरामा हरित क्रान्तिको धाक लगाउँछौं, तर वास्तविकतामा भने घरबारी बाँझो राखेर खुर्सानी किन्नलाई शानसँग बजार जान्छौं। पोसिला स्थानीय खाद्यान्न उत्पादन क्रमशः घट्दैछ, आयात भने बढिरहेको छ। यसले व्यापार घाटा बढिरहेको छ। हामी ‘स्वादे जिब्रो, अल्छे तिघ्रो’ लाई चरितार्थ गरिरहेका छौं।

सयौं बिघा जमिन बाँझो राख्नेलाई जमिनदार भनेर सम्मान गरिन्छ यहाँ। सानोतिनो काम आफैं गर्न लाज लाग्छ हामीलाई। विदेशमा गएर जस्तोसुकै काम गर्न तयार हुने हामी आफ्नो घरमा भने खाएको थाल पखाल्दा सानो भइन्छ कि भन्ने सोचले ग्रसित छौं। गन्यमान्य र गतिलो कामको रूपमा चाकरी र चाप्लुसीले प्र श्रय पाएको छ। पढेकाले पाए जागिर खाने हो, नत्र अन्य काम गर्ने होइन भन्ने सोचाइ छ। सरकारले बेरोजगार युवालाई आंशिक भए पनि रोजगार सिर्जना गर्नुको सट्टा उल्टै बेरोजगार भत्ता दिने निर्णय गरेको छ। आफ्नै परि श्रमले कमाएको पैसाले गर्ने काम बेरोजगार भत्ताले गर्न सक्दैन भन्ने किन बुझ्दैन सरकार ?

सरकारले केही ठूला सपना देख्नु र देखाउनुलाई जायज नै मान्नुपर्छ तर हरेक दिन नयाँ–नयाँ सपना देखेर प्रगति हुँदैन। अघिल्लो दिनको सपना अर्को दिन तोडिन्छ। गर्नै नसक्ने, धान्नै नसक्ने कुराको निर्णय हतारमा किन गर्नु ? निर्णय गर्नुभन्दा पहिले चार बित्ता परको किन सोच्न सक्दैन सरकार ? सरकार मात्र होइन हरेक पार्टीको चाला उही छ।

नागरिकले बुझिसके– जुन पार्टीको सरकार भए पनि गर्ने भनेको कुरा मात्रै हो। त्यति बुझेपछि हामी सबैले आफ्नो काम गर्न छोडेर किन सधैं नेताको पछि लागेर हिँड्ने ? पाखुरीमा बल भएपछि किन जोगीले झैं अरूसँग माग्न हात पसार्ने ? हामी स्वाभिमानी नेपालीलाई स्वावलम्बी बन्न केले छेकेको छ ? हामीलाई दिनको दसौं घन्टा कुरा गर्न सक्ने तर सधैं गाँस, बास र कपासको समस्यामा अल्झिने कसले बनायो ? नेपाल सानो र सुन्दर देश हो। हामीसँग विकासका अथाह सम्भावना छन्। सक्रिया जनशक्तिको लाभ अझ तीन दशकसम्म लिइरहन सकिन्छ। प्राकृतिक स्रोत, साधनले भरिपूर्ण छ। मात्र खाँचो छ कामको, सीपको र परि श्रमको। कुरा मात्र ठूला गर्ने अहिलेको हाम्रो चलनलाई चटक्कै त्याग्नु जरुरी छ। अहिले हामी सबै नेपालीमा परि श्रम गर्ने बानीको विकास गर्नुपर्छ। जाँगर निकालेर कुनै काम नगर्ने अनि बिहानदेखि साँझसम्म अनावश्यक कुरा मात्र काटेर बस्न हामीलाई कसले सिकायो ? सक्ने काम लाज नमानी गर्न हामी किन सक्दैनौं ?

जुन सरकार र जति मतको सरकार बने पनि विकास, समृद्धि भन्नु त कुरामा मात्र सीमित छ। अल्पमतको सरकार बन्दा अल्पमतमा भएर हो भन्नेहरू दुईतिहाइको सरकार बन्दा पनि त्यस्तो उल्लेख्य काम केही गर्न सकेका छैनन्। हामी कुरौटे नागरिक प्नि सरकारको कुरैकुरामा मक्ख छौं।

मुलुकको समृद्धिका लागि सबैले काम गर्नु जरुरी छ। सरकाले सबैलाई आंशिक रूपमा भए पनि काम गर्ने वातावरण सिर्जना गरोस्। कुरैकुरामा मस्त हुने हामी क्रमशः आफ्नो योग्यता, दक्षता र क्षमताअनुसारको काममा खट्न पाइयोस्। परि श्रमले हातमा ठेला उठोस्। दिमागको धेरै अंश सक्रिय बनाउन पाइयोस्। विद्यार्थीले राम्रोसँग पढून्, डाक्टरले बिरामीको राम्रो उपचार गरून्, चालकले सवारी साधन राम्रोसँग चलाऊन्, व्यापारीले गुणस्तरीय सामान सुपथ मूल्यमा बेचून्। एवं रीतले सबैले आआफ्नो जिम्मेवारी पूरा गरून्।

मनभित्र जाँगर उमार्न सके जे पनि गर्न सक्छौं हामी। द्वितीय विश्वयुद्धमा तहसनहस भएको जापान अहिले विकासको उच्चविन्दुमा पुगेको छ। कसैको उपनिवेश नभएको नेपाल आज पनि अल्पविकसित र विकासोन्मुख छ। विकासको सुरुवात अब कामबाट गरौं। हरेक मुलुकको समृद्धिको पखेटा कुराबाट होइन, कामबाट पलाउँछ।

मानसिक रूपमा काम गर्न तयार भएपछि मात्रै हामीलाई काम प्यारो लाग्छ। कुनै पनि काम ठूलो र सानो भन्ने हुँदैन। आफूले सक्ने काम सबैले गर्ने बानीको विकास गर्नुपर्छ। जस्तोसुकै काममा पनि सरकारको मुख ताकेर बस्ने प्रवृत्ति हटाउनुपर्दछ। काम आफूले गर्ने हो, आफ्नो लागि गर्ने हो भन्ने हरेकले बुझ्न जरुरी छ। सबैले काम गर्ने हो भने छोटो समयमा नै निकै प्रगति हासिल गर्न सकिन्छ। सानो धमिराले त मिलेर काम गर्दा एकै रातमा देवल बनाउन सक्छ भने हामी त मान्छे हौं। हाम्रै वरिपरि कति अवसर छन्। त्यहाँसम्म हाम्रो नजर पुगेको छैन, जाँगर पुगेको छैन।

हामीलाई चाहिएको मुलुकको विकास हो, समृद्धि हो। विकास गर्नका लागि ठूलाठूला काम गर्नुपर्छ। त्यसैले अब सबैले कार्यसंस्कृतिको निर्माण गर्नुपर्छ। परिवर्तन विस्तारै हुन्छ। परिवर्तन सानो कुराबाट सुरु हुन्छ। अब हामी पनि साना कामबाट परिवर्तनको सुरुवात गरौं।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.