अनिश बने नवौं लिगलिगे राजा
गोरखा : चेपे र मस्र्याङ्दीको दोभानदेखि लिगलिगकोटसम्मको १३.५ किलोमिटर ५८.२५ मिनेटमा पार गर्दै पर्वतका धावक अनिश थापा एक बर्षका लागि लिगलिगे राजा भएका छन् ।
एक सय २२ जनालाई पछि पार्दै नेपाली सेनाका थापा नवौं लिगलिगे राजा बन्न सफल भएका हुन् । थापालाई एक समारोहका बीच श्रीपेच पहिर्याई सम्मान गर्ने तयारी छ ।
उनलाई पालुङ्टार नगरपरिक्रमा गराउने आयोजक पालुङ्टार नगरपालिका आयोजक संस्था लिगलिग विकास अभियानले जनाएको छ । विजेता थापाले ६० हजार रुपैयाँ नगद पुरस्कार हात पारेका छन् ।
त्यस्तै निर्धारित दूरी ५८.४० मिनेटमा पार गर्दै बाग्लुङका तीर्थ पुन दोस्रो र ५९.२१ मिनेटमा पार गरी नेपाली सेनाका रामजी बस्नेत तेस्रो बन्न सफल भएका छन् । दोस्रो हुनेले ३५ हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।
त्यस्तै स्थानीय महिलातर्फको दौडमा सुनिता गिरी प्रथम भएकी छन् । खुल्ला महिलातर्फको दौडमा पुष्पा भण्डारी र भेट्रानतर्फको दौडमा धर्म महर्जन प्रथम भएका स्थानीय धिरज थापाले जानकारी दिए ।
चारसय बर्षअघि दौडेर लिगलिगे राजा हुने परम्परालाई जगाइराख्न लिगलिगे दौडको आयोजना गरेको अभियानले जनाएको छ ।
इतिहासअनुसार लम्जुङका राजकुमार द्रव्य शाह चेपेघाटबाट लिगलिगकोटसम्म दौडेर राजा बनेका थिए । सोही इतिहासको सम्झनामा बिगत नौ वर्षदेखि लिगलिगकोट विकास अभियानले दौड प्रतियोगिताको आयोजना गर्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस !