नवौँ लिगलिगे राजालाई मन्त्रीले लगाइदिए श्रीपेच
गोरखा : यो वर्षको लिगलिगे राजा हुन सफल नेपाली सेनाका अनिश थापालाई पर्यटनमन्त्री रवीन्द्र अधिकारीले श्रीपेच लगाइदिएका छन् । चेपे र मस्र्याङ्दी दोभानदेखि लिगलिगकोटसम्मको १३.५ किलोमिटर ५८.२५ मिनेटमा पार गर्दै एक वर्षका लागि लिगलिगे राजा बन्न सफल थापालाई एक कार्यक्रमबीच मन्त्री अधिकारीले श्रीपेच लगाइदिएका हुन् ।
एक सय २२ जनालाई पछि पार्दै नेपाली सेनाका थापा नवौं लिगलिगे राजा बन्न सफल भएका हुन् । थापालाई एक समारोहबीच मन्त्री अधिकारीले श्रीपेच पहि¥याई सम्मान गरेका हुन् ।
श्रीपेचसँगै ६० हजार रुपैयाँ पुरस्कार वितरणपछि उनलाई पालुङ्टार नगरपरिक्रमा गराइएको आयोजक पालुङ्टार नगरपालिका आयोजक संस्था लिगलिग विकास अभियानले जनाएको छ ।
यो दौडमा निर्धारित दूरी ५८.४० मिनेटमा पार गर्दै बाग्लुङका तीर्थ पुन दोस्रो भए । ५९.२१ मिनेटमा पार गरी नेपाली सेनाका रामजी बस्नेत तेस्रो भए । दोस्रो भएका पुनले ३५ हजार र तेस्रो भएका बस्नेतले २५ हजार रुपैयाँ पुरस्कार पाए ।
त्यस्तै स्थानीय महिलातर्फको दौडमा सुनिता गिरी प्रथम भएकी छन् । खुल्ला महिलातर्फको दौडमा पुष्पा भण्डारी र भेट्रानतर्फको दौडमा धर्म महर्जन प्रथम भएका स्थानीय धीरज थापाले जानकारी दिए ।
चारसय वर्षअघि दौडेर लिगलिगे राजा हुने परम्परालाई जगाइराख्न लिगलिगे दौड गरिएको अभियानले जनाएको छ ।
इतिहासअनुसार लम्जुङका राजकुमार द्रव्य शाह चेपेघाटबाट लिगलिगकोटसम्म दौडेर राजा बनेका थिए । त्यही इतिहासको सम्झनामा नौ वर्ष अघिदेखि लिगलिगकोट विकास अभियानले दौड गराउँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस !