काठका पोल हटाउनै १९ करोड भन्दा बढी खर्च
गोरखा : हावाहुरी र झरीले काठे पोल ढलाएर विद्युत अवरोध गरेपछि गोरखामा यस्ता पोल हटाएर फलामे पोल वा स्टिल पोल राख्ने अभियान थालिएको छ ।
जसका लागि १९ करोड भन्दा बढी खर्च लाग्ने भएको छ । विद्युत प्राधिकरण, साविक जिल्ला विकास समिति तथा निर्वाचिन क्षेत्र विकास कार्यक्रमको बजेटले काठे पोलमुक्त अभियान सञ्चालन गरिएको हो ।
विद्युत प्राधिकरणको गोरखा वितरण केन्द्रका अनुसार हालसम्म काठे पोल विस्थापन गरी फलामे पोल राख्न १९ करोड ३१ लाख ५ हजार रुपैयाँ खर्च भइसकेको छ ।
आर्थिक वर्ष २०६८÷०६९ देखि हालसम्म १३ हजार एकसय ५१ थान काठे पोल विस्थापन गरी फलामे पोल प्रतिस्थापन गर्दा सो रकम खर्च भएको केन्द्रका प्रमुख माधव न्यौपानेले जानकारी दिए । आर्थिक वर्ष २०६८÷६९ मा १ करोड ५९ लाख ५० हजार रुपैयाँको लागतमा ६ सय ३८ काठका पोल हटाएर फलामको पोल राखिएको छ ।
२०६९÷७० मा ७१ लाख ५५ हजार रुपैयाँले २ सय ६५ थान पोल फेरिएको छ । २०७०÷७१ मा १ हजार २ सय ११ थान काठका पोल हटाउन २ करोड ९५ लाख ९६ हजार रुपैया खर्च भएको वितरण केन्द्रले जनाएको छ ।
प्राधिकरणले विद्युत प्रशारण लाइन मर्मतसुधार शीर्षकमा वर्षेनी काठेपोल विस्थापन गर्दै आएको छ । उक्त शीर्षकमा आर्थिक वर्ष २०७१÷७२ देखि साविक जिल्ला विकास समिति मार्फत पनि विद्युत रोयल्टी वापतको रकम फलामे पोल खरिदमा खर्च हुन थालेको केन्द्र प्रमुख न्यौपानेले बताए । सोही वर्ष ४ करोड १० लाख ५० हजार रुपैयाको लागतमा १ हजार ६ सय ४२ थान काठका पोल हटाएर फलामको पोल राखिएको थियो ।
न्यौपानेका अनुसार आर्थिक वर्ष २०७२÷७३ मा १ हजार ५ सय २१ काठको पोल हटाइएको छ । उक्त संख्याको काठको पोल भएका ठाउँमा फलाम पोल फेर्न २ करोड ८२ लाख १६ हजार रुपैयाँ खर्च भएको छ । आर्थिक बर्ष २०७३÷७४ मा २ करोड २३ लाख ३८ हजार रुपैयाको लागतमा २ हजार १ सय १३ फलामका पोल राखिएका छन् ।
अघिल्लो आर्थिक वर्ष २०७४÷७५ मा भने साविकको क्षेत्र नं २ का सांसद हितराज पाण्डेले सांसद विकास कोषको सबै अर्थात् ३ करोड रुपैयाँ आफ्नो क्षेत्रमा काठे पोल विस्थापनका लागि खर्च गरेका थिए । उक्त बजेटबाट ३ हजार ५ सय २ फलामेपोल प्रतिस्थापन गर्ने निर्णय गरे पनि हालसम्म २५ सय पोल मात्रै जडान भएका छन् । अरु पोल जडान हुने क्रममा रहेका केन्द्र प्रमुख न्यौपानेले जानकारी दिए । त्यस वर्ष ५ हजार ७ सय ६१ काठेपोल विस्थापन गर्न ४ करोड ८८ लाख रुपैयाँ खर्च भएको विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !