केन्द्र सरकारको काम सुस्त: मुख्यमन्त्री गुरुङ

केन्द्र सरकारको काम सुस्त: मुख्यमन्त्री गुरुङ

पोखरा: एक जना राणा प्रधानमन्त्रीले बांगो रूखमुखि भाइभारदारको भेला डाकेर भनेछन्, ‘रूख कति सोझो छ।’ धेरैले होमा हो मिलाएछन्। एक जनाले चाहिँ प्वाक्क भनेछन्, ‘मेरो गर्धन चिलाएको हो कि के हो महाराज रूख त बांगै देख्छु।’ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले त्यही किस्सा सुनाउँदै आफ्नो पनि गर्धन चिलाइरहेको बताएका छन्।

संघ सरकारले गति लिन नसकेको भनेर आलोचना गर्दै उनले उक्त किस्साको प्रसंग उप्काएका हुन्। ‘कामको गतिमति हेर्दा संविधान कार्यान्वयनको आवश्यकताअनुसार साह्रै ढिलो छ’, उनले भने। क्रान्तिका नेताले विकास निर्माणलाई गति दिन नसकेको विश्व दृष्टान्त दिँदै मुख्यमन्त्री गुरुङले त्यसबारे हुटहुटी जगाउँदा गर्धन चिलाएको तहमा पुगिने डर रहेको सुनाए।

मुख्यमन्त्री गुरुङले आलोचना सहन नसक्ने शासकले निरंकुशताको बाटो समात्ने टिप्पणी गरे। नेपाल पत्रकार महासंघ गण्डकीले बुधबार पोखरामा गरेको कार्यक्रममा मुख्यमन्त्री गुरुङले शासकले रचनात्मक आलोचनालाई स्विकार्नुपर्ने बताए। संविधान निर्माण तथा राष्ट्रियताको सवालमा प्रधानमन्त्री केपी ओलीले दिएको सन्देशले नेपालीमा ठूलो आशा जगाएको बताउँदै मुख्यमन्त्री गुरुङले त्यो आशा नमरे पनि जनअपेक्षाबमोजिम काम हुन नसकेको बताए। ‘आशा मरेको छैन तर जुन गति र योजनासाथ काम हुनुपथ्र्याे, त्यो हुन सकेको छैन’, उनले भने।

संघीय सरकारका मन्त्री जनताको कामभन्दा व्यक्तिगत लोकप्रियताका पछाडि लागेको उनको टिप्पणी छ। ‘मन्त्री साँच्चै संविधान कार्यान्वयन गर्न गएको कि लोकप्रियताका लागि ? छुट्याउनै हम्मे परेको छ’, गुरुङले भने, ‘प्रदेश र स्थानीय सरकारका समस्या समाधान गर्न गएजस्तो लागेको छैन।’ संघीय सरकारका लागि प्रदेश तथा स्थानीय सरकार सबै बराबर हुनुपर्नेमा त्यस्तो नदेखिएको उनले गुनासो गरे।

संघीय सरकारप्रति लक्ष्य गर्दै उनले आफ्नो सरकारले रचनात्मक आलोचनालाई सधैँ स्वागत गर्ने बताए। उनले भने, ‘गण्डकी प्रदेशको मुख्यमन्त्रीलाई तपाईं जति आलोचना गर्न सक्नुहुन्छ। ध्वंसात्मक होइन, रचनात्मक आलोचना गर्नुस्, सरकार त्यसलाई ग्रहण गर्न तयार छ।’ मुख्यमन्त्री गुरुङले संघीय सरकारको गतिका कारण प्रदेश सरकारले प्रभावकारी काम गर्न नसकेको बताए। ‘चीनले ४० वर्षमा गरेको विकास १५ वर्षमा गर्छौँ भनेर भाषण पनि ठोकेका छौँ’, संघीय सरकारतर्फ लक्ष्य गर्दै उनले भने, ‘तर गति र मति धीमा छ।’

आफूले हरेक ठाउँमा प्रदेश सरकारको उपस्थिति खै भन्ने प्रश्न सामना गरेको सुनाउँदै उनले शपथग्रहण, नीति तथा कार्यक्रम र बजेटबाहेक अन्य कुनै काम गर्न नसकेको बताए। ‘उपस्थिति जनाउनै पाएको छैन। प्रदेश प्रमुखसँग शपथग्रहण गर्दा, नीति तथा कार्यक्रम ल्याउँदा तथा बजेट ल्याउँदाबाहेक अन्य काम गरेर उपस्थिति जनाउनै पाएका छैनौँ’, उनले भने, ‘नसकेको होइन कामै गर्न पाएका छैनौँ।’

मुख्यमन्त्री गुरुङले संविधानले स्रोत बाँडफाँटको जिम्मा संघीय सरकारलाई दिएको तर उसले प्रभावकारी काम नगरेको गुनासो गरे। ‘कर्मचारी छैनन्, स्रोतसाधन चाहियो, चलअचल सम्पत्ति चाहियो। त्यो जिम्मा संविधानले संघीय सरकारलाई दिएको छ’, उनले भने, ‘संघीय सरकार एयरपोर्ट, रेल, जहाज र राजमार्गमा लागेको छ। यो सरकारले अधिकारको बाँडफाँट, कमर्चारी र वित्तीय स्रोत व्यवस्थापन गर्नुपर्छ नत्र विकासको ढोका खुल्दैन।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.