सरकारी निर्णयप्रति निर्मलाका अभिभावक असन्तुष्ट
महेन्द्रनगर : निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन महिनापछि गृह मन्त्रालयले एसपी दिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई बर्खास्त गरे पनि निर्मलाका अभिभावकले असन्तुष्टि जनाएका छन्। छानबिनमा लापरवाही गरेको आरोपमा बर्खास्तीमा परेका एसपी विष्ट र इन्स्पेक्टर भट्टलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरिएकोमा उनीहरूले असन्तुष्टि जनाएका हुन्। ‘प्रहरीलाई बर्खास्त गरेर मात्रै पुग्दैन’, निर्मलाका बुवा यज्ञराज पन्तले भने, ‘हाम्रो चाहना छोरीको हत्यारा पक्राउ परुन् र न्याय पाइयोस् भन्ने हो।’
छोरीको बलात्कारपछि हत्या गर्ने अपराधी पक्राउ नपरेसम्म न्याय नपाउने भन्दै उनले तत्काल हत्यारा पक्राउ गर्न माग गरेका छन्। ‘अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले लापरवाही गरेको प्रस्ट देखिएको छ’, उनले भने, ‘तर २ जनालाई बर्खास्त गरेर पीडित र स्थानीयको आँखा छल्ने काम हुँदै छ।’ दिलीपसिंह विष्टलाई जबर्जस्ती अपराधी बनाउने, चक्रदेव बडु, हेमन्ती भट्टलगायतलाई यातना दिने डीएसपी अंगुर जीसीलगायत अन्य प्रहरीलाई संरक्षण गरिएकामा पनि निर्मलाका बाबु यज्ञराजले प्रश्न गरेका छन्।
निर्मलाकी आमा दुर्गादेवीले २ जनालाई मात्रै बर्खास्त गरेर न्याय नपाइने बताइन्। ‘हामीले कसैलाई बर्खास्ती गर, जागिरबाट हटाऊ भनेका छैनौं’, उनले भनिन्, ‘छोरीको बलात्कारपछि हत्या गर्ने र हत्यारालाई जोगाउन खोज्नेलाई कारबाही हुनुपर्छ।’ अनुसन्धानमा भइरहेको ढिलासुस्तीले न्याय पाउनेमा शंका गरेकी छन्। ‘घटना भएदेखि अनेकौं नाटक भइरहेका छन्। हत्यारा पक्राउ गरी कारबाही गर्नुभन्दा सरकारले अन्य नाटक गरिरहेको छ’, यज्ञराजले भने, ‘छोरीका हत्यारा पक्राउ नपर्दासम्म न्यायको लडाइँ जारी राख्छौं।’
उच्चस्तरीय छानबिन समितिसहितका अन्य समितिको प्रतिवेदनले अनुसन्धानमा खटिएका प्रहरी कर्मचारी र बम दिदी बहिनीमाथि पुनः अनुसन्धान गर्नुपर्ने देखाएकाले सरकार त्यसतर्फ गम्भीर हुनुपर्ने यज्ञराजको भनाइ छ। सरकारले हत्यारा पक्राउ गरेर पीडित परिवारलाई न्याय दिनुको साटो केही प्रहरी कर्मचारीलाई बर्खास्त र केहीलाई संरक्षण गरेर हेलचेक्र्याइँ गरेको अधिकारकर्मीको आरोप छ।
‘एसपी र इन्स्पेक्टरलाई बर्खास्ती त गर्यो तर उनीहरूलाई भविष्यमा अयोेग्य नठहरिने गरी बर्खास्त गरेर सरकारले आँखा छल्ने काम गरेको छ’, अधिकारकर्मी प्रीतिधर भण्डारीले प्रश्न गरिन्, ‘प्रहरीले अनुसन्धानमा लापरबाही गरेको र प्रमाण नष्ट गरेको सरकारले बताइसकेपछि उनीहरूलाई पक्राउ गरेर किन अनुसन्धान नथालेको ? ’
निर्मलाको बलात्कार र हत्या प्रकरणमा सरकार गम्भीर नबन्दा हत्यारा पत्ता लाग्न नसकेको उनी बताउँछिन्। उनले निर्मलाको बलात्कार र हत्या घटनाको अनुसन्धानमा गम्भीर लापरबाही गर्ने अन्य प्रहरी कर्मचारीलाई उन्मुक्ति दिने काम भएको दाबी गरिन्।तीन महिनासम्म अनुसन्धानमा संलग्न प्रहरी भने अनुसन्धान जारी रहेको बताउँछन्। ‘हामीले अनुसन्धान छाडेका छैनौं, निरन्तर सिरियस भएर घटनाको अनुसन्धानमा खटेका छौं’, कञ्चनपुरका एसपी कुबेर कडायतले भने, ‘अहिलेसम्म हत्याराका सम्बन्धमा यथेष्ट प्रमाण फेला पार्न सकिएको छैन।’ उनले अनुसन्धान थुप्रै कोणबाट भइरहेको बताए। प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरोदेखि जिल्ला प्रहरी कार्यालयसम्मका प्रहरी अधिकृत अनुसन्धानमा खटिए पनि निर्मला हत्याको ठोस प्रमाण फेला पार्न सकेका छैनन्।
तत्कालीन जिल्ला प्रहरी प्रमुख (हाल बर्खास्त) एसपी दिल्लीराज विष्ट, उनका छोरा किरण, अर्का युवक आयुष विष्ट, प्रहरीले मुख्य अभियुक्त बनाएका दिलीप सिंह विष्ट र अर्का युवक चक्रदेव बडुसहित ५ जनाको अनुसन्धानका क्रममा डीएनएसमेत परीक्षण भइसकेको छ। तैपनि, प्रहरी घटनाको सत्यतथ्य बाहिर ल्याउन सफल हुन सकेको छैन। साउन १० गते साथी रोशनी बमको घरमा गृहकार्य गर्न गएकी भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको साउन ११ गते उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो।
प्रतिक्रिया दिनुहोस !