चेपाङको स्वास्थ्यमा मिस नेपालको चासो

चेपाङको स्वास्थ्यमा मिस नेपालको चासो

हेटौंडा : मिस नेपाल २०१८ शृंखला खतिवडा शुक्रबार विपन्न चेपाङको स्वास्थ्य परीक्षणमा खटिइन्। स्वास्थ्य परीक्षण र उपचारमा खटिएका डाक्टर तथा नर्ससँगै उनी बिरामीको स्वास्थ्य अवस्था बुझ्दै उपचारमा सहयोग गर्दै थिइन्।

खतिवडाको पहलमा मकवानपुरको विकट कैलाश गाउँपालिका—७ ताम्लाङमा भएको शिविरमा दुई सय ७० जनाले स्वास्थ्य उपचार गराए। तीमध्ये धेरैजस्तो महिला थिए। स्वास्थ्यचौकीको पहुँचबाहिर रहेको ताम्लाङमा कैलाश र राक्सिराङ गाउँपालिकाका विपन्न चेपाङ र तामाङले स्वास्थ्य परीक्षणसँगै निःशुल्क औषधि पनि पाए।

लामो समयदेखि पेटको समस्याले पीडित ६७ वर्षीय देउती चेपाङ स्वास्थ्य उपचारसँगै औषधि पाएपछि खुसी देखिन्थे। उनको खुसीमा मिस नेपाल खतिवडाको पनि खुसी थपिएको थियो। खतिवडाको पहलमा भएको स्वास्थ्य शिविरमा भरतपुर आँखा अस्पताल, मकवानपुर सहकारी अस्पताल, चुरेहिल अस्पताल हेटौंडा र लायन्स क्लब अफ नारायणी मल हेटौंडाले सहयोग गरेको थियो।

कलाकारिताको रंगीन दुनियाँ बाहिर समाजसेवामा क्रियाशील खतिवडाले ताम्लाङमै करिब ५५ लाख रुपैयाँको लागतमा स्वाथ्यचौकी भवन निर्माण गरिरहेकी छन्। उनी आफैंले विभिन्न क्षेत्रबाट सहयोग जुटाएर भवन निर्माण थालेकी हुन्। ‘दुई महिनाभित्र भवन निर्माण सम्पन्न हुन्छ, यहाँ स्वास्थ्यकर्मीको दरबन्दी कायम गरी नियमित स्वास्थ्यचौकी सञ्चालनको पहल भइरहेको छ’, कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले भने।

पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी बजारबाट करिब सात घन्टा पैदल दूरीमा रहेको ताम्लाङमा स्वास्थ्यचौकी निर्माणमा जुटेकी मिस नेपाल खतिवडा भन्छिन्, ‘म कलाकारिता क्षेत्रमा प्रवेश गर्दिनँ, समाजसेवालाई नै निरन्तरता दिन्छु।’

आर्किटेक्टको विद्यार्थी भएकाले उक्त पेसामै अघि बढ्ने सोचमा रहेकी खतिवडा आफ्नो पृष्ठभूमि फरक रहेकाले कलाकारिता रोजाइमा नपरेको बताइन्। हजुरबुवा, बुवा र आमा नै सक्रिय राजनीतिमा रहे पनि उनले राजनीतिलाई आफूभन्दा पर राखेकी छन्। उनका बुवा विरोध खतिवडा प्रतिनिधिसभा र आमा मुनु सिग्देल प्रदेशसभा सदस्य हुन्।

मिस वल्र्डको तयारीमा रहेकी खतिवडाले विश्वसामु नेपाललाई फरक ढंगले चिनाउने तयारी गरिरहेको बताइन्। ‘मिस वल्र्ड बन्ने मेरो सपना हो, तयारी पनि राम्रो गरिरहेको छु, हेरौं राम्रो होला’, उनले भनिन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.