ओबामालाई बम पठाएको आरोपमा एक पक्राउ
पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा, बिल तथा हिलारी क्लिन्टनलगायतका व्यक्तिहरुलाई बम पठाएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। दक्षिणी फ्लोरिडाबाट सिजार सायोक नामक व्यक्तिलाई बम प्रकरणमा पक्राउ गरिएको हो। उनी राष्ट्रपति डोनाल्ड ट्रम्पका कट्टर समर्थक तथा आपराधिक पृष्ठभूमिका व्यक्ति रहेको बताइएको छ।
यो साता कम्तीमा १४ ओटा विस्फोटक पदार्थ विभिन्न व्यक्तिलाई पठाइएपछि अमेरिकामा व्यापक सुरक्षा चासो उत्पन्न भएको छ। ती बम प्रायःजसो ट्रम्पका आलोचकहरुलाई लक्षित गरी पठाइएको छ।
यस्तो बम सबैभन्दा पहिले सोमबार जर्ज सोरोसको न्युयोर्कस्थित घरको पत्रमञ्जुषामा फेला परेको थियो। अर्बपति तथा डेमोक्र्याट चन्दादातापछि ओबामा र क्लिन्टनलाई बम पठाइएको थियो। त्यसैगरी पूर्व उपराष्ट्रपति जो बाइदेन, पूर्व महान्यायधिवक्ता एरिक होल्डर, पूर्व सीआईए निर्देशक जोन ब्रेननलाई पनि बम पठाइएको थियो। त्यस्तै ओस्कार विजेता अभिनेता रोबर्ट डि निरोको सिएनएनको कार्यालयमा त्यस्ता विस्फोटक पदार्थ फेला परेका थिए। अर्बपति टम स्टेयरलाई पठाइएको सोही प्रकृतिको पोको बरामद गरिएको छ भने डेमोक्र्याट सिनेटर कमला ह्यारिसलाई पनि त्यस्तै बम पठाइएको छ।
५६ वर्षीय सायोक मियामीका बासिन्दा भएको बताइएको छ। उनी एक बुकिङ एजेन्टका रुपमा कार्यरत थिए। विगतमा उनी रेस्लर रहेको पनि बताइएको छ।
मियामीमै सन् २००२ मा बम विस्फोटको धम्की दिएका कारण सायोक पक्राउ परेका थिए। त्यसअघि १९९१ मा चोरीको आरोपमा उनी पक्राउ परेका थिए।
सायोकमाथि पाँच आरोपमा मुद्धा दर्ता गरिएको महान्यायधिवक्ता जेफ सेसनले पत्रकार सम्मेलनमा बताए। म्यानहटनस्थितत संघीय अदालतमा उनीविरुद्ध मुद्धा दर्ता गरिएको छ।
महान्यायधिवक्ता सेसनले दलीय आक्रोशका कारण बम आक्रमणको प्रयास भएको हुनसक्ने बताए।
ट्रम्पविरोधी हाइप्रोफाइल व्यक्तिविरुद्ध आक्रमणको प्रयास भएपछि ट्रम्पको घृणाजनक राजनीतिको चर्को आलोचना भएको छ। ट्रम्पले आक्रमण प्रयासको निन्दा गरेका छन्। उनले आक्रमणमा जिम्मेवारलाई कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। ह्वाइट हाउसमा बोल्दै ट्रम्पले अनुसन्धानकर्ताहरुको ‘अतुलनीय कार्य’ को प्रशंसा पनि गरे।
अमेरिकामा मध्यावधि निर्वाचनभन्दा दुई साताअघि यस्तो घटना भएको हो। यसले निर्वाचनमा रिपब्लिकन पार्टीलाई क्षति पुग्ने चिन्ता पनि ट्रम्पले व्यक्त गरे।