६० बिघामा सिँचाइ सुविधा
बेंगाडाबर : खेतमा सिँचाइ गर्न पाइने भएपछि धनुषाको मिथिला–९ बेंगाडाबरका रमेश महतो दंग परेका छन्। अकासे पानीका भरमा उनले खेती गर्दै आएका थिए। उनले धानमा गरेको लगानी पानी नपरेपछि डुबेको थियो। तर, अब दुःखका दिन गएको उनको भनाइ छ। ‘दुःखका दिन गए’, उनले भने, ‘किसानको हातमै पानी भयो। अब मज्जाले खेती गरिन्छ।’
उनीजस्ता ५ सय ६० किसानको खेतमा अब बाह्रै महिना सिँचाइ हुने भएको छ। कृषि यान्त्रिक प्रवद्र्धन केन्द्र नक्टाझिज धनुषाको आर्थिक तथा प्राविधिक सहयोगमा यहाँका किसानको खेतमै सिँचाइको व्यवस्था भएको हो। ६० बिघा जमिनमा सिँचाइका लागि ५१ लाख लागतमा डिप ट्युबवेल निर्माण गरिएको छ।
खेतमै सिँचाइको सुविधा पाउँदा खुसी लागेको किसान रामकुमार सिंहको भनाइ छ। ‘किसानको जीवनमा सुःखको दिन आयो’, उनले भने। उनका अनुसार रातु खोलाको पानीले मुस्किलले एक धानबाली हुन्थ्यो। अब वर्षभरि धान, गहुँ, तरकारी बाली लगाउन सकिने उनको भनाइ छ।
बेंगाडाबरमा स्रोतसँगै खानेपानी अभाव छ। सिँचाइ गर्न डिप ट्युबवेल सफल हुनेमा आशंका गरिएको थियो। जोखिम मोलेर उपभोक्ता समितिले डिप ट्युबवेल गाडेको जनाइएको छ। ‘बेंगाडाबरमा यसअघि डिप ट्युबवेल गाडिएको थिएन’, मिथिला डिप ट्युबवेलको जल प्रबन्ध समितिका अध्यक्ष राजेश्वर सिंहले भने, ‘ट्युबवेल सफल नभए लगानी डुब्ला कि भन्ने डर थियो। कसैले लगानी गर्न खोज्दैनथे। हाम्रो ट्युबवेल सफल भएसँगै बेंगाडाबरमा अब खेत–खेतमा ट्युबवेल गाड्ने बाटो खुलेको छ।’ खानेपानीको जोहो गर्न रातमा पालो पर्खिने बेंगाडाबरवासीका लागि डिप ट्युबवेल सफल भएसँगै नयाँ चमत्कार भएको अध्यक्ष सिंहले जनाए।
ट्युबवेल निर्माण गर्न २२ लाख लागतमा १ सय ८० मिटर तल मेसिनले ड्रिल गरिएको छ। त्यसमा ८ लाख लागतमा विद्युतीय मोटर खसालिएको छ। ७ लाख खर्चिएर विद्युतीय ट्रासफर्मर जडान गरी आधुनिक तरिकाले सिँचाइको प्रबन्ध मिलाइएको जनाइएको छ। कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रका प्रमुख रतनकुमार पुर्वेका अनुसार डिप ट्युबवेल परीक्षणका क्रममा प्रतिसेकेन्ड १५ लिटर पानी आएको छ। प्रतिघण्टा कम्तीमा तीन कट्ठा खेतमा सिँचाइ हुने उनले सुनाए।
खेत—खेतमा पानी पुर्याउन आधुनिक तरिकाले पाइप बिच्छ्याइएको छ। आलीनजिकै राखिएको पाइपमा आवश्यकताअनुसार चेकभल जडान गरिएको छ। किसानले चाहिएको ठाउँमा चेकभल खोलेर सिँचाइका लागि पानी लान सक्ने जनाइएको छ।
डिप ट्युबवेल निर्माण गर्न केन्द्र, प्रदेश सांसद शत्रुघन महतो, मिथिला नगरपालिका र उपभोक्ता समितिले संयुक्त रूपमा लगानी गरेका हुन्। प्रदेश सांसद महतो र मेयर हरिनारायण महतोले स्विच थिचेर डिप ट्युबवेल उद्घाटन गरे। स्थानीय अमलेश्वर सिंहले सिँचाइका लागि पहल गरेका थिए।
‘किसानको हातमा पानी थिएन। बाध्य भएर उखु खेती गर्नुपरेको थियो’, किसान महतोले भने, ‘हामीले दुई वर्षअघि चिनी मिललाई दिएको उखुको भुक्तानी पाएका छैनौं।’ उखु खेती गर्नुपर्ने बाध्यता हटेको उनले सुनाए।
तत्कालीन कृषि विकास योजनाको आर्थिक तथा प्राविधक सहयोगमा महोत्तरीमा २९, धनुषामा १७०, सर्लाहीमा ३२ र सिरहामा २३ गरी डिप बोरिङ निर्माण गरिएका थिए। तर, अहिले सबै बोरिङ बन्द छन्। बोरिङ सञ्चालनमा आए चार जिल्लाका २० हजार ३ सय २० बिघा खेतमा सिँचाइ पुग्ने केन्द्रका मेकानिकल इन्जिनियर हरिनारायण यादवले बताए।
मिथिलाका मेयर महतोले सिँचाइको व्यवस्थाका लागि इनार, बोरिङ निर्माण गर्न बजेट विनियोजन गरिएको जानकारी दिए। भने, ‘गत आर्थिक वर्षमा १ करोड लागतमा खानेपानी र सिँचाइका लागि ५५ वटा इनार र ५ वटा बोरिङ निर्माण गरेका छौं।’ चालू बजेटमा पनि सिँचाइलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको उनको भनाइ छ।
चुरे आसपासका किसानलाई खेती गर्नु फलामे चिउरा चपाउनुजस्तै रहेको प्रदेश सांसद महतोले बताए। ‘मधेसलाई स्वर्ग बनाउने हो भने किसानलाई पहिलो प्राथमिकता दिनुपर्छ’, उनले भने, ‘पुराना जीर्ण बोरिङ मर्मत गरी डिजेल इन्जिन हटाएर विद्युतीय पम्प जडान गर्नुपर्छ।’