कहिले बन्लान् दर्जन पुल ?

कहिले बन्लान् दर्जन पुल ?

गौर : ठेक्का सम्झौताअनुसार रौतहटमा पुल निर्माण भएका छैनन्। चादी, भकुवा, बागमती, झाझ र लालबकैया नदीमा निर्माणाधीन दर्जन पुल अलपत्र छन्। कतिपय पुलको सम्झौता अवधि घर्किंदासम्म काम आधा पनि हुन सकेको छैन। भकुवा नदीमा २०७४ मंसिरमा पुल बनिसक्नुपथ्र्यो तर पिलरको जग राख्ने काम मात्र भएको छ।

बिटी टौदह म्यागलुङ कम्पनीले २०६९ जेठमा २ करोड ४९ लाखमा पुल निर्माणको ठेक्का पाएको थियो। झाझ नदीमा ०७४ असारमा पुल निर्माण सम्पन्न हुनुपर्नेमा १० प्रतिशत मात्र काम भएको छ। निलगिरि नेसनल क्यानोन कम्पनीले ०७१ असारमा ५ करोड ५३ लाखमा ठेक्का सकारेको थियो।

जिल्ला प्रशासन कार्यालयले गत आर्थिक वर्षको अन्त्यमा गृह मन्त्रालयलाई पठाएको प्रगति विवरणमा सम्झौता अवधिमा कुनै पनि पुल निर्माण सम्पन्न नभएको उल्लेख छ। विवादित पप्पु कन्स्ट्रक्सन पर्साले लालबकैया नदीको टिकुलिया घाटको पुल सम्झौता अवधि सकिएको एक वर्ष नाघिसक्दा पनि बनाएको छैन। पुलको काम ६० प्रतिशत मात्र सकिएको छ। पुल निर्माणका लागि पप्पुले १९ करोड ५ लाखमा ठेक्का पाएको थियो।

झाझ नदीमा निर्माण हुँदै गरेको राजपुरतुल्सी पिपरा पुलको अवस्था पनि उस्तै छ। ०७१ असार २९ गते सम्झौता भई ०७४ असार २१ मा निर्माण सक्नुपर्ने पुुलको काम १५ प्रतिशत मात्रै सकिएको जनाइएको छ। गत आर्थिक वर्षदेखि निर्माणको कामसमेत रोकिएको छ। मृतसञ्जीवनी निर्माण कम्पनीले ५ करोड ६७ लाखमा पुलको ठेक्का पाएको थियो।

विश्रामपुर र हजरिया जोड्ने चादी खोला पुलको काम पनि सुस्त छ। यही कात्तिक ३० गते सक्नुपर्ने पुलको काम २५ प्रतिशत मात्रै सकिएको छ। सपना निर्माण सेवाले ०७३ असारमा १० करोड ३४ लाखमा पुल निर्माणको ठेक्का पाएको थियो।

हुलाकी सडकअन्तर्गत रौतहट र सर्लाही जोड्ने बागमती नदीमा अलपत्र बडेर्वा पुल। 

तराई–मधेस हुलाकी सडकअन्तर्गत रौतहट र सर्लाही जोड्ने बडेर्वास्थित बागमती नदीमा निर्माणाधीन पुल पनि वर्षौंदेखि अलपत्र छ। हुलाकी सडक आयोजनाअन्तर्गत ०६७ सालमा लुम्बिनी बिल्डर्सको नाममा पप्पु कन्स्ट्रक्सनले पुलको ठेक्का पाएको थियो। १८ वटा पिलर उठाएपछि निर्माण कम्पनीले काम छाडेको छ। ३५ करोड ९० लाखमा पुल निर्माणको ठेक्का सम्झौता भएको थियो। ०६७ जेठमा सम्झौता भएको पुल ६ सय ३४ मिटर लामो रहने जनाइएको छ। पुल ०७० जेठमा सक्नुपर्ने सम्झौता थियो।

यस्तै समनपुरबाट सर्लाही जोड्ने बागमतीको पुल निर्माण कार्यले गति लिएको छैन। पुल निर्माणका लागि एलाइट निर्माण सेवाले ठेक्का पाएको थियो। चन्द्रपुर नगरपालिकाको गैंडाटारस्थित चादी नदीको पुल पनि सम्झौता अवधि सकिन लाग्दा पिलर राख्ने काम मात्र सकिएको छ। समयमै डिजाइन स्टिमेट उपलब्ध नहुनु, रकम निकासा नहुनु, निर्माण सामग्री नपाइनुजस्ता कारण देखाई तोकिएको मितिमा पुल निर्माण हुन नसकेको जनाइएको छ।

बन्द, हडताल, निर्माण सामग्री अभाव, चुनाव, वर्षालगायत कारण देखाउँदै निर्माण कम्पनीले म्याद थपका लागि निवेदन दिने गरेको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ। सम्झौता अवधिमा काम नसक्ने निर्माण कम्पनीको म्याद पटक–पटक थप हुँदै आएको पाइन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.