भैंसी ब्याउँदा भत्ता
बागलुङ : ताराखोला गाउँपालिकाले स्थानीय जातका पाडापाडी जोगाउन अभियान थालेको छ। शहरी बसाइसराइ, सुखसयल र विलासिताको जिवन जिउने परिपाटीले गाउँघरमा भैंसी पाल्न छोड्ने क्रम तीव्र भएपछि गाउँपालिकाले यस्तो अभियान थालेको हो। भैंसी पालनका लागि पर्याप्त चरन र उपर्युक्त वातावरणका कारण ताराखोला गाउँपालिलकाका सबै गाउँमा भैंसी पाल्नेको संख्या उल्लेख रहेपनि पछिल्लो समय भैसी पाल्ने क्रम घट्दो छ।
किसानहरु एकातिर पहिलेको जस्तो दुख नगर्ने र अर्को तर्फ दूधको लोभमा पाडापाडी पाल्न अग्रसर हुँदैनन्। यसै कारण स्थानीय जातका भैंसीले पाडापाडी पाएपछि त्यसको संरक्षण गर्नेलाई गाउँपालिकाको तर्फबाट १ हजार रुपैयाँ भत्ता दिन थालिएको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए। ‘गाउँघरमा भैंसीपालनमा निकै कमी आएको छ, पाडा पाउन साथ काटिखान दिने चलन तीव्र बनेको छ,’ अध्यक्ष घर्तीले भने, ‘यही अवस्था विद्यमान रहे स्थानीय जातका भैसी, गाउँघरको पोषिलो दूध पाउने अवस्था दुर्लभ बन्न सक्ने भएकाले हामीले भैंसी पालनलाई प्रोत्साहित गर्न यो अभियान थालेका हाैं।’
भैसी ब्याएपछि दिइने रकम जे जति भए पनि यसको सन्देश र मर्मबाट भैंसी पालनमा स्थानीयलाई थप आकर्षित गर्न सकिने गाउँपालिकाको विश्वास छ। ताराखोला क्षेत्रमा पालिने लिमे पाराकोटी जातका भैंसीबाट राम्रो दूध उत्पादन लिन सकिन्छ। तर पछिल्लो समयमा भैंसी ब्याउन साथ पाडाका साथै पाडी पनि नपाल्ने अवस्था देखिएको स्थानीय संगम घर्ती मगरले बताए।
भैंसीको सुत्केरी भत्ता प्राप्त गर्न किसानले आफ्नो भैसी सुत्केरी भएपछि जन्मिएका पाडापाडी हुर्काउने विश्वास गाउँपालिकालाई दिलाउनुपर्छ। गाउँपालिकाले भैंसी सुत्केरी भएको छ महिनासम्म स्थानीय किसानले पाडापाडी पालेका छन् छैनन अनुसन्धान गरेर एक हजार रुपैयाँ सुत्केरी भत्ताको व्यवस्था गरिएको छ। अहिले गाउँमा कति सुत्केरी भैसी छन् भन्ने विषयमा वडागत रुपमा लगत संकलन भइरहेकाले यस वर्ष एक हजार भैसीलाई सुत्केरी भत्ता वितरण गर्ने लक्ष्य गाउँपालिकाले राखेको छ।
यसका लागि चालु आर्थिक वर्षमा गाउँपालिकाले दुई लाख रुपैयाँ बजेट विनियोजन गरेर भैंसी सुत्केरी भत्ताको व्यवस्था सुरु गरिएको गाउँपालिका उपाध्यक्ष दिलकुमारी पुनले बताइन्। ताराखोलाका तारा, हिल, अर्गल, अमरभूमीमा स्थानीय लिमेपाराकोटे जातका भैसीको संख्या अत्याधिक भएपनि स्थानीय किसानहरु एउटा भैसीको उत्पादनमै रमाउने गरेकाले त्यसलाई अन्त्य गर्न अभियानले टेवा पुग्ने पुनको विश्वास छ।
प्रतिक्रिया दिनुहोस !