प्याराग्लाइडिङ विश्वकपको तयारी अन्तिम चरणमा

प्याराग्लाइडिङ विश्वकपको तयारी अन्तिम चरणमा

स्याङ्जा : प्याराग्लाइडिङ विश्वकप प्रतियोगिता गर्ने अवसर पाएको स्याङ्जाले तयारी तीव्र पारेको छ। ‘फस्र्ट नेपाल प्याराग्लाइडिङ एक्युरेसी विश्वकप २०१८’ प्रतियोगिता सुरु हुन दुई दिन मात्र बाँकी रहँदा खेलाडी र पाहुनाका लागि आवश्यक सबै तयारी अन्तिम चरणमा पुगेको छ। नेपालमै पहिलो पटक हुन लागेको विश्वकपका लागि भीरकोट नगरपालिका– ५ स्वरेक मैदान तयार पारिएको छ।

सन् २०२० नेपाल भ्रमण वर्षमा साहसिक खेलमा वृद्धि गर्नुका साथै आँधीखोला भ्यालीलाई हवाई रंगशाला बनाई अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्नु नै विश्वकप आयोजनाको मुख्य उद्देश्य रहेको आयोजक समितिका सदस्य अनन्तकुमार श्रेष्ठले जानकारी दिए। नेपाल प्याराग्लाइडिङ ह्याङग्लाइडिङ संघ, नेपाल हवाई खेलकुद संघ र बाबु एड्भेन्चर क्लब भीरकोटको संयुक्त आयोजनामा विश्वकप हुन लागेको हो।

विश्वकप प्रतियोगिता व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्न जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दासको संयोजकत्वमा मूल व्यवस्थापन समिति, सल्लाहकार समिति र विभिन्न जिम्मेवारीसहितका समिति गठन गरिएको छ।

युरोप र एसियाका महिला तथा पुरुष सहभागी हुने प्याराग्लाइडिङ एक्युरेसी विधामा विश्वकप हुँदैछ। पुरुष एकल, महिला एकल, पुरुष समूह र महिला समूह गरी चार विधामा प्रतियोगिता हुनेछ। ‘लन्च मार्सलको निर्देशनअनुसार सुरक्षित तरिकाबाट टेकअफ गरी निश्चित तोकिएको ठाउँमा सबैभन्दा उत्कृष्ट अवतरण गर्ने विधा एक्युरेसी हो’ निर्देशक कृष्णजंग केसीले भने।

प्रतियोगितामा बेलायत, फ्रान्स, इन्डोनेसिया, भारत, अमेरिका, अस्ट्रिया स्पेन, स्विट्जरल्यान्ड, अस्ट्रेलिया, कोरिया, क्यानडा, जापानलगायत २० राष्ट्रका ९४ प्याराग्लाइडरबीच प्रतिस्पर्धा हुने विश्वकपका परियोजनाकार सानुबाबु सुनुवारले जानकारी दिए।

कात्तिक १५ देखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा एक करोड ७७ लाख खर्च हुने अनुमान गरिएको छ। विजेतालाई चारवटा विश्वकप ट्रफी प्रदान गरिने छ। एकलतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः एक हजार, सात सय ५० र पाँच सय युरो पाउनेछन्। यसैगरी, समूहतर्फका विजेताले एक हजार पाँच सय, उपविजेताले एक हजार दुई सय र तेस्रो हुने टोलीले एक हजार युरो पाउनेछन्।

भीरकोट नगरपालिका–५ स्वरेक मेैदानमा गत वर्ष पहिलो अन्तर्राष्ट्रिय खुला प्याराग्लाइडिङ प्रतियोगिता सम्पन्न भएको थियो। प्रतियोगिताका लागि भीरकोट नगरपालिकाको मैदानमा उद्घाटन हुने र वालिङ नगरपालिका–११ डौवा फाँटमा अवतरण गरिने भएको छ। आँधीखोला भ्यालीलाई हवाई रंगशाला (एभियसन जोन) को निर्णय भएसँगै प्याराग्लाइडिङ क्षेत्र र खेलाडी विस्तारसहित नगरपालिका अघि बढेको वालिङ नगरप्रमुख दीलिपप्रताप खाँणले बताए।

‘पर्यटकीय क्षेत्रको धेरै सम्भावना रहेको गण्डकी प्रदेशको स्याङ्जालाई अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउने यस्ता अवसरलाई सही सदुपयोग गर्न र प्रतियोगिता सम्पन्न गर्न सबै किसिमका सहयोग गर्न नगरपालिका तयार छ’, भीरकोट नगरप्रमुख छायाराम खनाल भने।

सिद्धार्थ राजमार्गसँगै रहेको भीरकोट नगरपालिका–१ बयरघारी बजारदेखि करिब आठ किलोमिटरको यात्रापछि स्वरेक मैदान पुग्न सकिन्छ। स्याङ्जा सदरमुकामदेखि बयरघारीसम्मका लागि १८ किलोमिटर र पोखराको पृथ्वीचोकदेखि स्याङ्जा सदरमुकाम पुग्नका लागि ३३ किलोमिटरको दूरी पार गर्नुपर्दछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.