देउसिरे होइन, वाइफार्इ !

देउसिरे होइन, वाइफार्इ !

काठमाडौं  : तिहार रङ, फूल, बत्ती र देउसीभैलोको पर्व । पहिले मादल ठोकेर, लेघ्रो तानीतानी भट्याउँदै देउसी खेल्ने चलन थियो । तर नयाँ प्रविधि र बदलिँदो जीवनशैलीले देउसी खेल्ने तरिका पनि फेरिएको छ । बलिराजाको अनुमति लिएर आएको जानकारी अब भट्याउनेले दिँदैनन् । बरु लाउडस्पिकरमा गीत घन्काउँदै आउँछन् । ढोकामा आइनपुग्दै सोध्छन्, ‘हजुर, वाइफाइको पासवर्ड के हो? ’

सहरमा त मुखले भट्याउने चलन नै हराइसक्यो । रेकर्डेड देउसीभैलो सुनाइन्छ । ‘पंक’ फेसनमा सजिएका युवायुवती भड्किला अंग्रेजी गीत बजाएर नाच्छन् । आपसमा हाँसखेल, रमाइलो र ठट्टा गर्ने बानी छुट्दै गएको छ । इन्टरनेटमा उपलब्ध सामग्रीले आत्मीयता खोसेको छ । पुस्तान्तरणसँगै चाडबाड मनाउने शैली पनि बदलिएको छ । यसलाई स्वाभाविक रूपमा हेर्नुपर्ने संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग बताउँछन् । ‘समाजलाई विविध पक्षले प्रभाव पारेको हुन्छ । विज्ञानप्रविधिमा भएको चामत्कारिक विकासले नयाँ पुस्तालाई प्रभावित गरेको छ । त्यसैको परिणाम अहिले देखिएको हो ।’

अचेल देउसीभैलोको महत्व खेल्नेले नै भेउ पाउँदैनन् । आशीर्वाद दिँदाको शब्दभाव, लय, शैली र बजाइने बाजागाजा लोपजस्तै भइसकेका छन् । ८४ वर्षीय ग्वंग भन्छन्, ‘परम्परा र शैली सांस्कृतिक परम्परावादबाट सांस्कृतिक गतिशीलतामा रूपान्तरण भएको छ ।’ प्रविधि मात्र होइन, सामाजिक, आर्थिक, शैक्षिक र राजनीतिक पक्षले पनि नयाँ पुस्तालाई मनोवैज्ञानिक प्रभाव पारेको उनी बताउँछन् ।

‘बलि राजाले पठाएको’ भन्दै देउसेले भट्याउनुमा पौराणिक किंवदन्ती छ । ग्वंगका अनुसार भगवान् विष्णुका भक्त प्रल्हादका नाति हुन्, बलि राजा । तीनै लोक जितेपछि दानवकुलमा जन्मिएका बलिमा अहंकार पैदा भयो । उनी महादानी थिए । उनको ख्याति र शक्ति बढ्दै जाँदा देउतालाई पनि असह्य भयो । देउताले गुहारेपछि भगवान् विष्णुले वामन अवतार लिए र छलपूर्वक तीन पाइला जमिन दान मागे । त्यो तीन पाइलामा स्वर्ग र मत्र्य मात्रै होइन, बलि राजा समेत रसातलमा भासिए । विस्थापित तिनै बलिको पुनर्वासका लागि उनको अनुमति लिएर जनताले घरघरमा गएर भन्न थाले, ‘देही        श्री अर्थात् धन दिनुहोस् !’ यही शब्द पछि लोकलयमा रुपान्तरित हुँदै देउसिरे भएको मानिन्छ ।

संस्कृतिविद् सत्यमोहन जोशी देउसीभैलो खेल्ने र आशीर्वाद दिने शैली फेरिँदै गएको स्वीकार्छन् । तर विकृति भित्रिएको भन्ने आरोपसँग उनी असहमत छन् । ‘शैली फरक भएको हो । सोच उही नै छ,’ उनी भन्छन् ।

तिहारलाई दाजुभाइ–दिदीबहिनीबीच मात्र होइन, छिमेकीसँगको सम्बन्धमा समेत न्यानोपन ल्याउने चाडका रूपमा लिइन्छ । तर मोबाइलमा झुन्डिने र इन्टरनेटमा मात्र रम्नेलाई यसको वास्ता हुँदैन । यो समस्याबाट किशोरकिशोरी बढी प्रभावित छन् । ‘छरछिमेक र दाजुभाइ–दिदीबहिनीबीच भएका मनमुटाव सुल्झाउने उचित समय हो यो । तर यसबेला पनि वाइफाइमै ध्यान जानु राम्रो होइन,’ मुटु रोग विशेषज्ञ प्रकाशराज रेग्मी चिन्ता व्यक्त गर्छन् । ‘वाइफाइ र मोबाइल भएपछि आपसमा मीठो कुराकानी गर्ने चलन घटेको छ । आत्मीयता साटासाट समेत हुन छोडिसक्यो,’ उनी भन्छन् । भेटघाट र कुराकानीले तनाव घटाउन सहयोग पुग्ने बताउँछन् डा. रेग्मी । थप्छन्, ‘देउसीभैलो खेल्दा होस् वा भाइटीकाको बेला, मोबाइल बन्द गर्नु उपयुक्त होजस्तो लाग्छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.