पञ्चासेमा स्थानीयलाई सेयर
कुश्मा : पर्वत, कास्की र स्याङ्जाको संगम पर्यटकीय एवं धार्मिकस्थल पञ्चासेमा केबलकार निर्माण हुने भएको छ। पञ्चासे पुग्न पोखरा महानगरपालिका २३ घाँटीछिनाबाट केबलकार निर्माण हुन लागेको हो। दुई हजार पाँच सय १७ मिटरको उचाइमा रहेको पञ्चासे पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि पञ्चासे टुर्स एन्ड ट्राभल कम्पनी, बन्दीपुर केबलकार प्रालि र आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्सन लिमिटेडले केबलकार निर्माणको प्रक्रिया अघि बढाएको हो।
प्रदेश ४ को पर्यटकीय गन्तव्यको रूपमा विकास हुँँदै आएको पञ्चासे क्षेत्रको समग्र विकासका लागि केबलकारमा स्थानीयले तीन अर्ब रुपैयाँ सेयर पाउनेछन। घाँटीछिनाबाट पञ्चासेसम्म झन्डै ८.५ किलोमिटर दूरी रहनेछ। यसको लागत १० अर्ब रुपैयाँ अनुमान गरिएकोमा ३० प्रतिशत स्थानीयले सेयर हाल्न पाउनेछन्। पञ्चासेको प्रभावित क्षेत्र पर्वतको मोदी गाउँपालिका, कास्कीको पोखरा महानगरपालिका तथा स्याङजाको आँधीखोला गाउँपालिकाका बासिन्दाले सेयर अधिकार पाउनेछन्।
पञ्चासेमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक कास्कीको भदौरेसम्म सवारीसाधनमा र त्यहाँबाट पैदल यात्रा गरी जाने गरेका छन्। त्यस्तैगरी पर्वत तर्फबाट चित्रे वा आर्थरडाँडाखर्कसम्म सवारीसाधन र त्यसपछि तीनदेखि चार घण्टासम्म पैदल जानुपर्ने बाध्यता छ। पोखराबाट नजिकै रहेको पर्यटकीय गन्तव्य पञ्चासेको पर्यटन प्रर्वद्धन गर्न केबलकार निर्माण गर्न लागिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए।
केबलकार निर्माण गर्न विस्तृत सर्वेक्षणको कार्य भइसकेको निर्माण कम्पनीले जानकारी दिएको छ। निर्माण कम्पनीले दिएको जानकारीअनुसार पञ्चासेसम्म पुग्ने केबलकार आगामी चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए। केबलकारमा ८० वटा पोल राखिनेछ।
पञ्चासे पुग्ने पर्यटकका लागि पोखराबाट पामे हुँदै र पर्वतको कुस्माबाट आर्थर हुँदै भञ्ज्याङसम्म कच्ची सडकको सुविधा छ। पञ्चासेमा आउने पर्यटकलाई आधार बनाएर पोखरा महानगरको भदौरे, सिदाने, कुबिडाँडालगायत स्थानमा होमस्टे सञ्चालनमा छन् भने पर्वतको कुस्मा नगरपालिका १४ आर्थर डाँडाखर्क र मोदीगाउँपालिका ८ चित्रेमा पनि होमस्टे सुविधा छ।
केबलकार सञ्चालन सँगसँगै होमस्टे सञ्चालित गाउँको पर्यटन प्रवद्र्धन गर्न विभिन्न आयोजना सञ्चालित रहेको शर्माले बताए। केबलकार आयोजनाले पञ्चासे लेकभन्दा तल लिजमा जग्गा लिएर वाटर फन्ट, स्थानीय हस्तकला बिक्री केन्द्र, हेरिटेज प्लाजा, रिसोर्ट, होमस्टे, टिनएजर्सका लागि प्रेम पार्क, फुट ट्रयाक, एकैचोटी दुई हजारले ड्रिङस गर्न मिल्ने क्षमताको अल्कोहल जोन, पञ्चासे मन्दिरको जिर्णोद्वारलगायत योजना बनाएको कम्पनीले जनाएको छ।
पञ्चासेबाट आसपासको दृश्य हेर्न शैक्षिक भ्रमणमा आउनेको संख्या बढेको छ। पर्वत, स्याङजा, पोखरा, चितवन काठमाडौंलगायत जिल्लादेखि शैक्षिक भ्रमणमा विद्यार्थी शिक्षक आउने गरेका छन्। पर्याप्त होटल र पसल नहुँदा भने घुम्न आउने पर्यटकले समस्या झेल्ने गरेका छन्।
यसैबीच पर्वतका मोदी गाउँपालिकामा पर्ने पञ्चासे क्षेत्रमा निर्माण हुन लागेको केबलकार परियोजनाबारे मोदी–८ चित्रेमा स्थानीयसँग छलफल गरिएको छ। केबलकार निर्माण र पर्यटन प्रवद्र्धन सम्बन्धमा पर्यटकीय गाउँ चित्रेमा छलफल भएको हो। कम्पनीले पेस गरेको प्रस्ताव उपर गाउँपालिकाका पदाधिकारी र जनप्रतिनिधिबीच भएको छलफलमा गाउँपालिका अध्यक्ष प्रेम पौडेलले मोदी गाउँपालिका सबै प्रकारको सहयोग गर्न तयार रहेको बताए। अध्यक्ष पौडेलले पर्यटकीय सम्भावनायुक्त चित्रे र पञ्चासे क्षेत्रको विकासबाट मोदी गाउँपालिकाले पर्यटक भित्याउन सक्ने भएकाले यसले गाउँपालिकाको हित हुने बताए।
प्रतिक्रिया दिनुहोस !