मौरीपालनमा गाउँभरिका महिला
बिर्तामोड : शिवसताक्षी नगरपालिका–११ की देवी दाहाललाई मौरी पालेर के आम्दानी होला ? भन्ने लाग्थ्यो। तर, समयले उनलाई मौरीपालक बनायो। बालबच्चालाई राम्रो शिक्षा दिन र घर खर्च जुटाउन धौधौ हुन थालेपछि विदेश जान लागेकी उनलाई छिमेकी दिदीले ‘के विदेश जान्छेऊ यतै मौरी पालेर बस’ भनेर बाटो देखाएकी थिइन्। द्विविधाबीच उनले आँट गरिन्। भन्छिन्, ‘छिमेकीले दिएको साहसबाट मैले पासपोर्ट बनाउन छाडेर मौरीको घार किने।
हिजोआज मह बेचेर मासिक दुई लाख रुपैयाँसम्म बचत हुन थालेको छ।’उनले छोराछोरीलाई राम्रो शिक्षा दिएकी छन्। जग्गा जोडेकी छन्। दुःख सम्झदै दाहाल भन्छिन्, ‘काम केही थिएन। छोराछोरी बढेसँगै खर्च बढेर जान थालेको थियो। आम्दानी नभएपछि घरमा दैनिक झगडा हुन्थ्यो। बूढाबूढीबीच झण्डै छोडपत्र भएको थियो।’
गतवर्ष डेढ सय घारबाट एक वर्षमा तीन हजार ६ सय ५१ किलो मह उत्पादन भएको उनले जानकारी दिइन्। यसबाट वार्षिक २५ लाख रुपैयाँभन्दा बढी आम्दानी भएको थियो। यो वर्ष मौरीको घार बढाएर आम्दानी पनि बढाउने उनको लक्ष्य छ। दाहाल आफू मात्र मौरीपालनमा लागेकी छैनन्, गाउँभरका महिलालाई यस व्यवसायमा लगाएकी छन्। ‘मौरीपालक महिलालाई तालिम दिन र संगठित गरी व्यावसायिक बनाउन सहकारी खोलें’, उनले भनिन्, ‘अब यो क्षेत्रका कोही पनि महिला बेकाम बस्नु पर्दैन।’
देवीले आफ्नै व्यवस्थापनमा सताक्षी महिला मौरीपालन सहकारी संस्था स्थापना गरी १ सय ७४ जना महिलालाई आवद्ध गरेकी छन्। मौरीपालन, मह उत्पादन र बिक्रीमा महिलालाई परिचालन गरेकी छन्। ‘कसैको घरमा घर खर्च, बालबच्चा पढाउने र लगानी गर्ने पैसा अभाव हुँदैन’, उनले भनिन्, ‘महिलाले आम्दानी गर्न थालेपछि सबै घरका पुरुषले साथ दिएका छन्।’
यस समूहले वार्षिक २५ हजार किलो मह उत्पादन गर्दै आएको छ। आगामी वर्ष ५० हजार किलो पुर्याउने लक्ष्य रहेको सहकारीकी अध्यक्ष केशमाया थोप्राले बताइन्। ‘पहिले मौरीपालनबाट के नै होला भनेर सोच्ने महिलाले मनग्गे आम्दानी हुँदा छक्क परेका छन्’, अध्यक्ष थोप्राले भनिन्, ‘प्रेरणाको स्रोत भनेकै देवी दिदी हो। उहाँ मौरी दिदी चिनिनु भएको छ।’
उत्पादित मह सहकारीमार्फत बजारसम्म पुर्याउने भएकाले समस्या नभएको मौरीपालक किसान धनमाया थापाले बताइन्। ‘बजारमा शुद्ध महको माग कहिले घट्दैन। शुद्ध मह छानेर बट्टामा प्याक गर्छौं र बजार पुर्याउँछौँ। पछिल्लो समय काठमाडौंसहित देशका प्रमुख स्थानबाट माग आएको छ’, धनमायाले भनिन्। यहाँ उत्पादित मह शुद्ध भएकाले यहीँ आएर लैजाने गरेको उनको भनाइ छ।
यो क्षेत्रमा धेरै मौरीपालन गरेकाले यहाँका महिला मौरी चराउन विभिन्न स्थानमा जानुपर्ने बाध्यता रहेको मौरी किसान देवी दाहालले बताइन्। ‘हामी मौरीको घार लिएर दाङ जाने तयारीमा छौं। तिहारपछि सामूहिक मौरी चराउन दाङ जाँदै छौं’, उनले भनिन्, ‘मौरी चराउन त्यहाँ सहज छ। स्थानीयसँग समन्वय गरी तोरी खेती गर्दै मौरी चराउँछौ।’
मौरीपालनबाट महिलालाई आत्मनिर्भर बनाए पनि सरकारी क्षेत्रबाट खासै साथ र सहयोग नभएको मौरीपालक किसानको गुनासो छ। सरकारले चरन क्षेत्र सहज बनाउन तथा मौरीपालक किसानलाई प्राविधिक तालिम दिन माग गरेका छन्।