पर्यटकले भरियो चुम उपत्यका
गोरखा : गोरखाको चुम उपत्यका विदेशी पर्यटकले भरिभराउ भएको छ। मनास्लु पर्यटन पदमार्गअन्तर्गत पर्ने यो उपत्यकामा विगतका वर्षभन्दा यस वर्ष धेरै विदेशी पर्यटक आएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले जानकारी दिएको छ।
अक्टोबरसम्म १ हजार २ सय २२ जना विदेशी पर्यटकले चुम उपत्यकाको भ्रमण गरिसकेको एमक्यापको गोरखास्थित कार्यालयको भनाइ छ। ‘अक्टोबरसम्म चुम र लार्के दुवै क्षेत्रमा ५ हजार ४ सय ७६ जनाले भ्रमण गरेका छन्’, एमक्याप प्रमुख नरेन्द्र लामाले भने। ४ हजार १ सय ५६ जनाले लार्केपास गरेको र एक हजार २५ जनाले चुम उपत्यका भ्रमण गरेर लार्केपास गरेको उनले बताए।
चुमनुब्री गाउँपालिका-६ को चुम्चेत र ७ को छेकम्पारमा चुम उपत्यका फैलिएको छ। अहिंसा क्षेत्रका रूपमा लोकप्रिय भएकाले पर्यटकको संख्या बढिरहेको वडा नम्बर ७ का अध्यक्ष पासाङ लामाको भनाइ छ। ‘यहाँ ७ सय वर्षभन्दा प्राचीन गुम्बा छन्। यहाँको शान्तिप्रिय संस्कार र संस्कृति, बौद्ध धर्मसम्बन्धी प्राचीन मानी, कानी, छ्योर्तेन, चैत्य, स्मारक र तिब्बती संस्कृतिको अलग्गै महत्व छ’, उनले भने।
चुमको लुकेको उपत्यका देखेर पर्यटक रमाउने गरेको पर्यटन व्यवसायी ङवाङ लामा बताउँछन्। ‘आरुघाटबाट लोक्पासम्म बूढीगण्डकी किनारको साँघुरो बाटो हुँदै आएपछि चुम उपत्यका खुल्छ र यसलाई पर्यटक स्वर्ग आइपुगेको भनेर रमाउँछन्’, उनले भने। काटमार निषेधित भएकाले चुम उपत्यकामा नजिकैबाट संरक्षित वन्यजन्तु हेर्न पाउँदा पनि पर्यटक खुसी हुने गरेको अर्का पर्यटन व्यवसायी छिरिङ लामा बताउँछन्।
चुम उपत्यका पुग्न दुई ठाउँमा क्यान्टिलिभर पुल निर्माण गरिएको छ। पर्यटन विकासका लागि यस क्षेत्रमा प्राकृतिक सम्पदा तथा वन्यजन्तु संरक्षण गर्न एमक्यापले विभिन्न अभियान सञ्चालन गरेको छ। पदमार्ग, खानेपानी योजनालगायत पूर्वाधार पनि एमक्यापले निर्माण गरेको छ। खानेकुराको दररेट तथा कुपन प्रणाली लागू गरी पदमार्गका होटल व्यवस्थित बनाउन उसले सघाएको होटल व्यवसायी गणेश कार्कीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !