प्रधानमन्त्रीलाई चिसोबाट जोगिन सुझाव
काठमाडौं : स्वास्थ्य सामान्य भएपछि प्रधानमन्त्री केपी ओलीको सक्रियता बढेको छ। निमोनिया बिसेक भइसकेकाले उनी नेकपाको सचिवालय बैठकमा सहभागी हुने छन्। संक्रमण हुनसक्ने जोखिमले उनी सिंहदरबारमा गर्नुपर्ने कामसमेत बालुवाटारबाटै गर्दै आएका थिए। शुक्रबार उनले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरी पार्टी सचिवालय बैठकमा सहभागी हुने बताए। सचिवालय बैठक मंसिर ६ मा डाकिएको छ। त्यसलगत्तै बस्ने स्थायी समिति बैठकमा समेत उपस्थित हुने जानकारी उनले दिए।
उपचारमा संलग्न चिकित्सकहरूले स्वास्थ्य स्थिति सामान्य भइसकेकाले चिसोबाट जोगिन उनलाई सुझाव दिएका छन्। ‘बिस्तारै निको हुँदै गइरहेको महसुस गर्नु भएको छ। सार्वजनिक कार्यक्रममा सहभागी नहुन सुझाव दिइएको छैन। प्रधानमन्त्रीज्यूको स्वास्थ्य सामान्य नै छ’, प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा.दिव्या सिंह शाहले बताइन्। ६७ वर्षीय ओलीको छातिमा संक्रमण भएपछि कात्तिक दोस्रो साता अस्पताल भर्ना भएका थिए।
सार्वजनिक कार्यक्रममा जान सक्ने उल्लेख गर्दै डा.शाहले चिसोबाट जोगिनु पर्ने बताइन। ‘राति पनि काम गर्ने बानी छ। उमेरका कारण पनि ओभरलोड हुने गरी काम गर्ने बानी छाड्नु पर्छ’, उनले भनिन्। एक साताको अस्पताल बसाइपछि उनले मन्त्रिपरिषद् बैठकसमेत बालुवाटारमै गर्दै आएका छन्। चिसोले निमोनिया तथा छातिको संक्रमण हुने जोखिम रहेकाले चिसोबाट जोगिन चिकित्सकले सल्लाह दिएका छन्। तर सार्वजनिक कार्यक्रमलगायत अन्य बैठकमा सहभागी हुन प्रधानमन्त्रीलाई कुनै स्वास्थ्य समस्या नरहेको पनि उनीहरूले जनाएका छन्।