एउटा मुद्दामा छुटेका दुर्इ युवा बलात्कार आरोपमा पक्राउ
राजविराज : राजविराजका दुई युवक ज्यान मार्ने उद्योगमा धरौटीमा रिहा भएलगत्तै बलात्कारको आरोपमा पक्राउ परेका छन् ।
राजविराज–४ का मुन्ना आलमको जाहेरीपछि ज्यान मार्ने उद्योगमा आइतबार ५० हजार धरौटी राखी रिहा भएका राजविराज–४ कै २८ वर्षीय शम्भु साह र राजविराज–८ का २९ वर्षीय नविन दत्त बलात्कारको आरोपमा सोमबार साँझ पक्राउ परेका हुन् ।
साढे तीन वर्षअघि १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चलिरहेको मुद्दामा उच्च अदालत जनकपुर राजविराज इजलाशले गत कात्तिक १५ गते उनीहरुलाई कारागारमा थुनामा राखी पुर्पक्ष गर्नु भन्ने आदेश दिए बमोजिम आरोपितहरुलाई पक्राउ गरिएको एसपी राजेन्द्र विष्टले बताए ।
ज्यान मार्ने उद्योगमा प्रहरी हिरासतमा तीन साता बसेर अदालतबाट धरौटीमा रिहा भएपछि मात्र बलात्कारको आरोपमा थुनामा राख्ने अदालतको आदेशबारे थाहा पाएको प्रहरीले धरौटीमा छुटेको भोलिपल्टै उनीहरुलाई पक्राउ गरेको हो ।
आरोपितहरुसहित सात जनाविरुद्ध ०७१ चैत १३ गते सामूहिक बलात्कार गरेको आरोपमा मुद्दा चलिरहेको छ । राजविराज–८ स्थित भुपेन्द्र यादवको घरमा डेरा गरी बस्ने अमरकुमार यादवको कोठामा सामूहिक बलात्कारको घटना भएकोमा पीडितले जिल्ला प्रहरी कार्यालयमा ०७१ चैत १३ गते नै उजुरी दिएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस !