२० महिनामा २० किलोमिटर सडक
माछाखोला (गोरखा) : बेनीघाट-आरुघाट लार्के सडक निर्माण कार्य तीब्र गतिमा भइरहेको छ। यो सडकले तिब्बती सीमा जोड्छ। सडकको ट्र्याक तातोपानी छिचोलेर दोभानसम्म पुगिसकेको छ। निर्माण कार्य २० महिनाअघि सुरु भएको हो। हालसम्म २० किलोमिटर ट्र्याक खनिएको नेपाली सेनाले जनाएको छ।
२०७४ वैशाख ११ मा तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले सडक निर्माणको शिलान्यास गरेका थिए। ‘तातोपानी भन्दा तल ट्र्याक खन्ने काम भइरहेको छ। पहरो फुटाउने कार्य भइरहेको छ’, निर्माणस्थलमै रहेका कार्यदल प्रमुख प्राविधिक सेनानी निशान्त क्षत्रीले भने, ‘नेपाली सेनाका र अन्य गरी दुईसय जनाभन्दा धेरै कामदार खटिएका छन्।’
बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म हावाडाँडादेखि दोभानसम्म सात खण्डमा काम भइरहेको छ। पर्यटक, स्थानीय हिँड्ने, खच्चडले भारी बोक्ने र सडक निर्माण काम एकै साथ हुँदा काममा अवरोध आएको सेनाले भनाइ छ। ‘यो वर्ष त झन् पर्यटक धेरै हिँडेका छन्’, सेनानी क्षत्रीले भने, ‘बाटोमा बिस्फोटक पदार्थ पड््काउनु पर्छ। पहिरो झरिरहन्छ। यस्ता गतिविधिले समय व्यवस्थापनमा कठिनाइ भएको छ।’
तातोपानी-दोभान खण्डमा दैनिक बिस्फोट हुने गरेको छ। कुनै दिन त दिनमै दुई पटक बिस्फोट हुने तातोपानीका रनबहादुर गुरुङ बताउँछन्।सेनालाई चालु आर्थिक वर्षमा सडक निर्माणका लागि साढे ६ करोड रुपैयाँ दिइएको छ। अघिल्लो वर्ष साढे सात करोड रुपैयाँको काम भएको थियो। बेनिघाटदेखि लार्केसम्मको दूरी १ सय ८० किलोमिटर छ। ६२ किलोमिटरको काम सडक विभागले निर्माण गरिसकेको छ।
हावाडाँडादेखि लार्केसम्मको एक सय २० किलोमिटर सकड निर्माणको काम सरकारले नेपाली सेनालाई जिम्मा दिएको हो। निर्माण कार्य ०७८÷७९ मा सक्ने लक्ष्य राखिएको छ। धार्चे ३ खोर्लाबेंसीका आशपाल गुरुङ भन्छन्, ‘बाटो त खनियो, तर गाडी आएको छैन’, उनले भने, ‘चाँडै सफा गरे, ठाउँठाउँमा पुल हाले गाडी आउँथ्यो।’
प्रदेश सरकारले रुइला भञ्ज्याङदेखि सडक निर्माणको काम पनि थालेको छ। ३० किलोमिटर सडकको सर्भेको काम भइरहेको चुमनुब्री गाउँपालिका १ का अध्यक्ष वीरबहादुर लामाले बताए।
प्रतिक्रिया दिनुहोस !