झापामा आठ वर्षमा पनि सञ्चालन हुन सकेन शीतभण्डार
बिर्तामोड : झापाको भद्रपुर नगरपालिका–५ को नयाँ बजारमा आठ वर्षमा पनि शीतभण्डार सञ्चालन हुन सकेको छैन। बाँकी १० प्रतिशत काम सक्न नगरपालिकाले ठेकेदारको खोजी गरिरहेको छ। भवन बनाएर केही उपकरण राखिएका छन्। तर, थर्मोकुलरमा ग्यास, ट्रान्समिटर, जेनेटर, बिजुलीको सामान र अन्य केही मेसिनरी जडानलगायत मुख्य काम गरिएको छैन। भवनको रंगरोगन उडेर पुनः लगाउनुपर्ने अवस्थामा पुगेको छ। निर्माणस्थलमा झार उम्रिएको छ।
भवन बनाइए पनि भित्री काम बाँकी रहेको नगरपालिकाका इन्जिनियर योगेन्द्र रञ्जितकारले बताए। ‘भवन निर्माण सकिएर लगाइएको रंगरोगन उडिसकेको छ। पुनः लगाउनुपर्ने देखिएको छ’, उनले भने, ‘भित्र राखिने आवश्यक उपकरण खरिद गरेको देखिँदैन। लामो समय ठेकेदार नै बेपत्ता भए।’
गृह मन्त्रलायले काम नगर्नेलाई कारबाही गर्न थालेपछि ठेकेदार शिवकुमार सोनी नगरपालिकाको सम्पर्कमा आएका थिए। तर, कारबाही गर्न सरकार हच्किएपछि ठेकेदारले चासो नदिएको उनले बताए। काठमाडौं पुगेर निर्माण चाँडो गर्न पत्र थमाए पनि सम्पर्कमा नआएको जीवनकुमार श्रेष्ठले बताए। ‘लेखा अधिकृत रामप्रसाद लुइँटेलले दसैंअघि काठमाडौं गएर ठेकेदारलाई भेटेर नगरपालिकाको पत्र हात लगाएका थिए’, मेयर श्रेष्ठले भने, ‘ठेकेदारले तिहारपछि झापा आएर काम सुरु गर्ने लिखित सम्झौता गरेका थिए। तर, अहिलेसम्म सम्पर्कमा आएका छैनन्।’
भारतीय दूतावासको आर्थिक सहयोगमा २०६७ पुस १५ मा निर्माण सुरु गरिएको थियो। तर, १५ महिनामा सम्पन्न गर्नुपर्ने काम अझै अधुरै छ। सुनौला खिम्ती कन्स्ट्रक्सनले ४ करोड १३ लाख रुपैयाँमा नगरपालिकासँग सम्झौता गरेको थियो। उनका अनुसार मुख्य ठेकेदारले इटहरीका एक व्यक्तिलाई पेटी ठेक्कामा काम गर्न दिएका छन्। काम अब १० प्रतिशत मात्र बाँकी रहेको उनको भनाइ छ। ठेकेदार कम्पनीले साढे ३ करोड रकम लगिसकेको देखिएको छ। दूतावासबाट अन्तिम किस्ता ९४ लाख रुपैयाँ नगरपालिकाले लिनुपर्ने उनले बताए।
निर्माणको काम जनप्रतिनिधिको हातमा आइसक्दा पनि समयमा चासो नदिएको स्थानीयको गुनासो छ। ‘चाँडै काम सक्न न जनप्रतिनिधिले चासो देखाएका छन् न त नगरपालिका प्रशासन पक्षले नै’, स्थानीय घनश्याम अधिकारीले भने, ‘पत्र काट्ने र बस्ने हुँदा काम भएन।’ यो काम सुरु भएपछि नगरपालिकामा ६ जना कार्यकारी अधिकृत फेरिएका छन्। जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको डेढ वर्षभन्दा बढी भइसकेको छ। तत्कालीन कार्यकारी अधिकृत मदन घिमिरेले शीतभण्डार शिलान्यास गरेका थिए।