बच्चालाई मोबाइलबाट टाढा राख्ने उपाए
शिकागो : शनिबार बिहान १० वर्षीय हेनरी हेली उठिसकेका छन्। उनी पाइजामामै छन् तर उनको माइक्रोफोन जडित हेडफोनमा नीलो बत्ती बल्न थालिसकेको छ। उनी ठूलो स्क्रिनमा बच्चाहरूको लोकप्रिय अनलाइन खेल ‘फोर्टनाइट’ खेल्न थालिसकेका छन्।
‘लौ ? मैले जित्नै लागेको थिएँ, म त मरेँ’, उनी गस नाम गरेका साथीलाई भन्छन्। पाँच कक्षाका यी सहपाठी साथी गसको घर हेनरीको भन्दा दुईचार घर टाढा मात्र छ। ‘साथी, मैले हार्नु हुँदैनथ्यो।’ उनीहरूबीचको यो डिजिटल ब्याटल (प्रतिस्पर्धा) पुनः शुरु हुन्छ र हेनरीको उत्साहमा कमी आएकै छैन। के बाबुआमाले नरोक्ने हो भने ऊ दिनभर खेलिरहन्छ ? ‘सम्भवतः’, उनी स्विकार्छन्।
तर उनीहरूले भनेजति खेल्न पाउँदैनन्। अरू धेरै बाबुआमाझैं, हेलीहरूले हेनरी र उसका १५ वर्षे दाजु एभरेटको डिजिटल खेल सीमित गर्ने धेरै प्रयास गरेका छन्। कतिपय अभिभावकका लागि यो व्यर्थको अभ्यास हुँदै छ। उनीहरू ज्यादै व्यस्त हुन्छन् र जताततै भेटिने डिजिटल सामग्रीसँग कति जुध्नु ?
‘हेनरीलाई स्क्रिनबाट छुटाउन दिनहुँ संघर्ष नै गर्नुपर्छ’, उनका बुबाआमाले भने। ‘उसलाई स्क्रिनबाट छुटाएर अरू केही काम लगाउनासाथ एकछिन त उसले रुखो व्यवहार देखाउँछ, फत्फताउँछ।’ उनकी आमा बार्ब हेली भन्छिन्। ऊ रिसाउँछ, निराश हुन्छ। आमा कति खराब हुनुहुन्छ भन्छ। यो किन, केका लागि गरेको भन्छ।
विज्ञहरूको भनाइमा यसको लक्ष्य नै बच्चाहरूले ठूलो भएपछि आफ्नै ढंगले केही सोचून्, गरून् तथा शारीरिक रूपमा सक्रिय र समाज के हो भनेर थाहा पाउन् भन्ने हुनुपर्छ। अफलाइन हुँदा उनीहरू बढी समाजमा घुलमिल गर्न थाल्ने उनीहरूको भनाइ छ। तर धेरै अमेरिकी घरपरिवारमा अभिभावकहरूले बालबच्चासँग धेरै नै संघर्ष गर्नु परिरहेको छ।
कमन सेन्स मिडियाले हालै १३ देखि १७ वर्षका बच्चाहरूमा गरेको सर्वेक्षणमा यो उमेरका ९५ प्रतिशत बालबालिकासँग मोबाइल रहेको पाइएको छ। तीमध्ये ७० प्रतिशतले दिनमा धेरै पटक सामाजिक सञ्जालमा केही छ कि भनेर हेर्ने गर्छन्। सन् २०१२ मा ३४ प्रतिशतले मात्र सामाजिक सञ्जाल प्रयोग गर्थे। आधाभन्दा बढीले मोबाइलले उनीहरूलाई स्कुलका गृहकार्य गर्ने समयमा अलमल्याउने गरेको बताए।
केही प्रविधि क्षेत्रका कम्पनीहरूले बल्ल डिजिटल मिडियाको अति प्रयोग र दुरुपयोगका बारेमा सरोकार राख्न थालेका छन्। एप्पल कम्पनीले आफ्नो पछिल्लो आइफोन सफ्टवेयरमा ‘स्क्रिन टाइम’ सुविधा थपेको छ। यसले एप्सको प्रयोगको अनुगमन गर्छ र प्रयोगकर्तालाई वा उनीहरूका अभिभावकलाई एप्स प्रयोगको सीमा तोक्न मद्दत गर्दछ। गुगल फर फेमिलिज र गुगल प्ले तथा अरू धेरै एप्सले पनि अभिभावकलाई त्यस्ता एप्स बारे अनुगमन गर्न तथा कुनै किसिमको नियन्त्रण गर्ने सुविधा प्रयोग गर्ने गरी सेवा दिएका छन्। तर यी सुविधा मोबाइलमा आफैँ सेट हुँदैनन्।
शिकागोस्थित हेलीको घरमा यस्तै समस्या आयो। वाइफाईमा ठूलो छोरा एभरेटले कति समय बिताउँछ भन्ने नियालेका उनका बाबु एलेन हेली त्यो देखेर छक्कै परे। छोराले दिनमा चार घण्टाभन्दा बढी समय खेलकुदका भिडियोहरू, अरू मनोरञ्जनात्मक खेलहरू र सामाजिक सञ्जालमा साथीहरूसँग गफिएर बिताएका थिए। ‘मलाई लाग्दैन, उसलाई अनलाइनमा कति समय बिताएँ भन्ने जानकारी छ’, एलेन भन्छन्। त्यसपछि एलेनले कुनै निश्चित घण्टा वाइफाई बन्द गर्ने निर्णय गरे। कुनै चेतावनी नदिई उनले एक रात वाइफाई बन्द गरिदिए।
एक मिनेट, सामाजिक सञ्जालमा एभरेटले कुनै साथीसँग कुरा गर्दै थियो। त्यसपछि ऊ बाहिरियो। यो अन्याय भो भन्दै ऊ बाहिर गयो। बाबुले एभरेटको कुरा सुनिरहे। उनले एभरेटलाई किताब पढ्न वा बाहिर बास्केटबल खेल्न जाऊ भने। ‘मैले केही गल्ती त गरेको छैन नि’, एभरेटले पटकपटक भनिरह्यो।
यी प्रवृत्तिका बारेमा अध्ययन गरेका अनुसन्धाताहरू यसलाई ‘कुलत’ भन्न चाहिँ रुचाउँदैनन्। मानसिक स्वास्थ्यका क्षेत्रमा यसको आधिकारिक र प्रामाणिक प्रभाव–अध्ययन भइसकेको छैन। तर विश्व स्वास्थ्य संगठनले आफ्नो सूचीमा यस्तो प्रवृत्तिलाई ‘गेमिङ हलचल वा गडबडी’ भनेको छ। डिजिटल खेलले सम्बन्धहरू, स्कुल र काममा गम्भीर रूपमै व्यवधान ल्याउँछ। अमेरिकी स्वास्थ्य निकायहरूबाट यसका बारेमा अझै पनि अध्ययन नै भइरहेको छ।
कहिलेकाहीँ, विज्ञहरूको भनाइमा डिजिटल तन्मयताले विद्यमान परिस्थितिलाई अझ संकटमा पार्दछ, जस्तै उदासी, चिन्ता बढाउँछ। त्यसैले, न्यूपोर्ट एकेडेमीमा उपचारका लागि आएका किशोर किशोरीको साथमा डिजिटल उपकरण छ÷छैन, जाँच गर्नु जरुरी भइसकेको छ। ‘एउटा लक्षणमा प्रायः सधैंजसो स्मार्टफोनको अत्यधिक प्रयोग नै देखिन्छ’, न्यूपोर्ट एकेडेमीका प्रशासक तथा क्लिनिकल सामाजिक कार्यकर्ता हिथर सिनियर मोन्रो भन्छिन्, ‘यो नै सबैभन्दा ठूलो समस्याको रूपमा पाइएको छ।’
एलेनले आफ्नो ठूलो छोराले दिनमा कम्तीमा ३० मिनेट पढोस् भन्ने जबरजस्ती गरिरहे। वाइफाईमा समय तोकिएसँगै एभरेट घर बाहिर निस्कियो र दुईवटा पुस्तक किनेर ल्यायो। आजभोलि दुवै बच्चा केही समय मोबाइलमा हुन्छन् र त्यसपछि फुटबल खेल्न थाल्छन्। एभरेटले साक्सोफोन पनि बजाउँछ। हेनरीले बिगुल बजाउनुका साथै ड्रम पनि सिक्न थालेका छन्। - मार्था इर्भाइन एपी