मातृभाषा शिक्षामा लुकामारी
नाम - सम्भव गुरुङ (परिवर्तित) । रोल नं. - १७ । कक्षा - २ । उसको नाम विद्यालय शैक्षिक सत्र २०७४ को भर्ना अभियानको निकै समयपछि मात्र कक्षा दुईको हाजिर रजिस्टरमा चढेको थियो । सुरुमा उसको नाम बोलाउँदा उसले एस मिस भनेको थियो । म त्यो कक्षामा गणित विषय पढाउँथें । नयाँ विद्यार्थी भएकाले ऊसँग घुलमिल हुन धेरै कुराकानी गर्न चाहन्थें । तर ऊ आफ्नो नामबाहेक अरू उत्तर दिँदैनथ्यो । कक्षाकार्य, गृहकार्य केही पनि बुझाउँदैनथ्यो । मलाई त्यस विद्यार्थीसँग विस्तारै रिस उठ्न थालेको थियो । सजायस्वरूप उसको कान निमोठें । ऊ चुपचाप आँसु बगाउँथ्यो । साथीहरूसँग बोलेको, खेलेको पनि देखिनँ । उसको मौनता मेरो टाउको दुखाइ भएको थियो ।
एक दिन उसले हातको इशारासहित भन्यो, ‘क्यु खाने ।’
क्यु ? मलाई अचम्म लाग्यो । गुरुङ भाषामा पानीलाई क्यु भनिन्छ भन्ने थाहा थियो । उसको मौनता भाषाको समस्याले भएको बुझ्न मलाई दुई महिना लाग्यो । यो मेरो लागि विडम्बना थियो । शिक्षाशास्त्रको प्रमाणपत्रले मलाई गिज्याएको थियो । त्यसपछि मैले ऊसँग भाषिक अभ्यास गर्दै कुराकानी गर्ने, पढाउने, बुझाउने गर्न थालें । यसका लागि गुरुङ समुदायको साथीभाइसँग शाब्दिक सहयोग लिएँ । विस्तारै ऊ मसँग खुल्न थाल्यो । कक्षामा गणित पनि अरूले भन्दा छिटो सिक्न थाल्यो । वास्तवमा ऊ क्षमतावान विद्यार्थी रहेछ । भाषिक समस्याले गर्दा मात्रै ऊ अल्मलिएको रहेछ । लमजुङमा गुरुङ भाषा बोल्ने भएकोले काठमाडौंको परिवेशमा सम्मिलित हुन उसलाई सकस परिरहेको थियो । यसरी एउटा क्षमतावान विद्यार्थीको दुई महिना खेर गएको थियो ।
करिब सात वर्षअघि । पूर्वव्यावसायिक शिक्षाको परीक्षामा सोधिएको थियो, मल बनाउने तरिकाबारे । एउटा विद्यार्थीले मल शब्दको उच्चारण गरेछ ‘माला’ र उत्तरमा माला बनाउने तरिकाबारे लेखेछ । ऊ तामाङ मातृभाषी विद्यार्थी थियो । विद्यालयमा नब्बे प्रतिशत विद्यार्थी तामाङभाषी थिए । मातृभाषाको प्रभावमा उसले मल शब्दमा आकार लगाएर माला उच्चारण गर्दै उत्तर लेखेको थियो । यही प्रश्न उसको मातृभाषामा सोधिएको भए उसले त्यो समस्या भोग्नुपर्दैन थियो । विद्यालयमा अंग्रेजी विषयबाहेक अरू विषय नेपाली माध्यमबाट पढाइ हुन्थ्यो । त्यसैले उसको सिकाइ उपलब्धि घट्दो थियो । पछि त्यो विद्यार्थीले विद्यालय छाड्यो किनकि उसको घर समुदायमा बोलिने र विद्यालयमा पढाइने भाषामा भिन्नता थियो । नेपाली भाषा नजानेकोमा उसमा हिनताबोध थियो ।
अरू समुदायको विद्यार्थीको खिसिट्युरी, अपहेलना र शिक्षकको बेवास्ताले धेरै मातृभाषी विद्यार्थीले प्राथमिक तह पार नगर्दै बीचमै विद्यालय छाड्ने गर्थे । यो प्रवृत्ति अझै कायम छ । यसरी कति विद्यार्थीको शिक्षा लिने क्रममा दख्खल पुगिरहेको होला ? कति विद्यार्थीको भविष्य अन्योलमा छ होला ? अनि कति विद्यार्थीले हिनताबोधले विद्यालय छाडिरहेका होलान् ?
विद्यालयमा बोलिने भाषा र घर समुदायमा बोलिने भाषाबीचको यो भिन्नताले शिक्षक र विद्यार्थीबीच संवाद कम हुने गरेको छ, जसले सिकाइ कमजोर भएको छ । विद्यार्थीको संज्ञानात्मक ज्ञान तथा उसको बौद्धिक क्षमता अभिवृद्धिमा प्रभाव पार्छ । यसले गर्दा औसत सिकाइ उपलब्धि कम हुने र विद्यालय छाड्ने दर बढी हुने गर्छ । माथि उल्लिखित दुइटा समस्या मातृभाषासम्बन्धी नै भए पनि ती दुईलाई अलग-अलग सम्बोधन गरिनुपर्ने हुन्छ ।
राज्यको चासो र मातृभाषीको सक्रियता नभएकाले संविधानमा उल्लेख भए पनि व्यवहारमा माृतभाषामा शिक्षा सम्भव हुन सकेको छैन ।
उदाहरणमध्येको पहिलो समस्या बसाइसराईं आएको विद्यार्थीको हो । ऊ अहिले जुन विद्यालयमा अध्ययनरत छ त्यस विद्यालयमा उसको मातृभाषी विद्यार्थी कम संख्यामा छन् । जसले गर्दा उसलाई गुरुङ मातृभाषा माध्यम भाषाको रूपमा प्रयोग गर्न प्राविधिक रूपले अप्ठ्यारो छ । यस अवस्थामा शिक्षकले नै उसको समस्या सम्बोधन गर्नुपर्ने हुन्छ । उसको भाषिक शब्द पहिचान गरेर त्यसलाई नेपाली शब्दसँग वा वस्तुसँग सामान्यीकरण गर्दै शिक्षण गर्नुपर्ने हुन्छ । यसले दुईभाषी बीचको संवादमा सहजीकरण गराउँछ । यसका लागि शिक्षकले निकै मेहनत गरेर त्यस्ता विद्यार्थीलाई सम्बोधन गर्नुपर्ने हुन्छ ।
त्यस्तै विद्यालयमा अधिकांश विद्यार्थी समुदायगत हिसाबले नै मातृभाषी छन् भने त्यहाँ माध्यम भाषाको रूपमा नै मातृभाषा प्रयोग गर्नुपर्ने हुन्छ । जुन मातृभाषीको घनत्व बढी देखिन्छ सोही मातृभाषालाई प्र श्रय दिइनुपर्छ किनकि त्यस समुदायबाट आउने प्रत्येक विद्यार्थीले आफ्नो भावना मातृभाषामै सम्प्रेषित गर्छ । उसको दैनिकी मातृभाषामै सञ्चालन हुन्छ । उसले सपना पनि मातृभाषामै देख्छ । नेपाली भाषा मातृभाषाका रूपमा प्रयोग गर्नेले अंग्रेजी सिक्दा नेपाली शब्दसँग सामान्यीकरण गर्र्दै सिकेजस्तै अन्य मातृभाषीले पनि त्यसैगरी सिक्ने हुन् । मातृभाषामा शिक्षा दिइनुपर्छ भन्नुको तात्पर्य अरू भाषाबाट विमुख गराउनुपर्छ भन्ने होइन । कम्तिमा पनि प्राथमिक तहसम्मको अध्ययन-अध्यापन मातृभाषामा हुनुपर्छ भन्ने मात्र हो ।
फिनल्यान्ड सरकारको सहयोगमा शैक्षिक सत्र २०७६÷०६८ मा पाइलट प्रोजेक्टका रूपमा रसुवा धुन्चेको ठाडेस्थित सरस्वती आधारभूत विद्यालयमा नेपाली र अंग्रेजी भाषाबाहेक अन्य सबै विषय स्थानीय तामाङ भाषामा पढाइएको थियो । परिणामस्वरूप, अघिल्लो वर्ष २७ जना विद्यार्थी भएको त्यो संख्या वृद्धि भएर ७७ जना पुगेको थियो । ती विद्यार्थी नियमित रूपमा विद्यालय आउने गर्थे । यसले मातृभाषामा शिक्षाको महत्व स्पष्ट पार्छ ।
नेपालको संविधान भाग ३ दफा ३२ (५) ले मातृभाषामा शिक्षा लिन पाउने अधिकारलाई मौलिक हकका रूपमा रहेको उल्लेख गरेको छ । यो मातृभाषीको निमित्त खुसीको विषय हो ।
कागजी रूपमा बहुभाषिक शिक्षालाई प्र श्रय दिइएको पाइन्छ । यद्यपि राज्यले सोअनुरूपको व्यवस्थामा कन्जुस्याईं गरि नै रहेको अवस्था छ । मातृभाषी शिक्षा नीति स्पष्ट नरहेकाले मातृभाषामा शिक्षा दिने वातावरण बन्न सकिरहेको छैन । जसका कारण एकातिर विद्यालय प्रशासन मातृभाषामा अध्ययन-अध्यापन गराउन आनाकानी गरिरहेको अवस्था छ । अर्कोतिर अभिभावकमा मातृभाषा शिक्षासम्बन्धी चेतना न्यून रहेकाले अन्यौल थपिएको छ । मातृभाषाले आफ्ना नानीहरू झन् कमजोर हुनेमा अभिभावक सशंकित छन् । त्यसैले पनि विद्यालयलाई मातृभाषामा शिक्षाका लागि दबाब दिन उनीहरू हच्किरहेका छन् ।
जबसम्म विद्यार्थीको सिकाइमा मातृभाषाको प्रभावबारे अभिभावक सचेत हुन सक्दैनन् तबसम्म आवश्यक दबाब दिन उनीहरू तयार हुनेछैनन् । सचेत अभिभावक भएका ठाउँमा विद्यालयमा राज्यले मातृभाषी शिक्षक दरबन्दी, पाठ्यपुस्तक र आवश्यक शैक्षिक सामग्री व्यवस्थापन गरिरहेको छ । राज्य कम बजेटको धङ्धङी देखाएर दायित्वबाट उम्किन खोजिरहेको अवस्था छ । यो लुकामारी कहिलेसम्म ?