आस्था र प्रविधिको संगम महाकुम्भ मेला

आस्था र प्रविधिको संगम महाकुम्भ मेला

भारत यतिखेर महा-कुम्भमय भएको छ। महाकुम्भ मेला संसारकै सबैभन्दा ठूलो धार्मिक, सांस्कृतिक  आध्यात्मिक भेला हो। महाकुम्भ मेला केवल एउटा धार्मिक उत्सव मात्र होइन, यो आस्थाको महासागर हो। भारतका चार प्रमुख धार्मिक स्थल हरिद्वार, प्रयागराज, उज्जैन, र नासिकमा प्रत्येक १२ वर्षमा लाग्ने यो मेलामा विश्वभरबाट मान्छेहरु विश्वास र संस्कृतिको अनन्त प्रवाहमा डुबुल्की मार्न आइपुग्छन्। प्रत्येक १२ वर्षमा एकपटक आयोजना हुने यस पर्वको यसपटक विशेष महत्त्व छ।

१२ वर्षे कुम्भ मेला १२ पटक आयोजना भएपछि महाकुम्भको चक्र पूरा हुन्छ। यसपटक पनि यस्तै संयोग परेको छ। महाकुम्भलाई भारतको आत्मा पनि भनिन्छ। किनभने महाकुम्भ एकता, विश्वास, धार्मिक र कालातीत पर्व हो। यही कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी महाकुम्भलाई एकताको महायज्ञका रूपमा अर्थ्याउँछन्।

महाकुम्भ मेलाको सुरुवात वैदिक कालदेखि नै भएको मानिन्छ। समुद्र मन्थनको पौराणिक कथा अनुसार, अमृत भरिएको कलशका लागि देवता र असुरबीच द्वन्द्व भयो। यो द्वन्द्वका क्रममा हरिद्वार, प्रयागराज, उज्जैन र नासिकमा अमृत खस्यो। यी अमृत खसेका ठाउँमा नै पालै पालो महाकुम्भ मेला लाग्छ। अमृतले सिञ्चित भएका यी क्षेत्रका गङ्गा, यमुना, सरस्वती नदीमा महाकुम्भको समयमा स्नान गर्दा पाप नाश हुने र मोक्ष प्राप्त हुने विश्वास छ।

आज पनि, गङ्गा, यमुना, र सरस्वती नदीको संगममा स्नान गर्दा जीवनका पापहरूबाट मुक्ति पाइने र मोक्षको द्वार खुल्ने विश्वासले करोडौं मानिसहरूलाई यहाँ तान्छ। यस वर्ष महाकुम्भमा दुर्लभ ज्योतिषीय संयोग परेको छ, जुन १४४ वर्षमा मात्र देखा पर्छ। यो अद्वितीय संयोगले भक्तजनहरूको आकर्षण बढाएको छ।

सांस्कृतिक पक्ष
महाकुम्भ मेलाको सांस्कृतिक महत्त्व पनि उत्तिकै गहिरो छ। यो सांस्कृतिक आदानप्रदानको केन्द्र हो। लाखौं साधु-सन्तहरू, तपस्वीहरू, धार्मिक गुरुहरू र तीर्थयात्रीहरू महाकुम्भमा आउँछन्। मेलाका क्रममा प्रवचन, धार्मिक समारोह र आध्यात्मिक गतिविधिहरू आयोजना गरिन्छन्।

महाकुम्भ मेला करोडौं मानिसलाई एकसाथ जोड्ने माध्यम हो। यसले विविधतामा एकताको सन्देश दिन्छ। तसर्थ महाकुम्भ धार्मिक मात्र नभई ऐतिहासिक, सांस्कृतिक र सामाजिक चाड हो। यस वर्षको महाकुम्भमा ग्रहहरूको विशेष स्थिति छ। यस्तो अवस्था १४४ वर्षमा एक पटक मात्र देखा पर्ने विद्वान्हरूले बताएका छन्। बृहस्पति मेष राशिमा र सूर्य तथा चन्द्रमा मकर राशिमा भएको समयमा महाकुम्भ आयोजन हुन्छ। तसर्थ यस वर्षको महाकुम्भ विशेष छ।

महाकुम्भ मेला करोडौं मानिसलाई एकसाथ जोड्ने माध्यम हो। यसले विविधतामा एकताको सन्देश दिन्छ। तसर्थ महाकुम्भ धार्मिक मात्र नभई ऐतिहासिक, सांस्कृतिक र सामाजिक चाड हो। यो महाकुम्भमा विश्वभरबाट ४० करोडभन्दा बढी श्रद्धालुहरूको सहभागिता हुने अपेक्षा गरिएको छ। पहिलो दिनमै डेढ करोडभन्दा बढी भक्तजनहरू महाकुम्भमा पुगेका थिए। दैनिक करोडौं तीर्थालु सहभागी हुने महाकुम्भको व्यवस्था पनि यसपटक भारतले विशिष्ट तवरमा गरेको छ।

प्रविधिको संयोजन
भारतले महाकुम्भलाई डिजिटल बनाएको छ। परम्परा र प्रविधिको संयोजन महाकुम्भमा गरेको छ। भारतले महाकुम्भको इतिहासमा पहिलोपटक महाकुम्भलाई नै पूर्णरूपमा डिजिटलाइज्ड गरेको छ। अध्यात्म र प्रविधिको फ्युजनले करोडौं तीर्थालुको अनुभवलाई पुनः परिभाषित गरेको छ।

सामान्यतया गुगलले अस्थायी शहर वा संरचनाको नक्सा देखाउँदैन। तर, भारत सरकारको विशेष आग्रहमा यसपटक गुगलले महाकुम्भ आयोजना भइरहेको ४ हजार हेक्टर क्षेत्रफलका विभिन्न घाट, मन्दिर, अखाडा, शिविर, संगम र स्नानस्थल, शौचालयजस्ता अस्थायी स्थानहरू देखाउने गरी नक्सा तयार पारेको छ। महाकुम्भको सुरुवात भएको मानिने समुद्र मन्थनको कथा ड्रोन शोमार्फत देखाइन्छ। भर्चुअल रियालिटी स्टलहरू राखिएका छन्।

२ हजारवटा ड्रोन प्रयोग गरेर पौराणिक ‘समुद्र मन्थन’ र ‘प्रयाग महात्म्य’का कथा आकाशमा देखाइन्छ। मेलाका मुख्य स्थानहरूमा ३६० डिग्री भर्चुअल रियालिटी स्टलहरू जडान गरिएका छन्। तीर्थालुहरूले गङ्गा आरती, अखाडाजस्ता अद्भुत दृश्यावलोकन भर्चुअल रियालटीमार्फत गर्न पाउँछन्।

करोडौं तीर्थालुको सुरक्षाका लागि अनुहार पहिचान गर्नसक्ने कृत्रिम बौद्धिकता जडित क्यामेराहरू जडान गरिएका छन्। चौबिसै घण्टा चल्ने एआई प्रविधि जडित १८ सय क्यामेराले कुन क्षेत्रमा भिड बढी छ र कुन क्षेत्रमा भिड कम छ भन्ने पत्ता लगाउँछन्। यसैअनुसार तीर्थालुको व्यवस्थापन गरिन्छ। महाकुम्भ मेलामा ‘लस्ट एन्ड फाउन्ड सेन्टर’ पनि डिजिटल छ। ३ हजारवटा सिसिटिभी जडान गरिएका छन्।

भाषाको समस्या हुनेहरूका लागि महाकुम्भमा ‘कुम्भ सहायक’ नामको बहुभाषिक एआई च्याटबोट पनि राखिएको छ। हिन्दी, अंग्रेजी र अन्य ९ क्षेत्रीय भाषाहरूसहित ११ वटा भाषामा यो च्याटबोटले सहायता प्रदान गर्छ। विभिन्न भाषाका तीर्थालुको सहजताका लागि बहुभाषी डिजिटल साइनबोर्ड राखिएका छन्। तीर्थालुहरू नदीमा सुरक्षित रहून् भनेर जियो-ट्यागिङ र जिपिएसमा आधारित नदीको पानीको स्तर निगरानी गर्ने यन्त्रहरू राखिएका छन्। पानीभित्र पनि निगरानी गर्नसक्ने ड्रोनहरू चौबिसै घण्टा उडाइएका छन्।

महाकुम्भ मेलामा क्युआर कोडमा आधारित रेल टिकट, ड्रोनमार्फत निगरानी र एआई पार्किङजस्ता प्रविधिहरू राखिएको छ। यसपटकको महाकुम्भमा प्रयोग गरिएका प्रविधि यसअघि कहिल्यै प्रयोग भएका थिएनन्।

नुहाउने क्रममा कुनै भक्त पानीमा डुबेमा ड्रोनसहितको लाइफ सेभर डुङ्गामार्फत उद्धार गरिने प्रविधि राखिएको छ। हालै सामाजिक सञ्जालमा यो प्रविधिमार्फत तीर्थालुको उद्धार गरिएको भिडियो सार्वजनिक भएको छ। यसका साथै मेला क्षेत्रमा निःशुल्क वाइफाइलगायत उच्च प्रविधिको सुविधा छ।

महाकुम्भ मेलाकमा आउने तीर्थालुको सुरक्षार्थ भनेर भारतको कमाण्डो टोली एनएसजीका पाँच विशेष टोलीहरू तैनाथ गरिएका छन्। हवाई निगरानी र आपतकालीन अवस्थामा उद्धारका लागि भनेर भारतीय वायुसेना पनि महाकुम्भमा तैनाथ गरिएको छ। महाकुम्भका लागि ४० हजार सुरक्षाकर्मी खटाइएको छ। यी सुरक्षाकर्मी पनि एआई प्रविधि जडित उपकरणले सुसज्जित छन्। दर्शनार्थीहरूको सुरक्षा र आपतकालीन अवस्थामा द्रूत प्रतिक्रियाका लागि छुट्टै टोली परिचालित छ। आपतकालीन अवस्थामा भीड नियन्त्रणबाहिर नजाओस् भन्ने सुनिश्चित गर्न भिडको घनत्वका आधारमा सक्रिय हुने अलर्ट सिस्टम जडान गरिएको छ।

संयुक्त राष्ट्रसङ्घले समेत महाकुम्भलाई मानवजातिको ‘अमूर्त सम्पदा’को मान्यता दिएको छ। भारतीय अन्तरिक्ष संस्था इस्रोका अनुसार अन्तरिक्षबाट पनि महाकुम्भको मानव सागर देख्न सकिन्छ। 

अन्तर्राष्ट्रिय जगतले पनि कुम्भको सरसफाइको प्रशंसा गरेका छन्। सरसफाइका लागि आइसीटी (सूचना तथा सञ्चार प्रविधि) आधारित अनुगमन प्रणाली लागू गरिएको छ। महाकुम्भ क्षेत्रमा तैनाथ गरिएका १५ हजारभन्दा बढी सरसफाइ कर्मचारी र तिनका परिवारका लागि अस्थायी संरचना बनाइएका छन्। सरसफाइ कर्मचारीका बालबालिकाका लागि अस्थायी विद्यालय खोलिएका छन्।

महाकुम्भ प्लास्टिकमुक्त बनाउन भारत सरकारले विशेष योजना बनाएको छ। प्लास्टिकको सट्टा दुना, टपरी, कपडा र जुटका सामग्री प्रयोग गरिएको छ। मेलाको प्रचार प्रसारका लागि प्रयोग गरिने सामग्री पनि प्लास्टिकमुक्त छन्। महाकुम्भलाई प्लास्टिकमुक्त बनाउन भनेर विश्वकै सबैभन्दा ठूलो स्वयंसेवि संगठन राष्ट्रिय स्वयं सेवक संघले भारतभरबाट ५० लाख स्टिल प्लेट र कपडाका झोला संकलन गरी महाकुम्भ क्षेत्रमा पठाएको छ।

मेला भर्न आउने तीर्थालुलाई साइबर अपराधबाट जोगाउन ‘हेल्पलाइन’ नम्बर जारी गरिएको छ। नक्कली वेबसाइट, सामाजिक सञ्जाल ठगी र नक्कली लिङ्कजस्ता गतिविधिमा निगरानी राख्न ५६ साइबर विशेषज्ञ सहितको साइबर सेल महाकुम्भमा चौबिसै घण्टा तैनाथ हुन्छ। साइबर सुरक्षाको चेतना फैलाउनकै लागि महाकुम्भ क्षेत्रमा ४० वटा डिजिटल डिस्प्लेहरू राखिएका छन्।

मानवता र एकताको प्रतीक
महाकुम्भ केवल हिन्दूहरूको पर्व होइन, यो मानव सभ्यताको एक अद्वितीय महोत्सव हो। महाकुम्भले 'वसुधैव कुटुम्बकम् भन्ने अवधारणालाई जीवन्त बनाएको छ। विदेशी पर्यटकहरूको उत्साहपूर्ण सहभागिताले यो मेला सांस्कृतिक सीमा नाघेर वैश्विकताको प्रतीक बनेको छ। दक्षिण कोरिया, जापान, स्पेन, रुस, संयुक्त राज्य अमेरिका, इटाली, अर्जेन्टिना लगायतका देशका सयौ् श्रद्धालु, शोधकर्ता र कन्टेन्ट क्रिएटरहरू महाकुम्भमा सहभागी भएका छन्। 

महाकुम्भले जीवनको सरलता र आध्यात्मिक गहिराइलाई प्रविधिको नवीनता र व्यावहारिकतासँग जोडेर आधुनिक समाजलाई एउटा सन्देश दिन्छ- परम्परा र आधुनिकता एकसाथ अगाडि बढ्न सक्छन्। यही आस्था, अध्यात्म र प्रविधिको संगमले महाकुम्भलाई संसारकै अनौठो र प्रेरणादायी पर्व बनाएको छ। प्राचिनतामा नविताको संयोजनका रूपमा यसपटकको महाकुम्भ स्थापित भएको छ। महाकुम्भलाई डिजिटल बनाउने पहलले विकास यात्रामा प्रविधिको समायोजनको अपरिहार्यता स्थापित गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.