बालकको उपचारका लागि सहयोग अपिल
![बालकको उपचारका लागि सहयोग अपिल](https://annapurnapost.prixacdn.net/media/albums/ghaite-nabin-bk_20181125114743_JHuzNzvesn.jpg)
काठमाडौं : डडेलधुरा बस दुर्घटनाका घाइते भएका नवीन बिकको उपचारका लागि सहयोगको याचना गरिएको छ। उनको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। बिहीबार डडेलधुराबाट डोटी जाँदै गरेको बस दुर्घटमा डोटीका ८ वर्षीय बिक घाइते भएका थिए। उनकी आमा शशीकलाको सोही दुर्घटनामा परी निधन भएको छ।
डडेलधुराको उग्रतारा मन्दिरमा मेला भरेर फर्किदै गरेको बस दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए भने २८ घाइते छन्। अस्पतालका अनुसार उनको टाउकोमा गम्भीर चोट लागेको छ। छातिको करङ समेत भाँचिएको छ। उनी अहिले अर्धचेत अवस्थामा अस्पतालको बेड नम्बर ५१८ मा छट्पटाइरहेका छन्।
घाइते बालकका बुबाले अर्को विवाह गरी परिवारबाट सम्पर्कबिहीन छन्। अभिभावको रुपमा रहेकी आमाको मृत्यु भएपछि नवीन बेसाहारा भएका हुन्। उनी दुर्घटना हुनुअघि आमासँगै दिपायलस्थित सेती नदीमा गिटी कुटेर जिविकाेपार्जन गरिरहेका थिए। घाइते बालकको उपचारका लागि डोटेली समाज काठमाडौंले सहयोगको अपिल गरेको हो।
सहयोग दाताले डोटेली समाज काठमाडौंको नाममा रहेको नयाँ बानेश्वरस्थित कृषि विकास बैंकको खाता नम्बर ०४०४१२ मा रकम जम्मा गर्न सक्नुहुने छ। थप जानकारी लागि ९८५१०१६३२५ नम्बरमा फोन गर्न अनुरोध गरिएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)