पाकिस्तानी प्रधानमन्त्री इमरानलाई ट्रम्पको पत्र
इस्लामावाद : अफगानिस्तान युद्ध अन्त्यका लागि वार्ताको पहल गरिदिन आग्रह गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई पत्र पठाएका छन् । सोमवार पाकिस्तानी सूचनामन्त्री फवाद चौधरीले उक्त खुलासा गरेका हुन् ।
अफगानिस्तानमा १७ वर्षदेखि जारी द्वन्द्व अन्त्य गर्न शान्ति वार्तामार्फत प्रभावकारी कदम चाल्न पनि अमेरिकाले आह्वान गरेको छ । पत्रमा ट्रम्पले अफगानिस्तान समस्या समाधान गर्ने विषयलाई आफूले अत्यन्त महत्वपूर्ण रूपमा लिएको र प्राथमिकतामा पारेको पनि जानकारी दिएको बताइएको छ ।
‘यो कामका लागि पाकिस्तानले महत्वपूर्ण भूमिका र सहयोग गर्न सक्छ, त्यो अपेक्षा गरिएको छ’, ट्रम्पले पठाएको पत्रमा लेखिएको छ । ह्वाइट हाउसले अफगानिस्तानका तालिवान लडाकुलाई पाकिस्तानको आन्तरिक सेवा गुप्तचर निकाय र अन्य सैन्य निकायले सहयोग गर्दै आएको ठानेको छ । भारतलाई दबावमा पार्नका लागि पाकिस्तानले अफगानी तालिबान लडाकुलाई सहयोग गरेको अमेरिकी बुझाइ छ । इस्लामावादस्थित अमेरिकी दूतावासले भने यो विषयमा कुनै टिप्पणी गरेको छैन ।