प्रचण्डसँग एकता हुँदैन : मोहन बैद्य

प्रचण्डसँग एकता हुँदैन : मोहन बैद्य

बुटवल : नेकपा (क्रान्तिकारी माओवादी)ले शान्ति प्रक्रिया निष्कर्षमा नपुगेको भन्दै समाजवादमा पुग्न जनक्रान्तिमा जाने रणनीति बनाएको छ। उत्पीडित वर्गको सत्ता निर्माणका लागि नयाँ प्रकृतिको जनवादी क्रान्ति आवश्यक रहेको पार्टीको ठम्याइ छ। क्रान्ति तत्काल सुरु हुने पनि पार्टीले बताएको छ।सत्तामा रहेको नेकपालाई कम्युनिष्ट र बाम शक्ति दुबै नभएको पार्टीको टिप्पणी छ।

रुपन्देहीको बुटवलमा सकिएको केन्द्रीय कमिटिको विस्तारित बैठकले महासचिव मोहन बैद्यको प्रतिवेदनमाथि छलफल गर्दै राष्ट्रियता, जनवाद र जनजीविकाको सवालमा चरणबद्ध आन्दोलनमा जाने रणनीति बनाएको छ। त्यसका लागि आम हड्तालसम्मका आन्दोलनका कार्यक्रम हुने केन्द्रीय कमिटिले जनाएको छ।

पार्टीको केन्द्रीय बैठकले वर्तमान सरकारलाई दलाल संगठन भन्दै समृद्ध नेपाल र खुसी नेपाली भन्ने नाराको धज्जी उडाएको बताएको छ। जनजीविका र जनतन्त्रको विषयमा सरकार पूर्णत असफल बनेको पार्टीको निष्कर्ष छ। राष्ट्रबादी भन्दै सत्ता पुगेको दलले मुलुकको दशौं हजार भूमि अतिक्रमण हुँदा नबोल्नु, व्यापार घाटा बढाउनुबाटै सरकारको भूमिका स्पष्ट हुने पार्टीले जनाएको छ।

'यो सरकार न कम्युनिष्ट हो, न बाम नै हो, राष्ट्रवादीका नाममा आफ्नै धज्जी उडाएको छ, उनले भने, 'राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषयमा पूरै असफल भइसकेको छ।'  शान्ति र समृद्धिलाई जोडेर लैजाने सपना देख्नु भ्रम रहेको भन्दै महासचिव बैद्यले जनयुद्धपछिको शान्ति प्रक्रियाले पूर्णता पाइ नसकेको दाबी गरे।

सयौं जनमुक्ति सेनाको विषयमा कुनै कदम नचालिएको भन्दै जनयुद्धकालीन मुद्धाको समाधान नहुँदासम्म शान्ति प्रक्रिया नटुंगिने उनले बताए। सहीदको रगतको आहालमा टेकेर सत्तामा गएका आफ्नै पूर्ववत मित्रहरु जनताप्रति गद्धार बनेको बैद्यको आरोप छ। 'सहीदको रगतको आहाल टेकेर सत्तामा पुग्नुभयो। जुन सत्ता विरुद्ध जनयुद्ध भयो, उहाँ त्यही पुग्नुभयो, उनले भने, 'यो निमुखा जनताप्रतिको गद्धारी हो।'

उनले मुलुक संघीयतामा गए पनि यो पार्टीको रणनीतिअनुरुप नभई पूरानै संसदीय व्यवस्था अनुकुल भएको दावी गरे। मुलुकमा १४ प्रदेश र ती सबै पहिचानका आधारमा हुनुपर्ने उनले बताए। अहिले भएका प्रदेशको पनि पहिचान हटाएर नामांकरण गरिएको उनले बताए।

महासचिव बैद्यले सच्चा कम्युनिष्ट एक भएर जनक्रान्तिलाई अघि बढाइने भन्दै त्यसका लागि विचार मिल्नेसँग एकता हुने समेत बताए। जनक्रान्ति हुँदै समाजवादमा जाने कार्यदिशा बोकेको दलसँग एकता गर्ने बाटो खुला गरिएको भन्दै सच्चा कम्युनिष्ट बाहेकसँग एकता हुनै नसक्ने उनले बताए।

उनले प्रचण्डको दलसँग एकताको सम्भावना नरहेको बताए। 'उहाँसँग पानी बाराबार त छैन, राजनीतिक कुरा हुँदैन, पार्टी एकता त अहिलेलाई असम्भव नै छ, उनले भने। विप्लपसँगको एकताका लागि छलफल भइरहेको उनले बताए।

मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी केन्द्रीय बैठकको निष्कर्ष सुनाउँदै पार्टीका नेता परी थापाले मुल्यवृद्धि, सीमा अतिक्रमण, बलात्कार, हत्याजस्ता जघन्य अपराधका घटनाले सरकारको समृद्ध नेपाल खुसी जनताको नारा धज्जी उडेको बताए।

पार्टीको बैठकले जनयुद्ध दिवसलाई क्रान्तिका रुपमा मनाउँदै चैतदेखि चरणबद्ध आन्दोलनका कार्यक्रम गर्ने निर्णय समेत गरेको छ। बुटवलमा पाँच दिन चलेको बैठकमा ८० भन्दा बढी नेताको सहभागिता रहेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.