फस्टाउँदै गाँजा : गाउँले लगाउँदै, प्रहरी फाँड्दै
हेटौंडा : प्रहरीले दशकदेखि वर्षेनी लागुऔषध गाँजा खेती नष्ट गर्ने अभियान जारी राखे पनि गाउँलेले खेती गर्न छाडेका छैनन्। मकवानपुरलाई लागुऔषध खेतीमुक्त जिल्ला बनाउने अभियानअन्तर्गत गाँजा फडानीलाई प्रहरीले तिव्रता दिएको छ। तर, गाँजा खेतीमा कमी आएको छैन।
गाँजासँगै अफिम खेतीतर्फ स्थानीय आकर्षित हुँदै आएपछि मकवानपुरलाई लागुऔषधमुक्त बनाउने अभियानमा चुनौती थपिएको हो। चालु आर्थिक वर्षमा दुई चरणमा एक सय २८ बिघा क्षेत्रमा लगाएको गाँजा फडानी गरी नष्ट गरेको मकवानपुर प्रहरी प्रमुख एसपी बुद्धि गुरुङले बताए। पहिलो चरणमा २८ बिघा १० कठ्ठा जमिनमा लगाइएको गाँजा र आठ बिघा जमिनमा लगाएको अफिम नष्ट गरेको उनले जानकारी दिए। असोज १८ गतेदेखि कात्तिक २४ गतेसम्म जारी पहिलो चरणको अभियानमा एकसय नौ जना प्रहरी खटिएका थिए।
दोस्रो चरणमा प्रहरीले ९९ सय बिघा ७ कट्ठा गाँजा र १३ बिघा अफिम खेती नष्ट गरेको प्रहरी प्रमुख गुरुङले बताए। मंसिर १० गतेदेखि १५ गतेसम्म भएको दोस्रो चरणको अभियानमा तीनसय ६० जना प्रहरी परिचालित थिए।
यस वर्ष मकवानपुरमा दुइसय २१ बिघा चार कट्ठा गाँजा र एकसय सात बिघा जमिनमा अफिम खेती गरिएको प्रहरीको अनुमान छ। तीमध्ये अझै ९३ बिघा ६ कट्ठा गाँजा र ८६ बिघा अफिम खेती नष्ट गर्न बाँकी छ। ‘बाँकी रहेको गाँजा र अफिम खेती नष्ट गर्न थप तयारी गर्दैछौं’, मकवानपुर प्रहरी प्रमुख गुरुङले भने, ‘सीमित स्रोत साधन, कम जनशक्तिबीच पनि हामीले देखेको र थाहा पाएको सबै ठाउँमा पुगेर लागुऔषध खेती नष्ट गर्ने लक्ष्य राखेका छौं।’

मकवानपुरको कैलाश, राक्सिराङ, मनहरी र बकैया गाउँपालिकामा गाँजा र अफिम खेती हुँदै आएको छ। गाँजा र अफिम फडानीसँगै लागुऔषधको उत्पादन, बेचबिखन र दुर्व्यसनीविरुद्ध पर्चा-पम्पलेट वितरण र जनचेतनामूलक कार्यक्रमहरु गरिएको प्रहरी निरीक्षक मधु थापाले बताए।
मकवानपुर प्रहरीले गत आर्थिक वर्ष २०७४/७५ मा तीनसय ९४ बिघा गाँजा र ५५ बिघा जमिनमा लगाएको अफिम खेती नष्ट गरेको थियो। उक्त अवधिमा प्रहरीले चारसय ४९ बिघा जमिनमा लगाएको गाँजा र ८८ विगाह ८ कट्ठा जमिनमा लगाएको अफिम नष्ट गर्ने लक्ष्य राखेको थियो। आर्थिक वर्ष २०७३/७४ मा चारसय १५ बिघा ६ कट्ठा गाँजा र ४३ बिघा १४ कट्ठामा लगाइएको अफिम नष्ट गरेको मकवानपुर प्रहरीको तथ्याङ्क छ।
कडा कानुन, अटेरी गाउँले
लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार २५ बोटसम्म गाँजा लगाउनेलाई तीन महिना कैद वा तीन हजार जरिवाना र त्यो भन्दा बढि लगाउनेलाई १० वर्षसम्म कैद हुनसक्ने कानुनी प्रावधान छ। त्यस्तै ५० ग्रामसम्म गाँजा बोक्नेलाई तीन महिना कैद वा तीन हजार जरिवाना हुने प्रावधान छ। त्यो भन्दा बढि गाँजा बोक्नेलाई परिमाण हेरेर १० वर्षसम्म कैद हुने प्रावधान छ।
२५ बोटसम्म अफिम खेती गर्नेलाई न्युनतम एक वर्ष कैद र त्यो भन्दा बढि खेती र कारोबार गर्नेलाई जन्मकैदसम्म हुनसक्ने व्यवस्था छ। तर, कतिपय स्थानीयले कानुनी अज्ञाताका कारण खेती गरेपनि अधिकांशले आर्थिक प्रलोभनमा खेती गर्दै आएका छन्। ‘लागुऔषध मुद्धामा जेलमा मान्छे नपरेको कुनै गाउँ छैन’, कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले भने, ‘आर्थिक प्रलोभनमा कानुनी कारबाहीबारे थाहा भएर पनि खेती र कारोबार गर्ने धेरै छन्।’
प्रतिक्रिया दिनुहोस !