नर्सरीमै झाँगिए अलैंचीका बेर्ना
इलाम : अलैंचीका बिरुवा बिक्री नभएपछि नर्सरी व्यवसायी मारमा परेका छन्। इलामका सबै गाउँपालिकामा किसानले प्रशस्त नर्सरी बगान स्थापना गरे पनि अहिले नर्सरीमै झाङ बन्न थालेको रोङ गाउँपालिकाका अध्यक्ष शम्शेर राई बताउँछन्।
राई आफैंले लगाएको २६ लाख रुपैयाँ बराबरको नर्सरीसमेत बिक्री नभएको सुनाए। रोङ गाउँपालिकाको सलकपुर क्षेत्रमा घरैपिच्छे नर्सरी स्थापना गर्ने चलन जस्तै थियो। पछिल्लो समय बिरुवाको माग ह्वात्तै घट्दा धेरैको लगानी डुबेको सूर्योदय नगरपालिका ११ का नर्सरी सञ्चालक उमेश पौड्यालले बताए।
इलामको तल्लो भेगमा यसअघि मासिएको अलैंचीखेती किसानकै पहलमा पुनः सञ्चालन भएसँगै बिरुवाको माग बढेको थियो। इलामबाहेक विभिन्न जिल्लामा बिरुवाको माग यस वर्ष ठप्पजस्तै रहेको अलैंची विकास केन्द्र फिक्कलका बागवानी अधिकृत लक्ष्मीनारायाण शर्मा बताउँछन्।
करिब ७५ प्रतिशत नष्ट भएको भनिएको बगानको आधा क्षेत्रमा जमिन परिवर्तन गरेर गरिएको अलैंची खेतीबाट किसानले राम्रो आम्दानी गर्न थालेको अलैंची विकास केन्द्र पान्दमका प्रमुख पदम अधिकारीले जानकारी दिए। ढुसी र भाइरसजन्य रोगका कारण निरन्तर मासिँदै गएको अलैंची बगानका लागि किसान आफैंले पनि नर्सरी बगान स्थापना गरेर धान मकै लगाउने खेतबारीमा अलैंची रोपेपछि उत्पादन क्षेत्र पुनः बढेको अधिकारीको भनाइ छ।
इलामका किसानले केही वर्ष अघिदेखि अलैंचीको व्यावसायिक नर्सरी स्थापना गरेर इलामसहित देशका विभिन्न क्षेत्रमा बिरुवा पठाउने गरेका छन्। किसानले वार्षिक दश लाखसम्मको बिरुवा बिक्री गर्ने गरेका थिए। पछिल्लो समय किसानले आफूलाई चाहिने नर्सरी आफैं स्थापना गर्न थालेपछि यसपटक अलैंचीको बिरुवा भने बिक्री नभएको अधिकृत शर्माले जानकारी दिए।
प्राविधिकका अनुसार बिउबाट उम्रेको अलैंचीमा रोग निरोधक क्षमता बढी हुने भए पनि पछिल्लो समय किसानले अलैंचीको झाङबाटै अलैंचीको प्रसार गर्ने गरेका कारण बिरुवा बिक्री घटेको हो। बिउबाट रोपेको अलैंचीले ढिलो उत्पादन दिने भएकाले किसानले झाङको बिरुवा रोप्ने गरेको शर्मा बताउँछन्। झाङबाट सारिएको बिरुवामा मूलबोटमा रहेको रोगकीराको समस्या हुने भए पनि किसानले त्यही विधिलाई बढी अपनाउने गरेको इलाम नगरपालिका–३ का कृषक चन्द्र खत्री बताउँछन्।
पहिले अलैंची टिपेपछि बगानमा कमै पुग्ने किसान गोडमेल र मलजलमा खट्न थालेका कारण पनि उत्पादन क्षेत्र र उत्पादन बढेको अधिकृत शर्माले बताए। अलैंची विकास केन्द्रले आर्थिक वर्ष ०७२/७३ मा ६ लाख, आर्थिक वर्ष ०७३/७४ मा तीन लाखको हाराहारीमा अलैंचीका बेर्ना निकासी गरे पनि आर्थिक वर्ष ०७४/७५ मा दुई लाख बेर्ना निकाल्ने लक्ष्य गरिएकोमा एक लाख ६४ हजारमात्र निकासी गरेको थियो। जसमा गत साल एक लाख तीन हजार छिमेकी जिल्ला पाँचथरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि ४० हजार साबिक जिल्ला कृषि विकास कार्यालय इलाम, १० हजार बाजुरा, १० हजार चितवन र बाँकी जिल्लाभित्रैका किसानलाई प्रतिगोटा पाँच रुपैयाँमा वितरण गरिएको केन्द्रले जनाएको छ।
पछिल्ला तीन वर्षमा मूल्यमा आएको भारी गिरावट, अन्य स्थानमै नर्सरी उत्पादन र अलैंचीमा रोग देखा परेकाले केन्द्रले यो वर्षबाट १६ मजदुर कर्मचारीको दरबन्दी कटौती गरेर १४ मा झारेको जनाएको छ। साबिक जिल्ला कृषि विकास कार्यालय इलामको एक तथ्यांकअनुसार इलामको एक हजार ६ सय हेक्टरमा खेती हुँदै आएको छ। इलाममा वार्षिक पाँच सय ७६ टन अलैंची उत्पादन हुने गरेको छ।
प्रतिक्रिया दिनुहोस !