प्रदेशसभाको हिउँदे अधिवेशन सुरु, राजधानी र नामाकरण समितिको म्याद थपियो
![प्रदेशसभाको हिउँदे अधिवेशन सुरु, राजधानी र नामाकरण समितिको म्याद थपियो](https://annapurnapost.prixacdn.net/media/albums/pradesh5_20181212110701_eRyXvSZIPU.gif)
बुटवल : प्रदेश नम्बर ५ को हिउँदे अधिवेशन आज सुरु भएको छ । गत साउन २४ गते स्थगगित भएको अधिवेशन चार महिनापछि बुधबार सुरु भएको हो ।
सरकारले यस अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा लैजाने जनाएको छ । प्रदेश सरकारलाई करिव एक सय कानुन आवश्यक रहे पनि प्रदेश ५ मा अहिलेसम्म जम्मा १४ वटा विधेयक मात्रै पारित भएका छन् ।
लामो समयपछि बसेको बैठकमा बोल्दै सांसदहरुले ऐन कानुन निर्माण सहित बजेट कार्यान्वयनमा ध्यान दिन सरकारलाई आग्रह गरेका छन् । सरकारले १५ वटा विधेयक तयारी हालतमा रहेको भन्दै अधिवेशनलाई ‘बिजनेश’ अभाव नहुने दावी गरेको छ । बुधबारको संसदमा बोल्दै सत्तापक्षीय सांसदले समेत सरकारको कडा आलोचना गरेका थिए ।
संसदमा रहेको विषयगत समितिले बिजनेशन नपाएको, बजेट कार्यान्वयनमा कमजोर बनेको भन्दै सरकारलाई गति बढाउन सांसदहरुले आग्रह गरेका हुन् । संसदमा बोल्दै सार्वजनिक लेखा समितिका सभापति समेत रहेका कांग्रेस सांसद डिल्ली चौधरीले सरकारको गतिले जनता निराशावादी रहेको बताए ।
प्रदेश सरकार यस्तै कमजोर बने संघीयता नै धरापमा पर्ने भन्दै संघीयता बचाउनकै लागि सरकारलाई सहयोग गर्न प्रतिपक्ष तयार रहेको उनको भनाइ थियो । सत्तारुढ नेकपाका सांसद कृष्णध्वज खड्काले सरकारको कमजोरीले सांसदहरु निर्वाचन क्षेत्रमा जान समेत कठिन भएको बताए । सुरुका चरणमा नीति निर्माण नहुँदा समस्या रहे पनि बजेट कार्यान्वयनका सन्दर्भमा सरकार निरिह देखिएको उनले बताए ।
सत्तारुढ दलका अर्का सांसद त्ुलबहादुर घर्तीले सरकार ऐन कार्यान्वयनमा कमजोर रहेको बताए । उनले जनताको चाहाना विकास निर्माण भएको भन्दै त्यसतर्फ अघि बढ्न सरकारलाई आग्रह गरे ।
बैठकमा बोल्दै राजपाकी सांसद कल्पना पाण्डे, फोरमका सांसद सन्तोषकुमार पाण्डे, जनमोर्चाकी सांसद तारा जिसीले बोल्दै सरकारको कामप्रति असन्तोष व्यक्त गरे । प्रदेश सभाको बुधबारको बैठकमा दुईवटा विधेयक पेश गरिएको छ ।
यस्तै प्रदेशसभामा प्रदेशको नामाकरण तथा राजनधानीको विषयमा सुझाव दिन गठन भएको विशेषाधिकार समितिको म्याद थप गरिएको छ । पहिलो चार महिनामा दुईवटा बैठक माात्रै बसेको समितिलाई थप तीन महिनाको समयावधी दिइएको सभामुख पूर्णबहादुर घर्तीले संसदलाई जानकारी गराए । प्रदेशसभाको अर्काे बैठक पुस ८ गते बस्ने छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)