कांग्रेस पुनर्जागृत गर्ने हो भने

कांग्रेस पुनर्जागृत गर्ने हो भने

साँच्चिकै पार्टी पुनर्जागरण चाहेको हो भने सबै पदाधिकारी पद छाडेको उद्घोष गर्नुपर्छ, ताकि महासमितिका सदस्य पक्षविपक्षमा विभाजित हुनु नपरोस्


राष्ट्रिय राजनीतिमा दृष्टिकोण नभएको पार्टीको रूपमा परिचित छ नेपाली कांग्रेस यतिबेला। सैद्धान्तिक र नीतिगत स्पष्टता कायम राख्न नसकेको आरोप खेपिरहेको कांग्रेसले महासमितिमा लैजाने एजेन्डाका बारेमा केन्द्रीय समितिमा लामो बहस गर्‍यो। राजनीतिक र विधान मस्यौदा प्रतिवेदन दुई पक्षबीचको मतभेदका कारण पारित हुन सकेन। मतभेदभित्र नेताहरूको स्वार्थ लुकेको छ, पार्टीका निष्ठावान् कार्यकर्ता र कांग्रेस सुध्रियोस् भनेर अपेक्षा राख्ने आमप्रजातन्त्रवादीको स्वार्थ त्यसभित्र छैन। किनकि विगत यस्तै मतभेदबाट गुज्रिँदै आएको छ। महासमिति बैठक पनि नेतृत्वको स्वार्थ समूहमै विभाजित हुने स्पष्ट छ। महासमितिका सदस्यहरूले नेतृत्वको भिन्नभिन्न गुटलाई पाखा लगाएर कांग्रेस एउटै गुटमा छ भन्ने सामूहिक सन्देश दिने हिम्मत राखे भने बैठकको औचित्य पुष्टि हुन सक्ला नत्र कर्मकाण्डी परम्पराको सिलसिलाले पार्टीको पुरानो छवि जोगाउन सक्ने छैन।

कांग्रेस नेतृत्व सर्वत्र आलोचित छ। पछिल्लो केन्द्रीय समिति बैठक बसेदेखि महासमिति बैठक सुरु हुने दिनसम्म कांग्रेसको हित चिताउनेहरूले विभिन्न आलेख र सामाजिक सन्जालमार्फत धेरै विचार सम्प्रेषण गरे। अधिकांशका आलेख र सञ्जालमा व्यक्त विचारमा कांगे्रेसको भलो होस् भन्ने चाहना व्यक्त भएका पाइयो। पार्टीको हित चाहने जोकसैले पनि नेतृत्वपंक्तिलाई निर्दोष प्रमाणित गर्न सकेन। नेतृत्वको कार्यशैलीप्रति तीखो व्यंग्यवाण हानिएको छ तर गैंडाको खागजस्ता नेतालाई घोच्नुको अर्थ छैन। घोच्ने आत्मरतिमा रमाइरहेको छ, मैले भन्नसम्म भनें, अब नसुध्रिएर सुख। तर घोचिनेवालालाई शरीरमा कमिलो हिँडेजति पनि आभास भएको छैन। अघिल्लो पुस्ताका नेतामा जस्तो निष्ठा र इमानदारी भइदिएको भए सायद घोच्नुको अर्थ हुन्थ्यो।

सिद्धान्तबाट विचलित र स्खलित भएपछि गणेशमानले पार्टी छोडे। किसुनजीले निष्ठाको राजनीतिमा हिँडिरहेको पार्टीले कम्युनिस्ट लाइन समातेपछि पार्टी परित्याग गरिदिए। तर आजको नेतृत्वपंक्ति पार्टी समाप्त नभएसम्म कसैको व्यंग्यवाणका प्रहारको बेवास्ता गर्ने मात्र होइन, पार्टीको अस्तित्व समाप्त भए पनि छोड्नेवाला छैन। साँच्चिकै पार्टी हितमा महासमिति बैठक डाकिएको हो र पुनर्जागरण अभियान थाल्ने उद्देश्य हो भने पदाधिकारीलगायत जिम्मेवार भूमिकामा रहेका सबै नेताले आआफ्नो पदीय जिम्मेवारीबाट राजीनामा दिएको उद्घोष गर्न सक्नुपर्छ, ताकि महासमितिका सदस्यलाई पक्षविपक्षमा विभाजित हुनुपर्ने कष्ट बेहोर्न नपरोस्।

नेतृत्वमा रमाइरहने र अहिलेको नेतृत्वपछि मेरै पालो हो भनेर ढुकिरहनेहरूका लागि त्यो बाटो सहज नहोला तर सिंगो पार्टी हितका लागि त्यो उत्तम विकल्प हुनेछ। पार्टीको अस्तित्व समाप्त नभएसम्म नेतृत्वमा आफूहरू नै बस्नुपर्छ भन्ने बालहठ त्यागिएन भने त्यसले पार्टीको किञ्चित हित गर्दैन। कांग्रेसलाई साँच्चिकै सबैको आस्था र भरोसाको पार्टी बनाउने हो भने नेतृत्व तहमा रहेका सबैले गुटीय राजनीति, विद्यमान घमण्ड र बालहठ महासमिति बैठकमै त्यागेको घोषणा गरेर कार्यकर्ताको हैसियतमा बस्ने हिम्मत गर्नैपर्छ।

नेतृत्वमा गुटगत चिन्तन कायम रहेसम्म कांग्रेस जतिसुकै कराए पनि बन्न सक्दैन। एउटै सिद्धान्त र दर्शन बोकेर हिँड्नेहरूका बीचमा गुटउपगुट भएपछि त्यो सिद्धान्त बेचेर कसरी जनमत बटुल्न सकिन्छ ? कुन उद्देश्य प्राप्तिका लागि गुटउपुगटको नेता भएर हिँडेको हो ? कांग्रेसलाई निष्ठावान् र आम जनताको बोली बोल्ने बनाउने नयाँ दृष्टिकोण के हो ? सबैलाई सँगै लिएर हिँड्ने विकल्पहीन बाटो के हो भन्ने मन्थन नेतृत्वपंक्तिले कहिल्यै गर्न सक्यो ? गुटका केही व्यक्तिको स्वार्थ हितलाई प्रधान ठानेर हिँड्ने नेतृत्व तहमा रहेका कसैले पनि अबको पार्टी हाँक्ने हैसियत राख्दैन। नेतृत्वमा दृढ इच्छाशक्ति हुनुपर्छ, अहंकार होइन। आत्मविश्वास हुनुपर्छ, दम्भ होइन। सहिष्णुता हुनुपर्छ, आत्मसमर्पण होइन। अहिलेको नेतृत्व तहमा बस्नेहरूसँग यी कुराको पूर्णतः अभाव छ। तर युवा भनिएका पुस्ता पनि तिनीहरूकै पछि लागेर आगोमा घिउ थप्ने काम गरिरहेका छन्। यसकारण पार्टीको नेतृत्व नयाँ पुस्ताले लिनुपर्छ भन्ने कुनै विकल्परहित विकल्प युवाले दिन सकेका छैनन्। मीठो बोलेर, भाषण गरेर मात्र होइन, स्पष्ट दृष्टिकोणसहितको कार्यक्रम ल्याउन सक्नुपर्छ, ताकि निष्ठावान् सबै कार्यकर्ता त्यो कार्यक्रमको पछि लागून्। पुरानाको पनि सम्मान होस्, नयाँ प्रवेशको मार्ग पनि प्रशस्त।

अब त कांग्रेस नेतृत्व सुध्रिन्छ कि भन्ने आशा निष्ठावान् कार्यकर्तालाई लागेको पनि होला। भारतमा कांग्रेस आईको अवस्था थोरै सुध्रिएकाले त्यस्तो अपेक्षा यहाँ पनि गरिएको होला। किनकि निर्दलीय चरित्रको केपी ओली नेतृत्वको सरकारले जनताका पक्षमा काम गर्न नसकेपछि विकल्पमा हामी नै हौं भन्ने सन्देश फैलाइयो भने त्यो पार्टीका लागि घातकसिद्ध हुनेछ। संगठन निर्माण गरेर त्यसैको बलमा नेतृत्व र सरकारमा पुग्नुको बेग्लै अर्थ हुन्छ। कसैले गलत गर्‍यो भने त्यसैको फाइदा उठाएर आफूलाई त्यसको विकल्पमा उभ्याउने संस्कृतिले पार्टीको यो हालत भएको हो भन्ने सन्देश महासमितिका सदस्यलाई पनि ज्ञात भएको विषय हो।

बाईसौं शताब्दीअनुकूल कांग्रेस भन्ने नाराका साथ सबै नेता होइन कार्यकर्ता हौं भन्ने सन्देश जनजनमा दिन सक्नुपर्छ।

कम्युनिस्टका नीति र विचारकै पछि लागेर उनीहरूसँग सहकार्य गर्ने रणनीतिले आज मुलुक, प्रजातन्त्र र कांग्रेस दयनीय अवस्थामा पुगेको सर्वविदितै छ। मुलुकको एकता, अखण्डता र सामाजिक सद्भाव क्रमशः थिलोथिलो हुँदै गएको छ। यहाँनेर बीपी कोइरालाको मेलमिलापको नीतिको स्मरण गर्नैपर्छ। त्यही नीतिविपरीतको राजनीतिक आचरण र अभ्यासकै कारण कांग्रेस कमजोर भएको हो। आज एमाले र माओवादीले नेकपाको नाममा दुईतिहाइको शासन चलाइरहँदा पनि मुलुकले राजनीतिक गन्तव्य र सहमतिको राजनीति पहिल्याउन सकेको छैन। मेलमिलाप नीतिभित्र राष्ट्रियता मात्र होइन राष्ट्रप्रतिको चिन्तन पनि लुकेको थियो। कांग्रेसले नै छोडिसकेको उक्त बाटो कम्युनिस्टहरूले अँगाल्लान् भन्ने अपेक्षा गर्नु मूर्खता हुनेछ।

आन्तरिक राजनीतिक विवादको व्यवस्थापनमा कांग्रेस असफलउन्मुख छ। अर्काको एजेन्डा बोकेर हिँँड्दा, संविधान जारी गरेको जस लिइरहँदा पनि बीपी, सुवर्ण, गणेशमान र किसुनजीको विचार, नीति र दृष्टिकोणको अपमान भएको छ। आफ्नै इतिहासको अवमूल्यन गरिरहँदा पनि नचेत्ने नेतृत्व तहले पार्टीलाई पहिलेको अवस्थामा पुर्‍याउँछु भन्नुमा दम छ र ? पहिलेको कांग्रेस होइन, नयाँ पुस्ताले कांग्रेसको नाममा राजनीति गर्ने पार्टी बनाउने सपना देख्नुपर्छ।

पार्टी विधानको मस्यौदाले फेरि पनि आदेशमुखी र नियन्त्रणवादी बाटो अँगाल्न खोजेजस्तो देखिन्छ। लोकतन्त्रको मात्र गुड्डी हाँक्ने हो भने त्यो आदेश र नियन्त्रणमुखी पार्टी रहनु र नरहनुको अर्थ छैन। भ्रातृसंस्था व्यक्तिको पोल्टामा राखिरहने संस्कृतिलाई नयाँ विधानले पनि त्याग्न सकेको छैन। पुरानाको सम्मान गर्ने, नयाँ पुस्ता आकर्षण गर्नेे र नेतृत्वको विकास गर्ने अवसरलाई संस्थागत रूपले विकास गर्नुपर्छ। गतिशील, सामाजिक न्याय, सुरक्षा, मूल्य, समावेशीकरणका मान्यतालाई परिमार्जन गर्दै पार्टीका हरेक निकायमा पुनर्जागरणका लागि अभियान थालिहाल्नु उसैको हितमा हुनेछ।

महासमितिबाट नेतृत्वले विगतका कमीकमजोरी सच्याउने मात्र होइन, कसैप्रतिका आग्रह वा पूर्वाग्रह पनि नराख्ने उद्घोष गर्नुपर्छ। पार्टीलाई सामूहिक नेतृत्वमा लैजानुपर्छ भन्ने विषय पार्टीभित्रको प्रतिपक्षले उठाउँदै आएको छ। सामूहिक नेतृत्वले झन् गुट र उपगुटको पृष्ठपोषण मात्र गर्दैन र ? सामूहिक भावनाको विकास सभापतीय पद्धतिबाटै खोज्न सकिन्न र ? आज शेरबहादुर देउवा त्यो ठाउँमा हुँदा सामूहिक नेतृत्व चाहिनेले भोलि आफू त्यो ठाउँमा पुग्दा सभापतीय पद्धति अपेक्षा गर्छ। बीपीकालीन सभापतीय शैली कांग्रेसको ‘ब्युटी’ हो। विधिसंगत, संस्थागत प्रक्रिया, पारदर्शिता र अनुशासनलाई सबै तहका नेता तथा कार्यकर्ताले पालना गर्ने हो भने सभापतीय पद्धतिको निरन्तरताले पार्टीको अहित हुँदैन। पार्टीलाई नेताप्रधान होइन, नीति र संस्थाप्रधान हुने सुनिश्चितता सभापतीय पद्धतिबाट पनि गर्न सकिन्छ। सामूहिक नेतृत्वबाट त्यो सम्भव छैन।

राजालाई जनता चाहिँदैन भने जनतालाई पनि राजा चाहिँदैन भनेर गणतन्त्र अँगालेको पुष्टि गर्न खोज्ने कांग्रेसले आफ्नो सिद्धान्तको पनि ख्याल गर्न सक्नुपथ्र्यो। कम्युनिस्टको एजेन्डामा हिँडेर गणतन्त्र हाम्रै नेतृत्वमा आएको हो भनेर गौरव गरेकै भरमा अबको पुस्ताले कांग्रेसलाई मान्नुपर्छ भन्ने छैन। यही मान्यताको सिकार पछिल्लो निर्वाचनमा भइसकेको पत्तो किन हुँदैन ?

दलीय राजनीतिको वर्तमान हेर्दा अब नेताको पछि लागेर कसैले पनि रगतपसिना बगाउने छैन। किनकि नेतृत्वमा राष्ट्रिय भावना, प्रजातान्त्रिक संस्कार र राजनीतिक संस्कारको पूर्णतः अभाव छ। देशलाई गुटको, पार्टीको, आफन्तको मात्र होइन, सिंगो देशको निर्विकल्प नेता चाहिएको छ। राजधानीमा बसेर सरकारका गल्ती खोजेर होइन, गाउँगाउँ गएर चेतनाको दियो बाल्ने काम गर्न सक्नुपर्छ। जनताको भाँचिएको र चहर्‍याएको मनमा मलम लगाउने काम गर्नुपर्छ। चेतनाको दियो बाल्न नसक्दाका परिणाम हो, अबोध बालिका निर्मला पन्तहरूको हत्या। कतै छाउपडी, कतै बोक्सीको र कतै दाइजोका नाममा किशोरीले ज्यान गुमाउनु परिरहेको छ। न्याय माग्दै गर्दा नन्दप्रसाद अधिकारीको ज्यान गयो। निर्मलाका पिताको अवस्था पनि दयनीय हुँदै गएको छ। जनताकै नाममा दुईतिहाइ ल्याएको सरकारले न्याय दिने कुनै छाँटकाँट देखाइरहेको छैन। हो, देशमा सरकार छ तर छैन। नेकपा भन्ने कथित ठूलो दल छ तर जनताको नजरमा त्यो पार्टी पनि लुप्त भइसकेको छ।

कांग्रेस महासमिति बैठकले यी र यस्तै विषय उठान गरेर आम जनतामाझ जान सक्नुपर्छ। सरकारले नौ महिनामा देखिन लायक कुनै पनि काम गरेको छैन। सदनमा कांग्रेसले पनि सानदार प्रस्तुति देखाउन सकेको छैन। अब आफूले जिताएका नेताबाट शासित हुनुपर्ने र न्यायका लागि कुदिरहनुपर्ने हो भने विकल्पको बाटो खोज्नैपर्छ। कांग्रेसले त्यो विकल्प दिने हैसियत राख्नुपर्छ। महासमिति बैठकको सिंगो हलले कर्मकाण्डका पुराना सोचाइ र गलत परम्परालाई निरन्तरता नभई बाईसौं शताब्दीअनुकूल कांग्रेस भन्ने नाराका साथ सबै नेता होइन कार्यकर्ता हो भन्ने सन्देशसहित जनजनमा जान सक्ने, सबैले पत्याउने हिम्मतदार युवालाई नेतृत्वमा स्थापित गर्ने बाटो खोजोस्। त्यस्तो व्यक्ति कसैको ‘कार्ड’ नबनोस्, देश, जनता र प्रजातन्त्रको रक्षार्थ आफूलाई बलिदानी गर्न तयार होस्। तब मात्र पार्टीको हैसियत पुनस्र्थापित हुन सक्छ। नत्र कर्मकाण्ड गर्न छोेडेर काशी जानुको विकल्प छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.